शनिबार, जेष्ठ ५, २०८१

प्रविधिका नाममा किसान ठग्दै , कामपालाई व्यवसाय कर छल्दै

काठमाडौं,२१ भाद्र । कृषि क्षेत्रमा प्रविधिको विस्तार गर्दै कृषि उत्पादनमा बृद्धि गर्ने योजनामा सरकार रहेको र कृषि इन्जिनियरिङ्ग निर्देशनालय प्रविधि विस्तारमा लागिरहेका बेला केही निजी संस्थाहरु भने त्यसको फाइदा लिनका लागि प्रविधिका नाममा किसानलाई चर्को मूल्यमा उपकरण बेच्न थालेका छन् ।
कुनै बेला मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लगानी रहेको मह एग्रिकल्चरले यतिखेर इजरायली प्रविधि प्रवद्र्धन गर्ने नाममा किसान ठग्ने कार्यलाई तीव्रता दिएको छ ।
काठमाडौं उपत्यकाका धेरै ठाउँमा भारतबाट ल्याएका कालो पाइपालाई इजरायलबाट ल्याएको भन्दै चर्को मूल्यमा बेच्ने गरेको तथ्य खुलेको छ । त्यत्तिमात्र होइन पाईप मेसिन फिटिङ्गका नाममा भने मह एग्रिकल्चरले किसानसँग चर्को मूल्य असुलेको किसानहरु बताउँछन् । विशेष गरी काठमाडौंको काँठ क्षेत्रमा टनेल खेती गरिरहेका किसानहरुलाई मह एग्रिकल्चर पुरानो र मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको भएको भन्दै त्यहाँ कार्यरत खोजराज कट्वालले थोंपा सिंचाईका नाममा चर्को मूल्य असुल्दै आईरहेका छन् । टनेलको साईज अनुसार ३ लाखमा फिटिङ्ग गर्न सकिने भएपनि मदनकृष्ण हरिवंशको नाम किसानहरुलाई भजाएर ५ लाखसम्म लिएको पाइएको छ । जसका कारण भर्खरै भित्रिएको इजराइली प्रविधिलाई कट्वाल कै कारण बदनाम हुँदै गएको छ । इजरायलबाट फर्केका व्यक्तिहरु कै अनुसार इजरायलमा समेत नेपाली माझ बदनाम कमाएका कट्वालले विदेशका रहँदा समेत नकारात्मक हर्कत गरेका थिए । यतिखेर मह जोडीको नाम जोडेर आफ्नो किसान ठग्ने कार्यलाई उनले तीव्रता दिईरहेका छन् । यसलाइ अझ मजबुत पार्न उनले व्यवसायिक किसानका नाम गरेर संगठन समेत बनाउन लागेको स्रोतले बताएको छ । कट्वाल युनिटी ग्रुपसँग आवद्ध रहेर इजरायलमा रहेका नेपालीहरुसँग रकम असुलेको समेत फेला परेको छ । यस्तै हर्कतका कारण पीडितहरुको जाहेरीमा हनुमान ढोकामा दुइ पटक थुनिएका कट्वालले ठगिएका व्यक्तिहरुलाई रकम तिर्न केही समय अगाडि घर नै बेच्नु परेको कृषि अनलाईनलाई स्रोतले बतायो । करोडौं लगानी गरिएको भन्ने मह एग्रिकल्चर बालाजुबाट कलंकी सारिएको भएपनि काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यवसाय गर्न कामपामा व्यवसाय दर्ता समेत नगरेको र कर समेत नबुझाएको कापमा वडा नं. १५ स्रोतले बताएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७१