शुक्रबार, चैत्र १६, २०८०

विषादी प्रयोग विरुद्व नाटक

dramaकाठमाडौं,२२ मंसिर । खेतमा जान भौतारिदै आएकी एक किसान महिला घरमा छोरीलाई लागेको घातक रोगका कारण प्रताडित बन्दै थिइन् । अत्यधिक बिषादी प्रयोगका कारण आफैले निम्ताएको रोगका बारेमा विगतमा अनभिज्ञ भएका कारण उनी पछुताउनुको विकल्प थिएन । गाउँका धेरै महिलाहरु खेतमा काम गर्ने र तरकारी लगायत कृषि उपजहरुमा एग्रोभेटहरुले दिएका कडा खालका विषादी छर्ने गरेका कारण प्राण नै जाने रोग निम्तने कुरा गाउँकी एउटी छोरीलाई लागेको रोगबाट थाहा पाए । कृषि प्राविधिकहरुले दिएको सल्लाह भन्दा एग्रोभेटले दिएको सल्लाह नै ठूलो ठानेर तत्कालै किरा मर्ने कडा खालका बिषादी प्रयोग गर्दा परेका असर गाउँभरी फैलन थाल्यो । र त महिलासमूहरु संगठित भएर विषादी प्रयोग न्यूनिकरण गर्नु पर्दछ अन्यथा हरेक घरका सदस्यहरु विरामी पर्ने बुझें । स्वास्थ्यकर्मीको सल्लाह, जेटिएको सल्लाह बल्ल मान्न थाले । उत्पादन बढाउने नाममा आफ्नै ज्यान जाने रासायनिक बिषादी प्रयोग गरेर उपचार गर्न लाखौं सिध्याउनु भन्दा घरमै प्रांगारिक बिषादी बनाउन प्रयास गर्ने नभए किनेरै भएपनि प्रांगारिक बिषादी मात्र प्रयोग गरेर कृषि उत्पादन गर्न तर्फ महिलाहरु लाग्ने प्रतिवद्धता कृषक महिला समूहका सदस्यहरुले गरे । उनीहरुले रासायनिक विषादी प्रयोग आफूले त नगर्ने वाचा गरे नै आफ्ना छिमेकी गाउँहरुमा समेत गएर घातक रासायनिक विषादी प्रयोग नगर्न सल्लाह दिने पनि निर्णय गरेर गाउँतिर लागे । यो यथार्थ घटना झल्कने गरी लोकतान्त्रिक आईपिएम कृषक समूह टिकाथलीले काठमाडौंको बसन्तपुरमा देखाएको सडक नाटकको विषय थियो । अत्यन्तै मर्म स्पर्शी ढंगमा नाटकले धेरै फलाउने र कमाउने नाममा अत्यधिक रासायनिक बिषादीका कारण उपभोक्ता मात्र नभएर उत्पादनमा संलग्न किसानहरु नै घातक रोगको शिकार बनेको दृश्यहरुले नाटक हेरिरहेका उपभोक्ताहरु तीन छक्क परेका थिए ।
उपभोक्ता आफूहरु हरेक बिहान वा बेलुका तरकारीको नामममा मन्द विष प्रयोग गरिरहेका रहेछौं भन्दै थिए नाटकका दृश्य हेर्दै । बाली संरक्षण निर्देशनालयले बिषादी मुक्त सप्ताह २०७१ मा आम उपभोक्ता र किसानहरुलाई सचेतना गराउनका लागि प्रस्तुत गरेको सो सडक नाटक कोटेश्वर, बानेश्वर लगनखेलमा समेत प्रर्दशन गरिएको थियो । बिषादी प्रयोग अन्त्य गर्नका लागि यस्ता नाटक तरकारी उत्पादनका पकेट क्षेत्रका किसानहरु समक्ष पु¥याउनु जरुरी छ भन्ने आम दर्शकको भावना थियो ।

प्रकाशित मिति: सोमवार, मंसिर २२, २०७१