मङ्लबार, चैत्र ६, २०८०

भेडाच्याङ्ग्राको मूल्यमा ३० प्रतिशतले वृद्धि

12

म्याग्दी, १७ असोज । यस वर्षको दसँैमा भेडाच्याङ्ग्राको मूल्यमा ३० प्रतिशतले वृद्धि भएको छ । मासुका लागि परनिर्भर म्याग्दीमा दसँैको समयमा तिब्बतबाट आएका भेडाच्याङ्ग्राको मूल्य बढेपछि मासुको मूल्य बढेको हो ।

बेनी बजारका मासु पसलमा खसीको मासुको मूल्य प्रतिकेजी रु ७५० भए पनि तिब्बतबाट आएका भेडाच्याङ्ग्राको मासुको मूल्य प्रतिकेजी रु एक हजार १०० पर्न गएको छ । दसँैको समयमा प्रायःजसोले घर–घरमै खसी काट्ने प्रचलन भए पनि मागअनुसार भेडाच्याङ्ग्राको आयात हुन नसक्दा मूल्य बढेको स्थानीय जनताले बताएका छन् ।
छिमेकी देश चीनबाट भेडाच्याङ्ग्राको आयात गर्ने गरेको भए पनि यस वर्ष गत वर्षको तुलनामा आधा मात्र भेडाच्याङ्ग्रा भित्रिएका कारण यस्तो समस्या आएको हो । व्यवसायीले तिब्बतमै भेडाच्याङ्ग्राको मूल्य बढेका कारण आफूहरूले मूल्य बढाएर बिक्री गर्नुपरेको बताउँछन् ।
गत वर्ष रु १४ हजारमा पाइने खसीको मूल्य अहिले रु १८ हजारभन्दा बढी पर्न गएको छ । व्यवसायीले तिब्बतमै रु ११ हजारभन्दा बढी मूल्य पर्ने भएका कारण पनि मूल्य वृद्धि गर्नुपरेको बताउँछन् ।
स्थानीय गाउँठाउँमा रहेका खसी र बोकासमेत महँगो हुने हुँदा भेडाच्याङ्ग्रा सस्तोमा खरिद गर्ने गरेका सर्वसाधारण यसपालिको दसँैमा प्रत्यक्षरुपमा मर्कामा परेका छन् । गत वर्ष तीन हजार खसी बोका जिल्ला भित्रिएकामा यस पटक एक हजार ५०० मात्र भित्रिएको व्यापारीको भनाइ छ ।
बोका, खसी तथा भेडाच्याङ्ग्रा सहजरुपमा पाउन नसक्दा म्याग्दीमा मासु अभाव हुने मासु व्यवसायी बताउँछन् । यता, दसँैको लागि मासुको अभाव हुन नदिन विशेष व्यवस्था मिलाइसकेको जिल्ला पशुसेवा कार्यालय म्याग्दीले जनाएको छ ।
गत वर्षभन्दा यो वर्ष म्याग्दीमा मासुको माग बढेको पशु कार्यालयले जनाएको छ । चीन तथा मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण पछि मात्र म्याग्दीमा ल्याउने गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज १७, २०७१