मङ्लबार, असार ८, २०७८

लगातारको वर्षाले कृषि क्षेत्रमा भएको क्षतीकाे हिसाब किताब नै छैन सरकारसँग

काठमाडौं । विगत एकसातादेखि लगातार वर्षका कारण किसानहरु हैरान भएपनि मौसम हल्का खुलेपछि किसानहरु खुशी भएका छन् । लगातारको वर्षाले यहाँका किसान वाक्कदिक्क भएका थिए । बिहीबार साँझदेखि शुरु भएको वर्षा पाँचौं आज सोमबारबाट आकास खुलेको छ । यसले गर्दा किसानहरुलाई थोरै राहत मिलेको छ । लगातारको वर्षाले किसानका खेतबारी पानीले भरिएको थियो । हिजो पनि पानी खासै नपरे पनि मौसम भने राम्ररी नखुलेको कारण किसानको मुहारमा चमक आएको थिएन । बंगालको खाडीमा आएको यास चक्रवातका कारण देशका विभिन्न स्थानमा लगातार वर्षा भएको मौसम तथा जल अनुसन्धान विभागले बताएको थियो ।

लगभग एक साता चलेको वर्षाले किसानका बर्खे धान र कोदोको ब्याड पानीले डुबायो। अन्य नगदे बालीहरुमा पनि धेरै क्षती भएको छ । अर्कोतर्फ चक्रवातको प्रभावले चलेको हावाहुरीले हुर्किएका मकैबारी सोत्तर भए । यसको हिसाब किताब सरकारले राखेकै छैन । साउने झरीमाझैं उकनासले पानी परिरहँदा किसानहरुले खेतबारीको हेरचाहसमेत गर्न पाएनन् । यसका कारण यसपालीको बाली उत्पादन घट्ने अनुमान सोझै गर्न सकिन्छ । गोडमेल गरी राखेका मकै हुरीले लडाएर सोतर बनेको छ । यसको प्रारम्भिक क्षतीको विवरण मन्त्रालयसँग छैन । स्थानीय सरकारलाई कोरोनाका नाममा रकमान्तर गर्नमै फुुर्सद छैन । फलिसकेका आँपका चिचिल्लाहरु भुुँइमा सोत्तर भएर झरे । फूल लाग्दै गरेका पहाडी आँपका फूलहरु नै नष्ट भएका छन् । यस्तो क्षतीको निम्ती सरकारले राहत प्याकेज बनाइदिने हो भने किसानलाई केही राहत पक्कै हुने थियो ।

एकातिर कोरोनाका कारण भएको लकडाउनले टाढा खेतबारी भएका किसानले आफ्नो खेतबारीको रखबाली गर्न सकेका छैनन् । पशुपालक किसानहरुले भण्डारण गरी राखेका पराललगायत पशुुका आहार पनि वर्षाका कारण बिग्रने अवस्थामा पुुगेको छ । भिजेको पराललाई सुकाएर प्रयोग गर्न सकिने भए पनि कुहिसकेको पशुका खाद्यान्न भने नष्ट हुने नै भयो । यसका अतिरिक्त पन्छीपालक किसानका पन्छीहरु लगातारको झरीले रोगी भएका छन् । यसो हुँदा हुँदै पनि पशुुपन्छी पालक किसानको तुलनामा झरीले खेतीपात किसानलाई बढी मर्का परेको देखिन्छ ।

खेती गर्ने किसानका बर्खे धान र कोदो रोप्न ढिलो भइरहेको बेला ब्याड नै डुबेपछि बीउ गल्ने नै भयो । सबैतिर पानी डम्म भरिएरपछि पानी काडेर फाल्ने ठाउँ नै भएन । यसो हुँदा बीउ गल्ने चिन्ता बढेको भङ्गाहा–४ का किसान बहुरा महतोको भनाइ छ । पहिले राखेको ब्याड डुबेर गलेको र अब ब्याड राख्दा ढिलो हुने किसानको तर्कलाई हामीले बुझिदिन पर्ने हुन्छ । उस्तोमा उत्पादन गर्न पनि अप्ठेरो र खेत बाँझै बस्ने पो हो कि भन्ने चिन्ता जायज छ ।

वर्षा र हावाहुरीका कारण तराइका किसानले पहाडका किसानका तुलनामा बढी क्षती व्यहोरेको अनुमान गर्न सकिन्छ । अर्कोतर्फ पहाडका किसानका खेत नै वर्षाका कारण पहिरोले बगाएको पनि छ । एक पटकको बाली मात्र नभएर पहिरोले खेत नै बगाउँदा भने दीर्घकालीन असर गर्ने नै भयो । बाजुरामा हिजो मात्र पहिरोले गहुँ खेत बालीसहित बगायो । सानासाना खेतबारी नष्ट भएको समाचार नबन्ने भएकोले पहाडको क्षतीको नतिजा आउन सकिरहेको हुँदैन ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १७, २०७८