मङ्लबार, असार ८, २०७८

हाम्रो चाहाना दक्ष जनशक्ति कृषिमा आकर्षित होओस् भन्ने हो : अध्यक्ष निरौला

कोभिड १९ को महामारीकाका कारण विश्व अर्थतन्त्र नै तहस नहस भईरहेका छ । त्यसले नेपाल पनि अछुतो रहन सकेको छैन । त्यसमाथि पनि नेपालको आर्थिक मेरुदण्डको महत्वपूर्ण अंगका रुपमा कृषि क्षेत्र अझ प्रभावित भएको देखिन्छ । कृषि उत्पादन भएर पनि बजारको व्यवस्था सहज हुन सकिरहेको छैन । यस्तो विषम परिस्थितिमा कृषि क्षेत्रमा सवैभन्दा बढी ऋण प्रवाह गर्ने कृषि विकास बैकले कसरी आफूलाई कृषि क्षेत्रको विकासमा अगाडि बढाईरहेको छ त ? कृषि क्षेत्रमा किन लगानी गर्न रुचाउँदैनन् बैकहरु भन्ने विषयमा कृषि विकास बैकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलासँग वैकुण्ठ भण्डारीले गरेको कुराकानीको अंश:

० विगतका दिनमा कृषि विकास बैंकले कृषि क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निभाएको थियो । अहिले कोरोनाको महामारीमा कसरी अघि बढिरहेको छ ?
कृषि विकास बैंकको अहिलेको संरचनागत अवस्था हेर्ने हो भने देशभरि यसको शाखाहरुको उपस्थिति छ । बैकले अहिले पनि पुुगनपुग पचास अर्ब जति प्रत्यक्षा रुपमा नै कृषि क्षेत्रमा लगानी गरेको छ । लगानीलाई हेर्ने हो भने पनि कृषि क्षेत्र नै कृषि विकास बैंकको कारोबार गर्ने मुख्य क्षेत्र हो यसमा द्विविधा रहेन । सेवाग्राहीको आधार पनि हाम्रो बैंकको कृषि क्षेत्रमा नै बढी छ । अहिलको यो महामारीमा पनि कृषि क्षेत्रमा हाम्रो कामलाई सन्तोषजनक नै मान्नुपर्ने हुन्छ । अहिलेको कोरोनाको प्रतिकूल अवस्थामा पनि यही नै हो । अब यसमा पनि हामीले गर्न खोजेको के थियो भने एउटा नमुनाको रुपमा विशेष गरी एभोगाडो भयो, ड्रागन फुड, ओखर लगायत बहुमूल्य कृषि उपजहरु । त्यसैगरी फलफूूलहरुमा पकेट क्षेत्र छनोट गरेर कर्जा प्रवाह गर्ने सोच थियो । ऋणको लागि त्यस्तै खालको खाका बनाएर ऋणको नीति, सम्भाव्यता हामीले बनाइसकेका छौं, बनाइरहेका पनि छौं ।

० तर कृषिमा लगानी गर्न धेरै समस्या छ भन्छन् त ?
अहिलेको महामारीका कारण समस्या आएको हो । विगतमा त्यस्तो लगानी गर्न समस्या नै भने होइन । अहिले यसका जुन बीउहरु हुुन्छन्, बेबी बीउहरु, प्लान्टहरु सानो बीउ धेरै जसोको बाहिरबाट ल्याउनुुपर्ने समस्या रहेछ । जस्तो एभोगाडोको बीउ साउथ अमेरिकाबाट ल्याउनुपर्ने हुँदो रहेछ । ओखरहरुको टर्कीबाट त्यस्तै अन्य विरुवा वा वीउहरु विदेशमा ल्याउनु पर्ने भएकाले रोकिए । यस्ता बीउहरु ल्याउने तरिकाका बारे हामीले हाम्रा ग्राहकहरुलाई जानकारी दिनुपर्ने हुन्छ । अहिलेको समस्या भनेकै बढी मूल्यवान फलफूलका बीउहरु नै आउन सकेका छैनन ।

