शनिबार, कार्तिक ६, २०७८

सप्तरीको चन्द्रनहर जीर्ण हुँदा सिचाइबाट बञ्चित भए किसान

सप्तरी । सप्तरीस्थित देशकै सबैभन्दा पुरानो चन्द्रनहर अतिक्रमणमा परेको छ । साथै आवश्यक मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ ।

सरकारले सिँचाइका लागि पर्याप्त ध्यान नदिएका कारण सप्तरीस्थित ऐतिहासिक यो नहर जीर्ण अवस्थामा पुगेको हो । चन्द्रनहरको वरिपरिका बासिन्दाले नै अतिक्रमण गरेपछि चन्द नहर प्रतिदिन जीर्ण बन्दै गएको हो । नहरको डिलमा मानिस घर बनाउनेदेखि लिएर विभिन्न घरेलु समानहरु राखेर अतिक्रमण गर्ने गरेका छन् । साथै नहरमा थोरै पानी आउने समयमा पनि सिँचाइको लागि विभिन्न ठाउँमा भत्काउँदा समेत नहर अतिक्रमित भएको महादेवा गाउँपालिका वडा नं १ का स्थानीय राधेश्याम यादवले बताए ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९८० मा निर्माण गरेको नहरले जिल्लाको कुल ११ हजार हेक्टर जग्गामा सिँचाइको क्षमता छ । नहरको मर्मत सम्भार नहुँदा एक दशकदेखि कुल क्षेत्रमध्ये आधा भागमा मात्र सिँचाइ हुने गरेको पाइएको छ । वर्षा याममा आउने बाढीबाट विभिन्न ठाउँमा वर्सेनि नहर भत्किने गरेकोमा त्यसको पनि मर्मत हुने गरेको छैन । नरह मर्मत हुन नसक्दा सिँचाइ सुबिधाबाट यहाँका किसान वञ्चित भएका छन् ।

विसं २०७३ मा आएको भीषण बाढीले जिल्लाको सुब्बाटोल, वुधेवा, महुली, गंगाजली, मैनाकडेरी, बढहरा लगायत एक दर्जन स्थानमा नहर भत्किएको थियो । नहर मर्मतका लागि अहिलेसम्म रु नौ करोड खर्च गरिएको भए पनि त्यो रकम अपुग भएको कोशी पम्प चन्द्र नहर डिभिजन कार्यालयले जनाएको छ ।

डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत् सरकारी बजेट खर्च गरेपनि मर्मत सम्भारको कार्य गुणस्तरीय हुन नसकेको आरोप छ । सिँचाइ क्षेत्रमा सरकारले उचित लगानी गर्न नसकेका कारण आयोजनाहरु अलपत्र र जीर्ण अवस्थामा रहेको पाइएको छ । मङ्सिर र पुसमा लगाइएको गहुँ बालीलाई पानी चाहिएको भए पनि अहिले चन्द्रनहर वरपरका किसानहरुलाई नै समस्या परेको स्थानीय किसान महेन्द्र यादवले गुनासो गरे ।

उनी भन्छन् ‘‘हामीले खेतीको समयमा पनि यस चन्द नहरबाट पाउनुपर्ने सुबिधाबाट वर्सेनि वचित भएका छौँ । यो समस्या हामीलाई मात्रै होइन सप्तरीको पूर्वी तथा उत्तरी भेग र पुछारका हजारौँ किसानको रहेको छ । यसप्रति सिँचाइ डिभिजन र नेपाल सरकारले समेत ध्यान नदिएका कारण किसानहरु चर्को मूल्य तिरेर सिँचाइ गर्नुपरेको छ ।’’

चन्दनहर सिँचाइ योजना गतवर्षको बाढीको कारण विभिन्न ठाउँमा भत्किएर जीर्ण अवस्थामा रहेको भएपनि बजेट अपुग भएका कारण मर्मत र उचित सिँचाइ सुविधा उपलब्ध गराउन गाह्रो भएको कोशी पम्प चन्द्र नहर डिभिजन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद साहले बताए । सप्तरीमा कूल ८३ हजार २३० हेक्टर कृषियोग्य जग्गा छ ।

