बुधबार, बैशाख १२, २०८१

किसानको ६ अर्ब कमाइ संकटमा ,कसले बुझ्ने किसानको दुख

काठमाडौं । मुलुकभरका झन्डै ३० लाख किसानले ६ महिनादेखि दूधको पैसा पाएका छैनन् । करिब ६ अर्ब रुपैयाँ भुक्तानी नपाउँदा धेरै किसानको रोजीरोटी खोसिने र उनीहरू पेशाबाटै पलायन हुने खतरा दिनप्रति दिन बढ्दै गईरहेको छ ।

दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष अमरबहादुर कुँवरका अनुसार देशभरि गरेर १ हजार ८५७ दुग्ध उत्पादक सहकारी छन् । ‘सहकारीले किसानको दूध किनेर डीडीसी, डेरी उद्योगहरूलाई दिएको हुन्छ तर त्यसरी दिएको दूधको भुक्तानी नपाउँदा किसान समस्यामा छन् । झन्डै साढे ६ अर्ब रुपैयाँ भुक्तानी हुनसकेको छैन’ कुँवरले भने, ‘किसानले घरमा पालेको गाईभैंसीलाई ढुटो, चोक्कर, घाँस खुवाउन नसक्ने अवस्था आइसकेको छ ।’

कुँवरका अनुसार डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएसन र दुग्ध विकास संस्थान ९डीडीसी० ले किसानलाई भुक्तानी दिन बाँकी छ । ‘हामीसँग किनेको दूधको उत्पादन बिक्री नभएको भन्दै किसानलाई भुक्तानी नदिंदा समस्या भइरहेको हो’, कुँवरले भने ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्रप्रसाद यादवले फरक–फरक ठाउँको भुक्तानी माग फरक हुँदा यति नै रकम दिन बाँकी छ भन्न सकिने अवस्था नभएको बताए । ‘किसान, दुग्ध सहकारीले ७ अर्ब भुक्तानी दिन बाँकी छ भन्छन् तर हामीले सरोकारवालासँग छलफल गर्दा ५ अर्ब जति भुक्तानी दिन बाँकी रहेको अनुमान गरेका छौं’, यादवले अनलाइनखबरसँग भने । दुग्ध विकास बोर्डका अनुसार, मुलुकभर ३० लाख किसान दूध उत्पादनमा संलग्न छन् ।

नेपाल डेरी एशोसिएसनले दूध उत्पादन र दुग्धजन्य खाद्य पदार्थको स्टक पहिलोचोटि यति ठूलो समस्याका रूपमा देखिएको बताउँदै आएको छ । एशोसिएसन अध्यक्ष प्रह्लाद दाहाल भन्छन्, ‘हाल ५ अर्बभन्दा धेरैको सामान स्टक रहेका कारण डेरीले किसानलाई पैसा दिन नसकेका हौं ।’

एशोसिएसनका अनुसार दूध उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, शहरबाट मानिस विस्थापित, आर्थिक मन्दी लगायत कारण छन् । नेपालमा भन्दा भारतमा दूध सस्तो हुँदा सीमावर्ती नाका भएर दूध भित्रिएर पनि नेपाली दूधको बजार घटेको हो ।

एशोसिएसनका अनुसार अहिले मुलुकमा दैनिक ३३ लाख लिटर दूध उत्पादन हुन्छ । जसमध्ये २७ लाख लिटर खपत हुन्छ भने ५ लाख लिटर बढी दूधको दुग्धजन्य पदार्थ उत्पादन गर्नुपर्ने हुन्छ । तर, त्यसको पनि खपत नभएपछि डेरी उद्योगहरूले किसानलाई सहकारी मार्फत उठाएको दूधको भुक्तानी गर्न सकेका छैनन् ।

डीडीसीले बजारमा दूध उपभोक्ता घटेकाले किसानको रकम भुक्तानीमा समस्या रहेको बताउँदै आएको छ । डीडीसीका एक कर्मचारीका अनुसार करिब १ अर्ब २२ करोड मूल्य बराबरको दूध उत्पादन स्टक भएर बसेको छ । ‘किसानसँग किनेको दूधको परिकार बनाएर बजारमा पठाएको वस्तु बिक्री नहुँदा हाम्रो पूँजी त्यहीं रोकिएको छ, त्यसैले गर्दा किसानलाई दिने भुक्तानी रकम रोकिएको हो’, ती कर्मचारीले भने ।

दुग्ध उत्पादक किसान र डेरी उद्योगका प्रतिनिधिहरूसँग २१ चैत २०८० सम्म किसानको दूधको बाँकी बक्यौता रकम भुक्तानी गर्ने पाँचबुँदे लिखित सहमति गरे पनि दुग्ध विकास संस्थानले रकम भुक्तानी नगर्दा किसानहरू समस्यामा परेका हुन् ।

कृषि मन्त्रालयले २१ चैतमा पुस मसान्तसम्मको दूधको रकम भुक्तानी गर्ने लिखित सहमति गरे पनि रकम भुक्तानी नभएको बाँकेको कम्दीस्थित जय श्रीराम डेरीका सञ्चालक राम सुहावन यादव बताउँछन् । यादवले दूध बिक्री गरेको करिब १ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

देशैभरका दुग्ध उत्पादक किसानहरूले १५ असोज २०८० देखि संस्थानबाट दूधको भुक्तानी पाएका छैनन् । ६ महिनादेखि भुक्तानी नपाएका किसानहरूलाई २१ चैतमा पैसा आउँछ भनेर डेरी सञ्चालकहरूले आश्वासन दिंदै आएका थिए । तर २१ चैतमा पनि पैसा नआएपछि डेरी सञ्चालक र किसानहरू तनावमा छन् ।

६ महिनादेखि किसानको रकम भुक्तानी गर्न नसकेका संस्थानका महाप्रबन्धक संजिव झाको कार्यकाल १३ चैतमा सकिएको छ । २२ चैतमा नयाँ महाप्रबन्धकमा कृषि मन्त्रालयका सहसचिव सूर्य पौडेल नियुक्त भएका छन् ।

१९ फागुन २०८० मा तात्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्री वेदुराम भुसाल समेतको उपस्थितिमा कृषि मन्त्रालयका सचिव डा। रेवतीरमण पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। बालक चौधरी, पशु सेवा विभागका महानिर्देशक डा। उमेश दाहाल, दुग्ध विकास संस्थान ९डीडीसी० का उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले २१ चैत २०८० सम्म दूधको बाँकी बक्यौता रकम भुक्तानी गर्ने लिखित सहमति गरे पनि अहिलेसम्म कृषकले भुक्तानी पाउन सकेका छैनन् ।

प्रकाशित मिति: शनिबार, बैशाख ८, २०८१