शुक्रबार, बैशाख १४, २०८१

असिनापानीले मकैमा क्षति

रत्ननगर (चितवन), २५ जेठ । भूकम्प प्रभावित यहाँको पहाडी भागमा हावाहुरीसहित आएको असिनापानीका कारण बीउ नष्ट भएपछि किसान चिन्तित वनेका छन् । पहाडी गाविसका विभिन्न क्षेत्रमा मकैको फेद नै नउठ्ने गरी असिनाले थिचेको छ । जेठको दोस्रो साता दुई पटक यहाँ असिना पानी परेको थियो । भूकम्पबाट पीडित किसानलाई असिना पानीले थप पीडित बनाएको छ । कृषि कार्यालयले असिना पानी क्षेत्रको विवरण सङ्कलन गरिरहेको र क्षतीको पूर्णविवरण अनुसार केन्द्रमा राहतका लागि सिफारिस पठाउने कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिए ।

मुख्यगरी सिद्धी गाविसमा धेरै क्षति बनाएको छ । प्राय : चेपाङ तथा अन्य जनजाती समुदाय बस्ने सो क्षेत्रमा बर्सेनि भोकमरी लाग्ने गर्दछ । अनिसाने मकैको बीउ नै नहुने भएपछि केहीले फेरि जोतेर मकै छर्न थालेको पाइएको छ । सिद्धीको वडा नं १,३,४,५,६ मा मकै पूर्णरुपले नष्ट भएको छ । यस्तै लोथरको ४ र ५ वडामा समेत मकै असिनाले पूर्ण क्षति गरेको घिमिरेले बताए ।

“अहिलेसम्म एकहजार २०० हेक्टर जती क्षतिको विवरण आइसकेको छ” उनले भने । चितवनको सो क्षेत्रमा प्रति हेक्टर दुई क्विन्टल मकै उत्पादन हुने बताइएको छ । राष्ट्रिय मावि मझवाङ सिद्धीका प्रधानाध्यापक देवकुमार बस्नेतले मकैको भरमा बस्ने चेपाङलाई नष्ट भएपछि भोकमरी थपिने चिन्ता भएको बताए । धान चमरा छोड्न लागेको र सुत्ला चेप्न लागेको मकैमा असिनापानीले क्षति पुगेको छ । भूकम्पले घरमा भएको अन्नसमेत नष्ट भएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २५, २०७२