शुक्रबार, बैशाख १४, २०८१

घिरौला होइन जालो बेचेरै एक लाख

krishi५० बर्षको उमेर काटिसकेपछि पनि कृषि व्यवसायमा रमाउँदै आउका छन् कृष्ण बहादुर घिमिरे । २५ बर्ष सवारी चालकका रुपमा काम गरेका घिमिरेले ललितपुरको कार्यविनायक नगरपालिका–१५ मा २०५३ सालबाट व्यवसायिक रुपमा कृषि गर्न थालेका हुन् । लामोसयमसम्म कृषिमा लागिपरेका उनले घिरौला, तरकारीका बेर्नाहरु, हरियो तरकारी, दानादेखि बीउसम्म विक्री गरेर आफूलाई कृषिमा नै स्थापित गराएका छन् । गतबर्ष एक लाख रुपैयाँको घिरौलाको जालो विक्री गरेका उनले ३ रोपनी जग्गामा घिरौला मात्र उत्पादन गरेका छन् । अनि त्यसको सहायकका रुपमा वकुल्ला, तोरी, धान, गहुँलाई पनि निरन्तरता दिएको बताउँछन् । किन घिरौलालाई प्राथमिकता दिनु भएको भन्ने प्रश्नमा घिमिरे भन्छन् यसको बजारीकरण गर्नका लागि त्यत्ति गाह्रो छैन । घिरौला विकेन भने पनि घिरौलाको जालोबाट भएपनि लगानी उठाउन सकिने उनको तर्क छ । खासगरी घिरौलाको जालो नुहाउनका लागि हात खुट्टा धुनका लागि, भाडा माझ्नका लागि पनि प्रयोग हुने भएकाले यसको माग पनि बढ्दो भएको घिमिरे बताउँछन् ।
घिरौला रोपेको ४५ दिन देखि नै तरकारीका लागि विक्री हुन्छ भने ४ फिट भन्दा लामो भएपछि घिरौला छिप्पिने भएकाले बीउ तथा जालोका रुपमा योग्य हुन्छ । धेरै मेहनत गर्नु नपर्ने तरकारी बालीमा रुपमा घिरौलालाई लिएका घिमिरेका अन्य परिवार कृषि पेशामा नलागेपनि उनी भने कृषि महत्वपूर्ण भएको भन्दै यसमै दिनरात खटिएर लागेका छन् । घिमिरेको मेहनत देखेर कृषि पेशाप्रति उत्प्रेरितगर्नका लागि जिल्ला कृषि विकास कार्यालय ललितपुरले केही रकम अनुादन सहयोग समेत उपलब्ध गराएको छ । घिरौलासँग अन्य तरकारी खेती गरिरहेका उनले दैनिक ज्यालादारीका रुपमा अन्य ८ जनालाई पनि रोजगारीको अवसर सृजना गरेका छन् । आफैले तरकारीखेती गरेपछि फुर्सद नहुने ताजा तरकारी आफैले खान पाउने मात्र नभएर अरुलाई समेत स्वस्थ र ताजा तरकारी ख्याउन पाउने भएकोले तरकारी खेतीप्रति गर्व गर्दछन् ।आफू मात्र कृषि खेतीमा लाग्ने होइन अरुलाई पनि कृषि तर्फ आकर्षित गर्नुपर्दछ भन्ने सोच पालेका घिमिरे श्री उन्नत बाली कृषक समूहका अध्यक्ष समेत रहेका छन् । सो समूह मार्फत पनि बार्षिक ५० देखि ६० लाखसम्मको तरकारी कारोबार गर्ने गरेको र त्यसबाट बार्षिक करीव १० लाख फाइदा हुने उनको भनाई छ ।
कुटो कोदालो चलाउन जानेर मात्र कृषक भइन्न, त्यसलाई व्यवसायिक बनाउन सक्यो भने मात्र सार्थक हुन्छ उनको तर्क छ । कृषिलाई पेशागत रुपमा लिने हो भने आफूले उत्पादन गर्ने कृषिबस्तुहरुको बारेमा जानकारी लिने तथा उत्पादन सम्वन्धि तालिम लिन पनि किसानहरुलाई उनी आग्रह गर्दछन् ।उमेरका हिसावले तीर्थब्रत गर्ने भएपनि आफ्नै हात पाखुरा खियाएर व्यवसायिक रुपमा खेतीमा रमााउँदै कृषि व्यवसायी बन्न पाएको खुशी व्यक्त गर्दै कृषिले नै देशको आर्थिक उन्नती सक्ने उनको तर्क छ । जिल्ला कृषि विकास कार्यालय ललितपुरले दिएको अनुदानबाट हौसिएका उनी युवाहरुलाई बैदेशिक रोजगारीका लागि खाडी मुलुकमा पठाउनु भन्दा कृषि तालिम दिएर नेपालमा नै लगाउन सक्ने हो भने धेरै नै उन्नती हुने र रोजगारीको बाटो खुल्ने समेत बताउँछन् । आफूले चिनेजानेका युवाहरुलाई विदेशमा भन्दा स्वदेशमा नै बसेर कृषिमा रमाउन सल्लाह समेत दिने गरेको घिमिरेको भनाई छ । –कमला नेपाल

प्रकाशित मिति: सोमवार, फाल्गुन २५, २०७१