सोमवार, अशोज ४, २०७८

नेपालमा शहरी कृषिको बर्तमान अबस्था र आगामी कार्यदिशा

शहरी कृषि शहरमा बढ्दो जनसंख्याको माग अनुरुपको ताजा तथा स्वस्थकर उपज उपभोगको चाहनालाइ संबोधन गर्न विकास भएको खेती प्रविधि हो । विश्वमा यस किसिमको प्रविधिको अबलम्वन विषम परिस्थितिमा शहरी बासिन्दाका माग अनुरुपमा स्वस्थकर कृषि उपज उत्पादन गरी खाद्य तथा पोषण सुरक्षाको प्रत्याभुत गर्न अबलम्बन गरिएको पाइन्छ । युद्द  तथा समय समयका विभिन्न किसिमका महामारी तथा अन्तराष्ट्रिय परिवेशवाट सिर्जित अबस्थावाट उत्पन्न भएको वा हुनसक्ने खाद्यबस्तुको अभाबलाइ परिपूर्ति गर्ने लक्ष्यका साथ विश्वका विकासशिल तथा विकसित राष्ट्रले शहरी क्षेत्रमा बढ्दो जनसंख्याको चाप संगै यस किसिमको प्रविधिलाइ परिमार्जन गरी अबलम्वन गरेको पाइन्छ । शहरी कृषिको क्षेत्रमा अत्याधिक चिनी उत्पादन हुने देश क्युवाको   चिनिको निर्यातमा अमेरिकाले लगाएको प्रतिबन्ध पछि क्युवाले  आर्थिक अभावको कारणवाट भोगेको खाद्यान्न संकट समाधान गर्न अबलम्बन गरेको मोडललाइ  विश्वभर उत्कृष्ट तथा दीगो शहरी कृषिको मोडेलको रुपमा लिने गरिएको छ ।

नेपालको अबस्था

नेपालमा पछिल्लो समयमा तिब्र शहरीकरणको प्रबृति बढ्दै गएको पाइन्छ । शहरीकरण संगै फलफूल तरकारी तथा दुध र माछामासुजन्य उपजको माग शहरमा बढ्न जानाले गर्दा विगत पाँच सात बर्षवाट नेपालको शहरी भूभाग आसपासका क्षेत्र तथा शहरभित्र ब्यवसायिक फलफूल तरकारी तथा दुध र मासुजन्य उत्पादनका कार्यहरु वढ्दै गएको पाइन्छ जसले गर्दा शहर र आसपासका क्षेत्रमा रोजगारीको समेत बृद्दि गरेको प्रत्यक्ष देख्न सकिन्छ । काठमाण्डौ उपत्यकामा मात्र बसोवास गर्ने ४० लाख भन्दा वढी जनसंख्याको तरकारीको खान सिफारिस ३२५ ग्राम प्रतिदिन प्रतिब्यक्तिका दरले हिसाव गर्ने हो भने दैनिक १३०० मे टन भन्दा वढी तरकारीको माग रहेको देखिन्छ । जसको फलस्वरुप उपत्यका भित्रका अधिकांश भूभागमा ब्यवसायिक तरकारी खेतीले ब्यापकता पाएको देख्न सकिन्छ । हालको कोरोना महामारीका कारण भविश्यमा आउने खाद्यसंकट समाधान गर्न समेत शहरी तथा आसपासको क्षेत्रको खेती  उपयुक्त माध्यम हुन सक्ने देखिन्छ ।

शहरी खेतीका प्रकारहरु

शहरी खेती प्रविधिमा बिश्वमा धेरै प्रविधिहरु विकास भएको पाइन्छ । ति देशहरुले उपभोक्ताको माग तथा उपलब्ध जमिन लगायतका स्रोत साधन परिचालन गरी  पर्याप्त स्वस्थकर उपज उत्पाद गर्न सस्ता तथा दीगो प्रविधि देखी लिएर तले प्रणालीमा आधारित महंगा प्रविधि अबलम्बन गरेका पाइन्छन् । शहरी खेतीका प्रकारलाइ निम्न तीन समूहमा बर्गीकरण गर्न सकिन्छ

ब्यवसायिक

यस किसिमका प्रविधिहरु ब्यवसायिक रुपमा कृषि उपज तथा माछामासुजन्य उपज उत्पादन गर्न शहर वा नजिकको ठुला क्षेत्रमा ब्यवसायिक फार्म मार्फत  खेती गर्न प्रयोग गरिने प्रविधिहरु पर्दछन् ।यस्ता प्रविधिले रोजगारी सिर्जनामा उल्लेख्य योगदान दिएतापनि  लागत तथा बातावरणीय र सामाजिक दीगोपनाका हिसवाले त्यति उपयुक्त देखिदैन ।

