बिहिबार, बैशाख २७, २०८१

विनासकारी महाभूकम्पबाट हजारौ पशुहरु हताहत सरकारले किसानलाई सम्वोधन गर्न सकेन

sushilकाठमाडौं,  वैशाख । गत बैशाख १२ गते आएको विनासकारी भूकम्पमा परी लाखौं किसानहरु घरबार विहीन भएका छन् । किसानहरुले बर्षे बालीका लागि तयार गरेका विभिन्न बालीका बीउहरु समेत नष्ट भएका छन् । त्यत्तिमात्र होइन वर्षे बालीका लागि तयार गरर राखिएका बीउहरु पनि पूर्ण रुपमा क्षति भएपछि विनासकारी भूकम्पले तत्काल दिएको पीडा त एकातिर छ नै अर्कोतिर खाद्य संकट निम्तन सक्ने सम्भावना पनि बढ्दै गएको छ ।
सरकारका तर्फबाट प्रधानमन्त्री सुशिल कोइरालाले व्यवस्थापिका संसदमा सम्वोधन गर्दै भूकम्प पीडित क्षेत्रका किसानहरूलाई सरकारले केही राहत उपलब्ध गराउने सम्वोधन गरेपनि किसानहरुको क्षति र त्यसलाई मलम लगाउने काम भने हुन सकेन ।
सरकारले बर्षे बालीका लागि बीउ–बीजन निशुल्क उपलब्ध गराउने, मलखाद सहुलियतपूर्ण ढंगले उपलब्ध गराउने तथा भूकम्प पीडित र मध्यपश्चिमको बाढीग्रस्त क्षेत्रमा मालपोत मिनाहा गरी राहत दिइने घोषणा गरेको छ ।
तर, यतिखेर भूकम्प पीडित किसानहरुको गोठमा हजारौंको संख्यामा पशुहरु पुरिएर मरेका छन् । तर त्यसतर्फ खासै सम्वोधन आउन सकेन । कृषि विकास मन्त्रालयले भूकम्पग्रस्त क्षेत्रमा जोखिममा रहेको र मृत्यु भएका पशुहरुको उद्धारका लागि पशु सेवा विभागल मातहत भेटेरीनरीयनहरुलाई जिल्ला जिल्लामा पठाइएको भएपनि जिल्ला स्थित दैवी प्रकोप उद्धार समितिले घाइते भएका वा अंगभंग भएका पशुहरुको उद्धारका लागि भन्दा पनि राहतका लागि चाउचाउ बाँड्ने काममा लगाएपनि भेटेरीनरीयन अन्यौलमा परेका छन् ।
मन्त्रालयले पशुहरुको उद्धार तथा उपचारका लागि विभिन्न जिल्लामा भेटेरीनरीयनहरु पठाएको भएपनि उनीहरुलाई काम गर्न नदिएको जानकारी आएपछि कृषि सचिव उत्तमकुमार भट्टराईले गृह मन्त्रालयका प्रवक्ता मार्फत भेटेरीनरीयनहरुलाई पशुको उद्धार र उपचार बाहेक अन्य काममा नखटाउन आग्रह गरिसकिएकोले शुक्रबारदेखि सोही अनुरुप भूकम्पमा परेका पशुहरुको उद्धार र उपचारमा सक्रिय रहिसकेको कृषि अनलाईनलाई बताए । भूकम्पका कारण हजारौ पशुहरु हताहत भएको आशंका गरिएको भएपनि पशुहरुको मृत्युको लगत तयार गरिरहेकोले प्रष्ट तथ्यांक अझै आउन वाँकी रहेको समेत उनले बताए । – कमला नेपाल

प्रकाशित मिति: शनिबार, बैशाख २६, २०७२