बुधबार, जेष्ठ ११, २०७९

बेमौसमी वर्षाका कारण वाँके र बर्दियामा धान सखाप

वाँके । दसैँको माहोल सकिन नपाउँदै सुरु भएको बेमौसमी वर्षात्ले बाँकेका किसानको खुसी धानसँगै डुबाएको छ ।
आइतबारदेखि लगातार परिरहेको वर्षात्ले खेतमा पाकेको धान डुबाएको छ । खेतमा पाकिसकेको धान वर्षाद्का कारण स्याहार्न नपाइ ठूलो क्षति भएपछि दसैँ मनाउँदै गरेका किसान चिन्तित हुन पुगेका छन् ।

नियमित वर्षा भइरहेकाले किसानले खेतमा काटेको धान पानीले डुबाएको छ । हावाहुरीसहितको वर्षा हुँदा नकाटेको धान पनि पुरै ढलेर नोक्सानी भएको राप्तीसोनारी गाउँपालिका– ७ फत्तेपुरका किसान लालबहादुर थापाले बताए ।

“हावाहुरीसँगै आएको पानीले पाकेको धान सबै डुबाएर ठूलो नोक्सानी पुगेको छ”, थापाले भन्नुभयो, “पानी परिरहेकाले धान स्याहार्न पाइएको छैन, ढलेको धान कुहिन थालिसकेको छ । बीउ जोगाउन पनि गाह्रो हुने भयो ।”

बाँके र बर्दिया जिल्लाको अधिकांश क्षेत्रमा पाकेको धान पानीले डुबाएको छ । पानीले धान डुबाएकाले व्यापारिले खरिद नगर्ने हुँदा यो वर्ष ठूलो आर्थिक मारमा पर्ने निश्चित भएको खजुरा गाउँपालिका–२ सीतापुरका किसान लक्ष्मीबहादुर थापाले बताए ।

तीनदिनदेखि हावाहुरीसँगै भएको वर्षात्ले बाँकेमा काटेर खेतमा राखेको र काट्ने तयारी अवस्थामा रहेको धानबालीमा ठूलो नोक्सानी पुगेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।

उनका अनुसार, काटेकोमध्ये २० प्रतिशत बढी धानमा नोक्सानी पुगेको छ भने ४० प्रतिशत जति धान हावा र पानीका कारण ढलेर क्षति भएको अनुमान छ । धान बालीमा क्षति हुनेक्रम जारी रहेकाले केही दिनपछि मात्रै पूर्ण जानकारी आउने छ ।

बाँकेमा ३६ हजार ५०० हेक्टर जमिनमा धानखेती लगाइएको छ । त्यसमध्येमा २५ देखि ३० प्रतिशत क्षेत्रफलमा राधा–४ धान किसानले लगाएका छन् । यो वर्ष समयमै धान रोपाइँ भएका कारण उत्पादन बढ्ने आशा गरिएको थियो । स्याहार्ने बेला धेरै पानी परेर उत्पादनमा नोक्सानी पु¥याएका कारण किसान निराश बन्न पुगेका छन् ।

पीडित किसानका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले राहतका कार्यक्रम तत्काल ल्याउन आवश्यक रहेको किसानको माग छ । सरकारले सहयोग नगरे किसान अर्को वर्ष खेती गर्न नसक्ने अवस्था आउनसक्ने भएकाले सबैले चासो दिनुपर्ने खजुराका किसान थापाको भनाइ छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २, २०७८