बिहिबार, चैत्र १५, २०८०

कृषि बजार स्थापनामा सरकारले सहयोग गर्ने

काठमाडौँ, १ असोज । कृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषि उत्पादन वृद्धिका साथै बजारको पनि त्यत्तिकै खाँचो भएकाले निजीक्षेत्रलाई पनि बजार स्थापनामा सहयोग गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।

download (1)बल्खु कृषि तथा तरकारी बजारको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उहाँले निजी क्षेत्र सक्षम नभएसम्म राज्यले नै सहयोग गर्ने कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।
निर्वाहमुखी कृषि प्रणालीका कारण देशले यस क्षेत्रमा फड्को मार्न नसकेको विचार व्यक्त गर्दै उहाँले करिब ३५ लाख युवा विदेशिएका र त्यसकै हाराहारीमा स्वदेशमा रहेका ऊर्जाशील जनशक्ति रोजगारीविहीन छन् भन्नुभयो ।
कृषि क्षेत्रमा व्यावसायिकताको विकास गर्न सरकार लागिपरेको बताउँदै उहाँले त्यसबाटै रोजगारीका अवसर सृजना भई आर्थिक उन्नतिको दिशामा देशलाई अघि बढाउन सकिने धारण पनि व्यक्त गर्नुभयो । व्यावसायिकताको विकासका लागि उन्नत बीउ र प्रविधिको प्रयोगमा जोड दिदै उहाँले किसानका लागि बजारको सुनिश्चितता गरिने आश्वासन पनि दिनुभयो ।
बल्खु कृषि तथा तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले भौगोलिक विविधता र अनुकूल हावापानीका कारण नेपालमा मूल्यवान कृषिवस्तुको उत्पादन गर्न सकिने सम्भावना रहेको चर्चा गर्दै बर्सेनि एक खर्बभन्दा बढीको कृषिउपज, तरकारी र माछामासु आयात हुनु कृषिप्रधान मुलुकका लागि विडम्बना हो भन्नुभयो ।
कृषि विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजनाका निर्देशक योगेन्द्रकुमार कार्कीले आयोजनाका गतिविधिबारे जानकारी दिँदै कामको खोजीमा भौतारिनुभन्दा कृषिकर्मतर्फ लाग्न बेरोजगार युवा वर्गलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, अशोज १, २०७१