आइतवार, जेष्ठ ६, २०८१

अर्गानिक उत्पादनका नाममा ब्रम्हलुट

काठमाडौं, वैशाख । नेपालीमा एउटा उखान छ ‘ मौकामा हिरा फोर्नु’ । त्यो उखान गतबर्षदेखि तरकारी व्यापारी गर्नेहरुले लागू गर्न थालेका छन् । विशेष गरी आफूलाई उच्च परिवारमा देखाउन चाहने परिवारका लागि यतिखेर विभिन्न ठाउंमा खुलेका अर्गानिक तरकारी बजारहरुले साँच्चै नै मौकामा हिरा फोरिरहेका छन् । कृषि विकास मन्त्रालयले कालीमाटीमा रहेको उपत्यकाको सवैभन्दा ठूलो तरकारी तथा फलफूल बजारमा विक्रीका ल्याउने हरिया तरकारीहरुमा अत्यधिक विषादी प्रयोग गर्ने गरेको फेला पारेपछि कालीमाटी बजारमा विषादी चेकजांच शुरु भए लगतै उपभोक्ताहरुमा त्रासदी पनि फैलियो । dal
अत्यधिक विषादी प्रयोग भएका तरकारी तथा फलफूलको प्रयोगले मानव स्वास्थ्यमा अत्यधिक हानी नोक्सानी हुने सरकारी तवरबाट प्रचार प्रसार हुन थालेपछि उपत्यकामा बसोबास गर्ने आम नागरिकहरु विषादीको त्रासले जति नै महंगो भए पनि विषादी प्रयोग नगरिएका खाद्य सामग्री खोज्न थाले । यही मौकामा केही दर्जन व्यापारीहरुले अर्गानिक बजारमा नाममा आफ्नो व्यापारलाई फस्टाउने मौका पाए । तर सरकार निर्लज्ज जस्तै गरी मौन बसिरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग निदाएर बसेको छ ।
कृषि विकास मन्त्रालय मातहतमा रहेको बाली संरक्षण निर्देशनालयले विषादी प्रयोग न्यूनिकरण गर्नका लगि आईपिएम प्रविधि मार्फत हरिया तरकारी तथा अन्य खाद्य पदार्थ उत्पादन गराउनका लागि किसानहरुलाई तालिम दिने र सोही तालिममा विषादीका बेफाइदाको बारेमा चेतना अभिबृद्धि गर्दै रासायनिक विषादी प्रयोगलाई विस्तारै कम गर्दै लैजाने शुरुवात गरेको छ । फलत ः आईपिएम पाठशालाका नाममा मुलुकभर नै किसानहरुलाई शिक्षा दिने काम एकातिर गरेको छ भने अर्कोतिर आईपिएम प्रविधिबाट उत्पादन गरेको तरकारीजन्य पदार्थ विक्री वितरणका लागि बजार नै लाग्ने पनि गरेको छ ।
अत्यधिक रासायनिक विषादी प्रयोग गर्ने भनि चर्चामा आएको काभ्रेको पाँचखाल क्षेत्रमा पनि आईपिएम प्रविधिबाट तरकारी जन्य बस्तु उत्पादन हुन थालिसकेको देखिन्छ । तरपूर्ण रुपमा विषादी नै प्रयोग नगरिएको भने पाउन मुश्किल छ । त्यसैले होला आईपिएम प्रविधिबाट उत्पादन गरेको तरकारी विक्रीका लागि काभ्रेको बनेपामा हरेक शनिबार ठूलो बजार नै लाग्ने गरेको छ ।
तर यतिखेर काठमाडौंका विभिन्न चोक र गल्लीहरुमा विषादी रहितका नाममा अनि अर्गानिक उत्पादनका नाममा उपभोक्ताहरु ठगिन क्रम भने रोकिएको छैन । अर्गानिक उत्पादन नभएपनि अर्गानिक भन्दै उपभोक्तालाई चर्को मूल्य कृषि उपज विक्री गर्नेलाई राज्यले केही कार्वाही नै गर्न सकेको छैन । करीव डेढबर्ष अगाडि काठमाडौंको दरबारमार्गमा खुलेको अर्गानक पसल अहिले बन्द नै भइसकेको छ । भने हरेक शनिबार बौद्धको टुसाल, लाजिम्पाट, धर्मपथ लगायतका ठाउंहरुमा अर्गानिक उत्पादन भन्दै तरकारी जन्य बस्तुमात्र होइन अन्य बस्तुहरु पनि विक्री वितरण भएको देख्न सकिन्छ ।
अर्गानिक उत्पादन भन्दै आलु, रहरको दाल, मासको दाल, विभिन्न खालका अचारहरु, गोलभेंडा, फर्सी, चामल लगायतका दर्जनौं कृषि उपजहरु च्र्को मूल्यमा विक्री गरेको देखिन्छ । आलुको मूल्य प्रति धार्नी २ सय पचास रुपैयां, गोलभेंडा १ सय पचास रुपैयां, रहरको दाल ३६० रुपैयां, फर्सी १३० रुपैयां केजीमा विक्री गरिरहेको देखिन्छ छ । तर अर्गानिक उत्पादनका भन्दै विक्री गरिएको कुनै पनि कृषि उपज अर्गानिक हो भन्ने प्रमाणित कतै पनि गरेको देखिंदैन । तारा गाउं एग्रो मार्केट टुसालमा शनिबार अर्गानिक उत्पादन भन्दै विक्री भईरहेको पिठो, रहरको दाल, अचार एवं चिउरा मिक्स गरिएको फुरन्धानालाई समेत अर्गानिक उत्पादन भन्दै विक्री गरेको पाईयो ।
सो विक्रेतालाई चामल दाल, फुरन्धाना कसरी अर्गानिक भयो भन्ने प्रश्नमा विक्री गर्न बसेकी महिलाले हामीले आफैले प्रमाणित गरेको उत्तर दिईन् । अर्गानिक धर्म प्रिन्ट गरिएको रहरको दालको अर्गानिक प्रमाणित कहाँ गरिएको भन्ने अर्को प्रश्नमा उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको एक जना सरले भनिन् तर उनले पुरै कुरा खुलाउन चाहिनन् ।
यसैगरी अहिले अर्गानिक र विषादी विरुद्धका नाममा उपभोक्ता ठगि गर्ने क्रम जारी छ । सानेपा, पुल्चोक, बानेश्वर, महाराजगञ्ज चक्रपथ, कुलेश्वर, मैतीदेवी, अनामनगर क्षेत्रमा समेत यस्ता पसलहरु प्रशस्त मात्रामा खुलिरहेका छन् । तर त्यहाँबाट विक्री हुने कुनै पनि सामग्रमिा विषादी रहित र अर्गानिक हो भन्ने पुष्टि गर्ने कुनै पनि प्रमाणहरु छैनन् । विषादी रहित उत्पादनकै नाममा भाटभटेनी सुपर मार्केट भित्र विक्री भएका तरकारी तथा फलफूलहरु समेत चर्को मूल्यमा विक्री भईरहेको देखिन्छ । यसैरी दिनदहाडै उपभोक्ता ठगिएको विषयमा उपभोक्ता बादीहरु मौन बसिरहेका छन् । यस तर्फ कसले ध्यान दिने ? – योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: सोमवार, बैशाख २०, २०७३