यसमध्ये ४५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यले योजनाहरु सञ्चालन भए पनि २८ हजार ६२४ हेक्टरमा मात्र सिँचाइ भइरहेको छ । यहाँ विगत करिब दश वर्षदेखि सिँचाइको अभाव र निरन्तरको खडेरीका कारण सरदर ५५ देखि ६० हजार हेक्टरमा मात्र धान खेती हुने गरेको छ । यसका कारण उत्पादन तल झरेको कृषि ज्ञान केन्द्रको भनाई छ ।

सप्तरीको पुर्वी भेग पकरी,सोनरा, चिमटी,कजौली,तोपा, मंसापुर, भगवतपुर, महादेवा, बथनाहा, इनर्वा, भारदह, चक्ला, गाउँहरुमा चन्द्र नहरको आशामा हजारौं हेक्टर जग्गामा गहुँ खेती लगाउने गरेकोमा प्रत्येक वर्षायाममा समेत पानी नपाएका कारण कृषकहरु चर्को मूल्यमा डिजल तथा विद्युतीय प्रणालीबाट सिँचाइ व्यवस्था मिलाउने गरेका छन् । सप्तरीका दुई सिँचाइ आयोजना कोशी पम्प नहर र चन्द्र नहरलाई व्यवस्थित गर्न सके सिँचाइको सुबिधा सजिलो हुने छ । साथै सप्तरीको विकासको लागि कृषि क्षेत्रलाई प्रमुख रुपमा राखेर आधुनिकीकरण गरी उत्पादन क्षमतामा वृद्धि गर्नुपर्ने देखिन्छ ।

झण्डै एक सय वर्ष अघि बनेका चन्द् नहरको विविध ठाउँका पुलमा सिमेन्टको प्रयोग गरेको देखिँदैन । ती पुलहरु पनि जीर्ण बन्दै गएका छन् । जिल्लाको कञ्चनपुर, बरगाँछी, चाँदनी चोकमा रहेका चन्द्र नहरका पुल एक शताब्दी पुग्न लागेका छन् । त्रियुगा नदीको पानी फत्तेपुरबाट नहरमा पठाइने यो चन्द्नहरले सप्तरी जिल्लाको ठूलो क्षेत्रमा सिँचाइ सुविधा पुर्याइराखेको छ । अहिले भने विभिन्न ठाउमा नहर जीर्ण छ, जसका कारण सिँचाइमा कठिनाइ भइरहेको देखिन्छ । यो नहर विसं १९८५ मा निर्माण शुरू भई १९८९ मा तयार भएको थियो ।

नेपालका पहिलो सिभिल इञ्जिनियर डिल्लीजंग थापाले श्री ३ चन्द्रशमशेरको पालामा सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा देशको पहिलो सिँचाइ परियोजना चन्द्रनहर निर्माण थालेको थियो । प्रतिसेकेण्ड चौध घनमिटर पानी प्रवाह गर्ने क्षमताको करिब ३१ किलोमिटर लामो सो नहरबाट १० हजार ५०० हेक्टर जमीनमा सिँचाइको क्षमता छ तर त्यो क्षमता अनुसारको पानी यति बेला प्रवाह हुन सकेको छैन । त्रियुगा नदीमा बाँध बाँधेर निर्माण गरिएको नहरमा त्यसबेला सिमेन्ट प्रयोग गरिएको थिएन र पाको इँटको धूलो, चुन र मास मिसाई बनाइएको बज्र प्रयोग गरी बाँध बनाइएको स्थानीयवासीको भनाई छ । – देवरामप्रसाद यादव

प्रकाशित मिति: सोमवार, माघ १९, २०७७