सोमवार, बैशाख ३१, २०८१

स्नातकोत्तरको पढाइ पछि गाउँमै बाख्रापालन

DSC03791

सल्यान, ५ मङ्सिर । पढेर राम्रो सरकारी जागिर खान खोज्ने युवालाई चुनौती दिँदै सल्यानमा एक युवाले स्नातकोत्तरको पढाइ पछि गाउँमै व्यावसायिक बाख्रापालनको सुरुवात गरेका छन् ।

जनस्वास्थ्य र समाजशास्त्रमा स्नातकोत्तर पास गरेका थारमारे–३ ठिनवाङका निरज केसीले जिमाली–६ डाँडागाउमा व्यावसायिक बाख्रापालनको सुरुवात गरेका हुन् । जागिरका लागि सङ्घसंस्थाबाट दिनहुँ आएका अनुरोधलाई बेवास्ता गर्दै व्यावसायिक बाख्रापालनमा लागिपरेका छन् ।
उनले आधुनिक खोर बनाई जमुनापारि, वारवेरी, सानन र खरी जातका ५१ वटा बाख्रापालन गरेका छन् । पालिएकामा २५ माउ बाख्रा २० पाठापाठी, दुई खसी र चार बोका रहेका छन् ।
जग्गाको उर्वरा शक्ति ह्रास हुँदै गएकाले त्यसलाई पुरानै अवस्थामा ल्याउन र कृषि पशुपालनलाई व्यावसायिक बनाई ग्रामीण आर्थिक अवस्थामा सुधार गर्ने उद्देश्यले बाख्रापालन सुरु गरिएको केसीको भनाइ रहेको छ ।
“जिल्लाबाट दैनिक १५० जनाले राहदानी बनाएर विदेश जान्छन् तर गर्न सके यहीँ स्रोत र अवसर छ । व्यावसायिक बन्न सके विदेश जानै पर्दैन न त जागिर खोजेर कतै भौँतारिनुपर्छ”, केसीले भने ।
बाख्रापालनका लागि ४२ रोपनी जग्गा भाडामा लिएर विभिन्न जातको घाँस लगाइसकेका केसीले जिल्लालाई निकट भविष्यमा बाख्राको स्रोत केन्द्र र अनुसन्धान केन्द्र बनाउने लक्ष्य रहेको बताए । “जिल्लामा बाख्रापालनका लागि राम्रो सम्भावना छ, दिनप्रतिदिन मासुको मागलाई पूर्ति गर्न तथा नमुनाका रुपमा बाख्राको स्रोत केन्द्र स्थापना गरी जिल्लालाई चिनाउने मेरो लक्ष्य हो”, केसीले भने ।
“बुबाआमाले मलाई डाक्टर बनाउने भनेर पढाउनु भयो उहाँको भावनाअनुसार मैले पूरा गरेँ तर व्यावसायिक बाख्रापालन गरेर मैले आफ्नो छुट्टै पहिचानका साथ उहाँहरूलाई चिनाउँछु । पैसा कमाउनका लागि विदेश र जागिर नै खानुपर्छ भन्नेलाई पाठ सिकाउन मैले व्यवसाय सुरु गरेको हो”, केसीले भने ।
बाख्रापालनका लागि आधुनिक खोर निर्माण गरिएको छ भने एकजना भेटनरी जेटिए र दुईजना कामदारलाई रोजगारी दिइएको छ । “अहिले सबै जातका थोरै बाख्रा राखिएको छ एक वर्षभित्रै एक हजार बाख्रा पु¥याउने लक्ष्य छ । केसीले भने । व्यावसायिक बाख्रपालनका लागि अहिले मासिक रु २३ हजार खर्च भइरहेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७१