शुक्रबार, बैशाख १४, २०८१

बन्दमा मल ढुवानी सहज हुनु पर्ने

भद्रपुर, १५ भाद्र । लामो समयदेखि बन्द र हडतालका कारण आपूर्ति हुन नसक्दा झापामा रसायनिक मलको अभाव भएको छ ।
जिल्लामा लगभग ९० हजार हेक्टर जग्गामा धानखेती हुने गरेको छ भने युरिया सात हजार ८३१ मेट्रिक टन, डिएपी तीन हजार ४७६ मेट्रिक टन, पोटास ७३० मेट्रिक टन र अन्य १५० मेट्रिक टन रसायनिक मल आवश्यक पर्ने वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिएका छन् । कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०६९÷७० नौ हजार ३६५, आव २०७०÷७१ मा ११ हजार ७८३ र चालु आवमा १२ हजार १८७ मेट्रिक टन डिएपी, युरिया, पोटास र अन्य रसायनिक मलको खपत भएको छ ।
तुलनात्मक हिसाबले प्राङ्गारिक कृषि मलको प्रयोग बढ्नुपर्ने र रसायनिक मलको प्रयोग घट्नुपर्नेमा रसायनिक मलप्रति कृषक बढी निर्भर रहनु चेतनाको अभाव भएको तिमल्सेनाले बताए । अहिले कृषकलाई धानमा मल हाल्ने समय रहेको र यो समय गुमेमा उत्पादन घट्ने भएकाले आन्दोलनकारीहरूले आकस्मिक सेवाका साधनलाई निर्वाध चल्न दिएजस्तै कृषि मल ढुवानी गर्ने साधनलाई पनि निर्वाध रूपमा चल्न दिए कृषकका समस्या समाधन हुने उनको भनाइ छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ १५, २०७२