अर्ध ब्यवसायिक

यस्ता खाले प्रविधिमा सानो लागतमा केही रोपनी जग्गामा स्थापना गरिएका कृषि तथा पशुपन्छीजन्य उपज उत्पादनका कार्यहरु पर्दछन् । यिनिहरुले केही मात्रामा रोजगारी तथा आय आर्जनमा टेवा दिने तथा  दुइ तिन बर्ष भित्रमा लागत फिर्ता गर्न सक्ने क्षमता भएका प्रविधिहरु हुन् । यिनिहरुले शहरी बातावरण सुधारमा केही मात्रामा योगदान पुर्याउँदछन् ।

 सानो क्षेत्रमा आधारित

यस्ता खाले प्रविधि प्राय गरेर घरपरिवारले आफ्नो दैनिक आबश्यकताको केही मात्रा स्वस्थकर तथा ताजा तरकारी उपभोग पुरा गर्न करेसावारी बरण्डा तथा कौसीमा अबलम्बन गरिएका प्रविधि हुन्  । यस्ता प्रविधि शहरी फोहरमैला ब्यवस्थापन तथा सुन्दरता कायम गर्न सक्ने तथा कम लागतमा आधारित प्रविधि हुन् जसले आर्थिक सामाजिक र बातावरणीय पक्षको सुधारमा ध्यान दिएका पाइन्छ ।

 

शहरी कृषिका दीगोपनका पक्षहरु

शहरी कृषिको दीगोपनालाइ हामीले अबलम्बन गरेका प्रविधिको आर्थिक,सामाजिक र वातावरणीय पक्षले प्रभाव परेको हुन्छ । बर्तमान विश्वको आबश्यकता भनेको आर्थिक रुपवाट उत्पादनशिल, सामाजिक रुपवाट खाद्य तथा पोषण सुरक्षामा टेवा दिइ संकट समाधान गर्ने, तथा बातवरणीय रुपवाट स्थानिय स्रोत र सामाग्रीको प्रयोग गरी दीगो कृषि बिकास गर्नु रहेको सन्दर्भमा विश्वमा शहरी कृषिलाइ दीगो कृषिको आयामको रुपवाट हाल अध्ययन अनुसन्धानहरु भइरहेका छन् ।

         नेपालको बर्तमान अबस्था

नेपालमा विगतमा शहरी कृषिमा सरकारी निकायवाट खासै प्रयासहरु नभएतापनि महानगरपालिका तथा उपमहानागरपालिका हरुले शहरी कुहिने फोहरमैलाको ब्यवस्थापनबाट शहरी हरियाली कायम गर्न शहरी कृषिमा कार्य गरेको पाइन्छ । विगत एक दुइ बर्षवाट सरकारी निकायहरुवाट समेत शहरी क्षेत्रमा कृषि ब्यवसायको लागि अनुदान, सामाग्री तथा प्रविधि सहयोगका कार्यमा ब्यापकता दिइरहेको पाइन्छ । नेपालको शहरी कृषि बर्तमान अबस्थामा ब्यवसायिक र साना क्षेत्रमा घरायसी उत्पादनमा आधारित गरी २ किसिममा केन्द्रित रहेको देखिन्छ । बर्तमान सन्दर्भमा शहरी फोहरमैलाको ब्यवस्थापनवाट कम लागतमा स्वस्थकर उपज उत्पादन गर्न सकेमा मात्र पनी सामाजिक आर्थिक र वित्तिय रुपले शहरी कृषिको दीगोपना कायम राख्न सकिने देखिन्छ । काठमाण्डौ उपत्यकामा मात्र  ६० देखी  ७० प्रतिशत सम्म कुहिने फोहरको ब्यवस्थापन गरी स्वस्थकर उपज उत्पादन गर्न सकेमा मात्र पनि राज्यको ठुलो रकम फोहरमैला ब्यवस्थापनमा बचत हुनाको साथै उपत्यकामा मागको २५ प्रतिशत सम्म ताजा सागपातजन्य तरकारी तथा केही मात्रामा फलफूल तथा दुध र मासुको आपूर्ति वढाउन सकिने संभाब्यता देखिन्छ । तर यसका लागि विभिन्न निकायले ब्यवसायिक शहरी कृषि र साना शहरी कृषिका प्रकारको बर्गीकरण गरी सोही अनुरुप प्रविधि विकास तथा प्रचारका कार्यहरु गर्न जरुरी देखिन्छ जसले हालको बर्तमान अबस्थामा देखा परेको महामारी बाट सिर्जना हुनसक्ने खाद्य संकट समाधान गर्न टेवा पुर्याउनाका साथै आय र रोजगारी बृद्दिमा टेवा पुर्याउन सक्दछ ।

