शनिबार, बैशाख २९, २०८१

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर कृषि तथा पशु बीमा

online bima
काठमाडौं, २६ । किसानहरु कृषि क्षेत्रमा लागेर असुरक्षित बनिरहेका छन् । कृृषि उपज उत्पादन लागत बढ्दै गरेका कारण र विभिन्न प्रकोप तथा रोगका कारण किसानहरु विगतदेखि बढी मारमा परिरहेका छन् । यद्यपी किसानहरुको यही पीर र मर्काकालाई सम्वोधन गर्ने गरी कृषि विकास मन्त्रालयले २०६९ माघ १ गतेदेखि कृषि तथा पशु बीमा लागू गरेको भएपनि कृषि तथा पशु बीमा लागू गर्ने निकाय बीमा समितिकै कारण यसले सार्थकता प्राप्त गर्न सकेको छैन ।
बीमा समिति किसानका पक्षमा नदेखिएकै कारण बीमा कम्पनीहरुले पनि किसानलाई सुरक्षित गर्ने सोच बनाउन सकेका छैनन् । सवारी साधन लगायतका क्षेत्रमा बीमा गर्न प्रतिष्पर्धा गर्ने बीमा कम्पनीहरुनै किसानलाई सुरक्षित गर्न तयार नहुनुको कारण बीमा समितिका उच्च पदस्थ कर्मचारीहरुको दोहोरो चरित्रका कारण भएको किसानहरुले बताउन थालेका छन् ।
कृषि विकास मन्त्रालयमा सचिव जयमुकुन्द खनालले आएलगतै किसान र किसानले उत्पादन गरेका कृषि उपजहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सोच अनुरुप किसानहरुलाई सुरक्षित रुपमा आफ्नो पेशा अंगाल्नका लागि यो कृषि तथा पशु बीमा लागू गरिएको भएपनि दुई बर्ष पुग्न लागिसक्दा पनि त्यसले किसानका पक्षका काम गर्न सकेको देखिंदैन ।
कृषि क्षेत्रमा किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यले सरकारले ल्याएको सो बीमा नीति प्रभावकारी हुन नसक्नुको सम्पूर्ण जिम्मेवारी बीमा समितिले लिनु पर्दथ्यो तर बीमा समिति त्यसबाट पन्छने प्रयास गर्दछ । कृषि तथा पशु बीमा गर्न किसानहरुलाई अझ प्रोत्साहित गर्न सरकारले यो बर्ष बीमाको प्रिमियममा ७५ प्रतिशत अनुदानको दिने व्यवस्था गरेको भएपनि बीमा नीति सफल नहुनु सम्पूर्ण जिम्मेवारी बीमासमितिले लिनु पर्दछ तर बीमा समिति त्यो जिम्मेवारी लिन चाहँदैन ।
बीमा कम्पनीहरु शहरमुखि भएकै कारण ग्रामिण भेगका किसानहरुसम्म पुग्न नचाहकेको बीमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसी स्वीकार गर्दछन् । बीमा समितिले पशु तथा कृषि बीमाको प्रचारका नाममा लाखौं रुपैयाँ काजगी रुपैयाँ सिध्याएको भएपनि किसानहरु अझै पनि बीमाका बारेमा अनभिज्ञ देखिन्छन् । चितवन, नवलपरासी, रुपन्देहीका, मकवानपुर, झापा लगाएका किसानहरु कृषि तथा पशु बीमाका बारेमा आफूलाई जानकारी नै नभएको बताउनेको संख्या अत्यधिक देखिन्छ । भने बीमाको बारेमा जानकारी राख्नेहरुलाई पनि बीमा कम्पनीहरुले गरेको व्यवहारबाट नै बीमा गर्न नखोजेको समेत बतउँछन् । सकेसम्म कृषि तथा पशुको बीमा गर्न नपरोस् भन्ने सोचले बीमा कम्पनीहरु बसिरहेका छन् चितवन शुक्रनगरमा गाई तथा बाख्रा फार्म सञ्चालन गरिरहेका किसानहरुको भनाई छ ।
कृषि विकास मन्त्रालयले किसानका पक्षमा ल्याएको कृषि तथा पशु बीमा लागू गराउन तर्फ लाग्ने बीमा समिति सकेसम्म टार्न खोज्ने प्रबृत्तिले कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान बीमा समितिले देखाईदिएको छ । मन्त्रालयले जति नै पहल गरेपनि यसलाई असफल बनाउने तर्फ बीमा समिति नै क्रियाशील देखिएपछि किसानका लागि कृषि तथा पशु बीमाको ७५ प्रतिशत प्रिमियम पनि कागलाई बेल पाक्यो हर्ष न बिष्मात जस्तै भएको छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: बुधबार, कार्तिक २६, २०७१