० अहिले एउटा गुनासो धेरै आउन थालेको छ । सरकारले भने अनुरुपको सहुलियत कृषि किसानले भन्दा पनि ठूला व्यापारीहरुले पाए रे हो ?
समग्र फाइनान्सियल कुरा हेर्दा त्यस्तो भएको छ वा छैन भन्ने कुरा त राष्ट्र बैंक वा सरकारले नै मूूल्यांकन गर्ने कुरा भयो । अब कृषि विकास बैंकको हकमा भन्ने हो भने यस्ता साना कर्जा व्यापारीको लागि काम लाग्ने कुरा भएन । कृषि विकास बैंकले किसानहरुका लागि उपलब्ध गराएको पन्ध्र लाखभन्दा कमका कर्जा जोड्दा नै १ सय ४५ अर्ब जति कर्जा प्रवाह भएको छ । अब यस्तोमा व्यापारीको लागि कर्जा दिइयो भन्न मिल्दैन । कृषि विकास बैंकमा पन्ध्र लाख भन्दा कम कर्जा लिने संख्याले नै झन्डै सत्तरी प्रतिशत कर्जा ओगटिएको अवस्था छ । हामीले उपलब्ध गराएको कर्जालाई हेर्ने हो भने किसानमय छ ठुला व्यापारीको गयो भन्न मिल्दैन । तर पनि यदि त्यस्तो हो भने राष्ट्र बैंक र नेपाल सरकारलाई मात्र थाहा हुने विषय हो । किनकी कर प्रवाहबाट यो कुरा बुझ्न सजिलै सकिन्छ । कृषि विकास बैंकबाट दिइने अनुुदानचाँहि लक्षित वर्गबाहेक अन्यले पाएका छैनन् । त्यो सम्भव नै छैन । म यहाँलाई यो कुरा विश्वास दिलाउन चाहान्छु ।

० कृषि विकास बैंकले बाणिज्य बैंकसँग प्रतिस्पर्धा हुन थालेपछि कृषि क्षेत्रलाई भन्दा अन्य क्षेत्रमा ऋण प्रवाह गर्यो भन्ने आरोप पनि छ ?
हो, यो आरोपचाँहि बेठिक हो भन्न म सक्तिन । तापाईंले उठाउनुभएको कुरा उचित हो । पहिलेपहिले कृषि क्षेत्रकै लागि ९० प्रतिशत कर्जा गएको थियो । अहिले कृषि क्षेत्रको नाममा ३५–३६ प्रतिशत मात्र कर्जा लिइएको छ । तपाईंले भनेको कुरा सही हो हिजो कृषि विकास बैंक कृषि विकास बैंक थियो । आज कृषि विकास बैंक बाणिज्य बैंक हो । अन्य बैंकहरु सरह प्रतिस्पर्धा गर्नुपर्ने, अन्य बैंकहरुसरह चल्नुुपर्ने, यसको सेयर संरचना पनि फेरिएको छ । एकाउन्न प्रतिशत सरकारको लगानी छ भने उनन्पचास प्रतिशतचाँहि नागरिकको रहेको छ । त्यसैले वाण्ज्यि बैंक भएको नाताले व्यापारिक गतिविधि बढ्दै गयो । तर कृषि क्षेत्रलाई जुन टेवा पु¥याउने हिजोको लक्ष्य थियो त्यो चाँहि व्यापारिक गतिविधि र अन्य बैंकसँगको प्रतिस्पर्धाले पछि परेको सत्य हो । सुुरुवातको दिनमा हामी बाणिज्य बैंक थिएनौं तर, आजचाँहि हामी बाणिज्य बैंक भयौं त्यसैले यस्तो भएको हो । कृषिकै लागि मात्र यसलाई राख्नलाई त कि बाणिज्य बैकका रुपमा चलाउन भएन । नभए प्रतिस्पर्धी बैंक भएपछि यी चीज त भइनै हाल्छ । यसको संरचना फेरिने क्रममा कृषिलाई मात्र प्राथमिकता गर्ने गरी नराखिएको हुनाले अब त्यो संभावना पनि छैन ।

० कृषि विकास बैंक वाणिज्य बैंक भइसकेपछि पनि ३५ प्रतिशत कर्जा कृषिमा गर्न कसरी सम्भव भयो त ? अन्य बैंकहरुले राष्ट्र बैंकले तोके बमोजिम दस प्रतिशत अनिवार्य पनि लागू गरेको देखिँदैन ।

हामी कृषि क्षेत्रमा लगानी गर्नलाई भागेका होइनौं । अन्य क्षेत्रलाई बढावा दिने र कृषि क्षेत्रलाई नाश गर्ने भन्ने होइन । हामी कृषि क्षेत्रमा कसरी लगानी गर्ने भन्नेमा धेरै अनुसन्धानमा छौं । हाम्रो आन्तरिक रणनीतिमै कृषि कर्जा उल्लेख छ । कृषि प्रणालीलाई आधुनिकीकरण गर्न के के गर्न सकिन्छ भनेर हामी खोज गरिरहेका छौं । हामीले अघि नै तयार गरेको संरचनाले पनि कृषि क्षेत्रमा धेरै ऋण दिन सकेका हौं । त्यसकारण पनि हामी अघि बढेका छौ साउनसम्ममा लागु हुनेगरी नेपालमा जति पनि कृषि प्राविधिक छन् । जो कृषिविज्ञ छन् उनीहरुलाई विनाधितो ऋण दिने व्यवस्था मिलाउने कि भन्नेमा हामी छलफलमा छौं । संभवतः भदौसम्म लागू हुन पनि सक्ला । निर्णय भएको छैन । हाम्रो चाहना दक्ष जनशक्ति कृषिमा आकर्षित होओस् भन्ने हो ।

