आइतवार, जेष्ठ ६, २०८१

प्रथम मत्स्य सम्मेलन राजधानीमा शुरु

gagan thapaकाठमाडौं, १६ माघ । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगनकुमार थापाले कृषि विकास मन्त्रालयलाई नतिजामुखि बनाउनका लागि आफूहरु प्रतिवद्ध भएर लागेको बताएका छन् । नेपाल मत्स्य समाज नेपालद्धारा आयोजित प्रथम मत्स्य सम्मेलनको उद्घाटनका क्रममा सभापति थापाले सो कुरा बताएका हुन् ।
कृषि विकासका लागि आवश्यक बजेट तर्जुमा गर्नका लागि बजेट निर्माणका क्रममा मौन बस्ने र कार्यक्रम स्वीकृत भएर आएपछि यो भएन वा त्यो भएन भन्दै आफ्नो चाहना व्यक्त गर्ने परिपाटीका कारण नेपालको कृषि क्षेत्रको विकास हुन नसकेको थापाले बताए।
साँच्चै नै कृषि क्षेत्रको विकास गर्ने हो भने कृषि विकास मन्त्रालयमा मन्त्रीको पद सम्हाल्ने मन्त्रीलाई बलियो बनाउनु पर्ने धारणा सभापति थापाले राखेका थिए । कृषि विकास रणनीतिका बारेमा सरोकारवाला मन्त्रालयले नै जानकारी नभएको भन्ने भनाई राखेपछि एडिएसमा उल्लेखित सिँचाईसँग सम्वन्धित कुरालाई मन्त्रालयका सचिवले वाहियात रणनीति भनेको खुलासा गर्दै सरकारी संयन्त्र वीच नै समन्वयको अभाव भएका कारण अवस्था झन् जटिल भएको उनले बताए ।
पोषणका क्षेत्रमा काम गर्ने आयोजनाहरुलाई मत्स्य उत्पादनसँग सहकार्य गर्नसकेमा त्यसले अत्यन्तै पोषणका क्षेत्रमा मात्र होइन रोजगारीका लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।
सो कार्यक्रममा विशिष्ट अथितिका रुपमा रहेका राष्टिय योजना आयोगका सदस्य डा.भारतेन्द्र मिश्रले गरिवी निवारणका लागि मत्स्यपालन व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गर्नेसक्ने बताए । माछाका लागि धेरै जनशक्ति र ठूलो रकम नभएपनि हुने हुनाले गरिवी निवारणमा यसले ठूलो टेवा पुग्ने बताएका थिए ।
कार्यक्रममा मत्स्य विकास निर्देशनालयका कार्यक्रम निर्देशक रमानन्द मिश्रले कुपोषणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने मत्स्य पालन क्षेत्रले प्राथमिकता नपाउँदा नपाउँदैपनि निजी क्षेत्रका कारण धेरै नै प्रगति भएको बताए ।
दुई दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकभरका १ सय भन्दा बढी मत्स्य क्षेत्रमा क्रियाशील व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७१