शुक्रबार, बैशाख १४, २०८१

सरकारी जागिर छोडेर जुम्लामा तरकारीखेती

विसं २०५१ मा मुखिया पदमा लोकसेवा पास गर्नुभएका जुम्ला चन्दननाथ–१ का पूर्णप्रसाद न्यौपाने अहिले सरकारी जागिर छोडेर तरकारीखेतीमा होमिनुभएको छ ।  उहाँ जुम्लामा तरकारीको अभाव र उत्पादनको सम्भावनालाई देखेर जागिरै छोडेर यो व्यवसायमा निकै चुनौतीका साथ होमिनुभएको हो ।

व्यावसायिक दौरानमा अनेकौँ चुनौतीको सामना गर्दै निरन्तर पेसाप्रति सङ्घर्षशील न्यौपानेले आफू लखपति मात्र हैन अन्य गाउँलेलाई पनि राम्रै रोजगारी दिलाउन सफल हुनुभएको छ । तरकारीखेतीबाट पाएको व्यावसायिक सफलतासँगै उहाँले जिल्लाकै उत्कृष्ट व्यवसायीको रुपमा यसै वर्ष ‘राष्ट्रपति कृषक पुरस्कार’ समेत पाउनु भयो ।
“जुम्लामा तरकारीको अभाव थियो, उत्पादनको सम्भावना प्रसस्त थियो तर किसान यो खेती गर्न रुचाउँदैनथे, यो जिल्लालाई तरकारीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले म जोखिम मोलेर निरन्तर लागेर यो सफलता पाएँ” – व्यवसायी न्यौपानेले भन्नुभयो । kheti
धान कोदोलगायतका अन्नबालीमा कम उत्पादन हुने र जीविकोपार्जन गर्ने कठिनाइ हुने भएकाले तरकारीमा उत्पादन तथा नगद आम्दानी बढी हुने भएकाले यो पेसामा लागेको उहाँले बताउनुभयो । विसं २०५२ मा जिल्ला कृषि कार्यालयको प्राविधिक सहयोगमा व्यवसाय सुरु गर्नुभएका उहाँले सुरुका वर्षमा सामान्य उत्पादन गर्दै आएपछि पछिल्ला समय निकै राम्रो व्यावसायिक सफलता पाउनुभएको छ ।
जुम्लामा आफूजस्तै करिब २०० व्यवसायी तरकारीखेतीतर्फ लागेको उहाँले जानकारी दिनुभयो । उहाँले राधा तरकारी तथा बीउ उत्पादन उद्योगका नाममा तरकारी तथा तरकारीको बीउ उत्पादन गरी बिक्री गर्ने लक्ष्यका साथ जिल्लाकै ठूलो तरकारी फार्म सञ्चालन गर्नुभएको छ ।
तरकारी उत्पादन उपआयोजनाअन्तर्गत उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार हिमाली आयोजनाको अनुदान सहयोगमा तरकारी फार्म विस्तार गर्नुभएको हो । कुल रु २६ लाख ५७ हजार २७० लागतमा ६० रोपनी क्षेत्रफलमा व्यवसायी न्यौपानेले तरकारीखेती सञ्चालन गर्नुभएको हो । यो रकममध्ये हिमाली आयोजनाले रु २१ लाख २५ हजार ८१६ अनुदान दिएको छ ।
राधा तरकारी तथा बीउ उत्पादन उद्योगमा काउली, भन्टा, फर्सी, मुला, केराउ, गोलभेँडा, प्याज आलुलगायत उत्पादन हुन्छ । मौसममा दैनिक रु पाँच हजारदेखि रु १४ हजारसम्म तरकारीबाट कमाई हुने गरेको छ ।
जुम्लामा तरकारीखेती गरेर व्यवसायी न्यौपानेले काठमाडौँमा तीन छोरा र छोरीलाई राम्रो शिक्षा दिलाइरहनुभएको छ । तरकारीखेतीमा गाउँका करिब १० जनालाई रोजगारी दिनुभएको छ । मौसममा ४० जनासम्मले रोजगारी पाउने गरेका छन् ।
व्यवसायी न्यौपानेले अघिल्लो वर्ष तरकारीबाट रु १८ लाख कमाएकामा सबै खर्च कटाएर रु सात लाख फाइदा भएको बताउनुभयो ।
अर्गानिक जिल्लाका रुपमा चिनिएको जुम्ला अहिले तरकारीमा पूर्ण आत्मनिर्भर भइसकेको छ, यहाँ व्यावसायिक तथा सामूहिक तरकारीखेती निकै फस्टाएको छ । जुम्लामा उत्पादित तरकारी मुगु, कालीकोट, नेपालगन्ज, काठमाडौँ र विराटनगरसम्म पुग्ने गरेको व्यवसायी बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालय, बागवानी अधिकृत विष्णु महतले जिल्लामा उत्पादनका हिसाबले सिमी र स्याउपछि तरकारीखेतीतर्फ किसानको आकर्षण बढेको बताउनुहुन्छ । प्राङ्गारिक जिल्ला घोषणा भएको र जैविक विषादीको आपूर्ति कम हुने भएकाले कृषकमात्र होइन उपभोक्ताको पनि जुल्लाको तरकारीप्रति आकर्षण बढेको उहाँले बताउनुभयो ।
जुम्लामा व्यावसायिक तरकारीखेतीको सम्भावनालाई मध्यनजर गर्दै हिमाली आयोजनाले कृषि उत्पादनतर्फ तरकारीखेतीलाई प्राथमिकताकासाथ अनुदान दिएको आयोजनाका पशु चिकित्सक डा मनोजकुमार शाहीले बताउनुभयो । हिमाली आयोजनाले जुम्लामा ३८ वटा विभिन्न व्यावसायिक उपआयोजना सञ्चालन गरिरहेको छ, त्यसमध्ये तरकारीमा पाँच वटा आयोजना छन् ।-  सिबी अधिकारी

प्रकाशित मिति: शनिबार, असार ५, २०७२