० एकातिर कृषिमा लगानी भन्ने अर्कोतिर ऋणका लागि अन्य क्षेत्रको प्रचार गर्नुलाई कसरी बुझ्ने त ? यसलाई प्रचारमुखि भयो भन्दा के हुन्छ ?
त्यसरी बुझ्नु हुँदैन । हामी प्रचारमुखी भएको होइन । विजनेससँग सम्बन्धित भएर सबै बैंकले आफ्नो काम गर्नै पर्ने भयो । त्यसमा कसरी कर्जा प्रवाह गर्ने भन्ने रणनीति हुने नै भए । नाफाका कुरा पनि आइनै हाल्छ । सर्वसाधारणको लगानी भएपछि बैंक नाफामा हुनै प¥यो । कर्जा प्रवाहको रणनीति अनुसार नै काम गरिएको हो प्रचारमुखी भएको भन्न मिल्दैन ।


० नेपालका बाणिज्य वैकहरु मध्ये सवैभन्दा बढी ३५ प्रतिशत कृषि क्षेत्रमा लगानी भइरहँदा कृषि विकास बैंक कृषि क्षेत्रमै सक्रिय रहेछ है भन्ने प्रभाव देखिएन वा चासोको विषय भएन ?

होइन, चासोको विषय भएको छ । गाउँमा धेरै मान्छेलाई त बरु यो थाहा छैन कि कृषि विकास बैंकले कृषि बाहेकका क्षेत्रमा ऋण दिन्छ भन्ने । हाम्रो जति पनि गाउँहरुमा सर्भिस सेन्टर छन् ती सेन्टरबाट हाइड्रोको क्षेत्रमा, निर्माणको क्षेत्रमा, हस्पिटलको क्षेत्रमा, स्कुल बनाउने कुरामा पनि कृषि विकास बैंकले कर्जा दिन्छ र ? भन्ने प्रश्नहरु म सुनिरहेको हुन्छु । हाम्रो बैंकले त्यसैले अन्य क्षेत्रमा दिने कर्जालाई प्रचार र चासे दिनु परेको हो । तसर्थ कृषि क्षेत्रको लगानीप्रति गाउँगाउँमा हाम्रो बैंकप्रति चासो छ । सहरी क्षेत्रका मानिसले र पढेलेखेका मान्छेले पनि कृषि विकास बैंक भनेको कृषिमा मात्र लगानी गर्ने बैंक हो भनेर बुझिराखेको अवस्था छ । त्यसैले पनि अहिलेको अवस्थामा हामी वाणिज्य बैंक हौं भन्ने कुरा बुझाउन पनि बल प्रयोग गर्नु परेको छ ।

० गत वर्ष लकडाउन भए पछि विदेशबाट फर्केका युवाहरु र सर्वसाधारणको रोजाई कृषि क्षेत्र रहेको थियो । समय बित्यो फेरि निषेधाज्ञामा यही कुरा उठेको छ ? के कमजोरीका कारण कृषि क्षेत्रमा लगानी भएको छैन ?

ठूलाखाले कृषि फार्म सञ्चालनमा लगानी गर्न हाम्रा बैंकहरु डराउँछन् । कृषि विकास बैंक पनि डराउँछ । किनकी हाम्रो बैंकहरुले कर्जा प्रवाह गर्न पोलिसी चाहेका छन् । त्यो हामीकहाँ छैन । यदि दुई सिजनसम्म प्रतिकूल मौसमका कारण फार्महरुले कर्जा प्रवाह गर्न नसकेको खण्डमा त्यसको विकल्प के ? राज्यले यसबारे सोचिदिनुपर्छ । यो कुरा मैले पटकपटक उठाएको पनि छु । कृषि कर्म भनेको दुई महिनाको बालकलाई स्याहार गरे जस्तो हो । थोरै बढी घाम लागे पनि प्रतिकूल, कहिले पानी नपरे अनुकूल, कहिले पानी परे प्रतिकूल हरेक कुरा छन् । यदि एउटा किसानलाई करोडौं ऋण ठूला फार्म खोल्न दिने हो भने प्रतिकूल मौसममा कर्जा प्रवाहको विकल्पको नीति हामीकहाँ छैन, त्यो ल्याउनु पर्दछ । त्यसैले व्यावसायिक हिसाबले ठूला फार्म खोल्नको लागि लगानी गर्न बैंकहरु डराउँछन् । त्यसमा सुरक्षाको नीति बनाउनु पर्छ । जसले बैंकहरु लगानी गरुन् । नीतिगत सहजीकरण हुने हो भने त्यस्ता ठूला फार्महरु खुल्न सक्छन् । हामीकहाँ नीति नै बनेको छैन कि त्यस्ता ठूला फार्मले दुई वर्ष कर्जा प्रवाह गर्न नसकेको खण्डमा जिम्मेवार को हुने भनेर । यो कुरा मैले धेरैपटक उठाइसकें । नीति नबनेसम्म बैंक कृषिमा आकर्षित हुँदैनन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १२, २०७८