सोमवार, अशोज ४, २०७८

किसानलाई सँधै सताउने झिमरुक नदी नियन्त्रण भएपछि किसानमा खुशी

प्यूठान । प्यूठानमा वर्षौंदेखि खेतीयोग्य भूमि नष्ट गरी कृषकलाई सताइरहेको झिमरुक नदी नियन्त्रण हुँदै गएको छ ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारको योजनाअन्तर्गत नदी नियन्त्रणको काम थालिएको हो । नदी नियन्त्रण हुँदै गएपछि कृषक खुशी भएका छन् । नदीले कटान गरी उच्च जोखिम रहेका गौमुखी, ऐरावती, झिमरुक गाउँपालिका र प्यूठान नगरपालिकामा तटबन्ध गरी नदी नियन्त्रण गरिएको छ । नदी नियन्त्रणको कामले खेतीयोग्य भूमि संरक्षण हुँदा समस्या टरेको प्यूठान नगरपालिका–७ टिकुरीका कृषक रामप्रसाद पोख्रेलले बताए । “खेतीयोग्य जमिनसँगै निर्माणाधीन बसपार्कसमेत सुरक्षित भएको छ”, उनले भने “खोला नजिक रहेको आफ्नो बगर खेत सुरक्षित हुने भएपछि खुशी लागेको छ ।”

खेतीयोग्य भूमिमात्रै होइन जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत बाढीको जोखिमबाट केही समयलाई टरेको स्थानीयवासी बताउँछन् । झिमरुक कोरिडोरको सडक र बाग्दुला बजारको जोखिमलाई नदी नियन्त्रणले बचाउने प्रयत्न भएको स्थानीय शिवराज पण्डितले जानकारी दिए । “उर्वर भूमिसँगै झिमरुक नदी किनारको सडक र बाग्दुलाको जोखिम बजारलाई समेत संरक्षण भएको छ”, उहाँले भन्नुभयो, “केही बाँकी रहेका ठाउँबाट पनि नियन्त्रण गर्न सके केही वर्षका लागि ढुक्क हुने थियो ।”

वर्षौंदेखि खेती गर्दै आएको र ऋण लिएर खेत किनेका कृषकलाई पीडा दिइरहने झिमरुक फाँटको यस आर्थिक वर्षमा एक किमी ३९० मिटर लम्बाइमा नदी नियन्त्रण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्यूठानका प्रमुख दामोदर सापकोटाले जानकारी दिए। त्यसमध्ये हालसम्म गौमुखी, झिमरुक, ऐरावती गाउँपालिका र प्यूठान नगरपालिकाको भागमा तटबन्धको काम यस आवमा भएको हो ।

चालू आवमा गरेको तटबन्धसहित झिमरुक नदीमा करिब २० किलोमिटरमा नदी नियन्त्रण भइसकेको उनको अनुमान छ । गत वर्ष नदीले खेतीयोग्य भूमि कटान गरेपछि नियन्त्रणका लागि करिब रु ३५ करोडको लागत अनुमान गरिएको थियो । त्योमध्ये रु ११ करोड १० लाखमात्र प्राप्त भएको हो । सबै स्थानमा नियन्त्रण गर्न नसक्दा यस वर्ष पनि कटानको जोखिम भने रहेको छ । बाँकी स्थानमा आगामी वर्षमा तटबन्ध गरिने सापकोटाले बताए ।

चालू आवमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सशर्त बजेट रु एक करोड १० लाख र पुनः विपद् कोषको रु १० करोड गरी रु ११ करोड १० लाखमा नदी नियन्त्रणको काम गरिएको हो । बजेटबाट गौमुखी गाउँपालिकाको रामफेदी, कैराफेदी, ठूलाबेँसी, झिमरुक गाउँपालिकाको मच्छी, पिडाल्ने, लामसेरा, बालुवाफाँट, तुसाराफाँट, ऐरावती गाउँपालिकाको खम्चीफाँट, नब्बेफाँट, चुनाहाफाँट, समुन्द्रफाँट, कैरन, बरौला, सरङबेँसी र प्यूठान नगरपालिकाको दम्दी, गुरीगाउँ, मरन्ठाना, खप्रेङ्खोला, बाग्दुला, टिकुरी, सत्तरीफाँट, बिजुवार, क्वाडी र खैराको क्षेत्रमा नदी नियन्त्रणको काम गरिएको हो । योजनाहरु प्राकृतिक प्रकोप नियन्त्रण समितिले छनोट गरेका स्थानमा भएको प्रमुख सापकोटाको भनाइ छ ।

खेतीयोग्य भूमि नासिने समस्या भइरहेका कारण प्यूठान नगरपालिकाले नदी नियन्त्रणलाई प्राथमिकता दिएको छ । चालू आवमा रु एक करोड बजेटमा प्यूठान नगरपालिको झिमरुक नदी नियन्त्रणको काम गरेको प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । खैरा र दाखाक्वाडी क्षेत्रमा २३५ मिटर नदी नियन्त्रण गरिएको उनको भनाइ छ । कृषि÷रासस

प्रकाशित मिति: शनिबार, जेष्ठ २४, २०७७