क्र सं  प्रकार  आबश्यक सहयोग
ब्यवसायिक शहरी कृषि  आबश्यक पर्ने उत्पादन  सामाग्रीमा नीतिगत सहजीकरण,  प्रविधि विकास तथा प्रविधि अबलम्बनमा सहयोग , क्षमता अभिबृद्दि, वितिय सहजीकरण,बजारीकरणमा सहजीकरण
साना शहरी कृषि घरधुरीको क्षमता अभिबृद्दि, आबश्यक वीउ बेर्ना  नश्ल लगायतका गुणस्तरीय उत्पादन सामाग्रीको लागि स्रोत केन्द्र विकास,  नियमित अनुगमन तथा प्राविधिक सहयोग

 

 

उपरोक्त प्रकारका शहरी कृषिको विकासका लागि विभिन्न क्षेत्रले निम्न लिखित भूमिकाहरु खेल्न जरुरी देखिन्छ

क्र सं   संलग्न निकाय  भूमिका   सहयोगी निकाय
महानागरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका आफ्नो क्षेत्रभित्रका ब्यवसायिक तथा साना कृषकहरुको अभिलेख तयारी, नीति निर्माण तथा बातावरण मैत्री प्रविधि अनुसरणमा सहयोग कृषि ज्ञान केन्द्र
फार्म केन्द्रहरु  गुणस्तरीय वीउ, बिरुवा तथा नश्ल आपूर्ति, प्राविधिक सेवा तथा प्रविधि प्रदर्शनी  राष्ट्रिय केन्द्र
 नेपाल कृषि अनुसन्धान परिषद्  सस्तो तथा दीगो प्रविधि विकास तथा परिक्षण कृषि तथा पशुपन्छी विकास मन्त्रालय
 प्रादेशिक  कृषि तथा सहकारी मन्त्रालयहरु प्रविधि अनुसरणमा नीतिगत तथा वित्तिय सहजीकरण ,बजारीकरणमा समन्वय र सहयोग कृषि तथा पशुपन्छी विकास मन्त्रालय
कृषि ज्ञान केन्द्रहरु प्राविधिक सेवा टेवा तथा सहजीकरण प्रादेशिक  कृषि तथा सहकारी मन्त्रालयहरु
 संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालय नीतिगत सहजीकरण, अन्तर्निकाय समन्वय  अर्थ मन्त्रालय तथा बाणिज्य मन्त्रालय
वित्तिय संस्थाहरु कृषि कर्जा प्रवाह अर्थ मन्त्रालय
नीजि सेवा प्रदायक कम्पनीहरु  गुणस्तरीय उत्पादन सामाग्री आपूर्ति स्थानिय निकायहरु
उत्पादकहरु दीगो तथा लागत प्रभावी प्रविधि अबलम्बन स्थानिय निकायका कृषि शाखाहरु

 

निश्कर्ष

शहरी कृषि शहरको हरीयाली प्रबर्धन, बातावरण प्रदुषण नियन्त्रण तथा  संकटका समयमा आइपर्ने खाद्य तथा पोषण सुरक्षाको लागि  उपयुक्त प्रविधि हो जसले शहरमा माग हुने कृषि उपजको केही मात्रामा परिपूर्ति गर्दछ । शहरी र शहर बरपर गरिने ब्यवसायिक तथा साना क्षेत्रमा गरिने खेतीपातीका कार्यहरु शहरी कृषिभित्र पर्दछन् । तसर्थ हामीले आफ्नो परिवेश, माग तथा देशको अबस्थालाइ विचार गरी यस प्रविधिलाइ संकट समाधानको दीगो प्रविधिको रुपमा अबलम्बन गर्न बेलैमा बहुपक्षीय सहकार्य र समन्वय गरी भविश्यमा हुनसक्ने खाद्यसंकट समाधानमा ध्यान दिन आ आफ्नो तर्फवाट प्रयासहरु गर्न जरुरी देखिन्छ । (लेखक हाल युनिभर्सिटि अफ साउथ अष्ट्रेलियामा शहरी कृषिमा विद्यावारिधि गर्दै छन्) 

प्रकाशित मिति: शनिबार, जेष्ठ २४, २०७७