मङ्लबार, जेष्ठ ८, २०८१

मौरीपालक किसानलाई आठ सय घार वितरण

जाजरकोट २६ भाद्र । मौरीपालनको पकेट क्षेत्र मानिएको जाजरकोटको डाँडागाउँमा मौरी घार वितरण गरिएको छ ।

परम्परागत घार प्रयोग गर्दा मह उत्पादनमा समस्या झेल्दै आएका डाँडागाउँ गाविस वडा नं १ र २ का स्थानीयवासी नयाँ प्राविधिसहितको मौरी घार पाएपछि मौरीपालन व्यवसाय फस्टाउने बताउाछन् ।
बढी मौरीपालन गर्ने अति गरिब घरपरिवार छनोट गरी यहाँका २०० घरधुरीलाई ८०० आधुनिक घार वितरण गरिएको हो । बहुसरोकारवाला वन कार्यक्रमको लगभग रु २६ लाख लगानीमा साझेदार संस्था पहाडी क्षेत्र विकास अभियानले डाँडागाउँ गाविसको वडा नं १, २ र ३ मा वितरण गरिएको अभियानका प्रदीपजङ्ग शाहले बताउनुभयो ।
यी दुई वडामा जिल्लाकै सबैभन्दा बढी मह उत्पादन हुने गर्दछ । धेरै मौरी भए पनि परम्परागत घारको प्रयोगले गर्दा मह उत्पादनमा समस्या भएपछि किसान मर्कामा पर्दै आएका थिए ।
आधुनिक घारको अभावमा पीडित बनेका स्थानीयवासीले अब आधुनिक मौरीघार पाएसँगै आफ्नो मह उत्पादन बढ्ने र आर्यआर्जन राम्रो हुने आशा लिएको सेते बुढाले बताउनुभयो ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७१