सोमवार, अशोज ४, २०७८

युरिया मलको समुचित प्रयोगको लागि लिफ कलर चार्ट प्रविधि

विभिन्न बालीनालीको वृद्धि विकासका लागि आवश्यक मलको मात्रा सिफारिस गरिएको हुन्छ l अन्न बालीको सन्दर्भमा मुख्यत: नाइट्रोजन, फस्फोरस र पोटासको पूर्तिका लागि उपलब्ध मलहरु विभिन्न तरिकाले प्रयोग हुँदै आएका छन् l ती मध्य बालीमा नाइट्रोजनको आवश्यकता पूर्तिका लागि विभिन्न मल मध्य नेपालमा प्राय: युरिया नै प्रयोग गर्ने चलन छ l त्यसैले यो सामग्री युरियाकै समुचित प्रयोगका बारेमा केन्द्रित छ l सबै ठाउँमा “blanket recommendation” अनुसार युरिया मल प्रयोग गर्दा स्थान विशेष माटो र विरुवाको माग अनुसार तालमेल नमिल्न सक्छ जसको कारण विरुवालाई मलको आवश्यक मात्रा प्राप्त हुँदैन l तसर्थ स्थान विशेष र विरुवाको माग अनुसार युरिया मलको समुचित प्रयोगको लागि विभिन्न प्रविधि मध्य एक सरल र किसानमैत्री प्रविधि हो, लिफ कलर चार्ट l

 लिफ कलर चार्ट (एल.सि.सि.)

विरुवाको पातको रङ्ग मापन गर्ने एउटा पातो एल.सि.सि. अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र र फिलिपिन्स धान अनुसन्धान केन्द्रद्वारा विकसित प्रविधि हो l यसमा प्रयोग गरिएको रङ्गसँग बिरूवाको पातको रङ्ग दाँजेर आवश्यक नाइट्रोजनको मात्रा मापन गरिन्छ र सोहि अनुसार युरिया कति हाल्नुपर्छ भन्ने एकिन गर्न सकिन्छ l हल्का हरियो (पहेंलो हरियो) देखि गाढा हरियोसम्मका चार देखि छ ओटा पाता भएको एल.सि.सि. ले पातहरुको रङ्गको घनतत्व कम या बढी भनि मापन गर्दछ l सामान्य छ, कम हरियो भए विरुवामा  नाइट्रोजनको मात्रा कम भएको बुझिन्छ र एउटा निश्चित मानसम्म थप युरियाको आवश्यकता पर्दछ l यो चार्ट प्राय: धान, गहुँ र मकैमा प्रयोग हुँदै आएको छ l

एल.सि.सि. कसरी प्रयोग गर्ने ?

  • आफुले मापन गर्न चाहेको खेतबारीमा उक्त बालीको बोटविरुवा एकरुपता भएको ठाउँमा करिव दश ओटा स्वस्थ बोट ऐच्छिकरुपमै (random) छनौट गर्ने l
  • बोटको सबभन्दा टुप्पाको र पूर्णरुपले विकसित पात छानेर उक्त चार्टको पाता छनौट गरिएको पातको बीचमा पर्ने गरी राख्ने र पातको रङ्ग र एल.सि.सि. पाताको रङ्ग दाँज्ने । त्यसो गर्दा आफ्नो शरीरको या अन्य कुनै छाँया पातमा पर्नु हुँदैन l
  • एल.सि.सि.को विभिन्न मान अंकित हुन्छन l त्यहि आधारमा अघि लिइएको दश ओटा नापको औसत निकाल्नुपर्छ l यदि पातको रङ्ग २ वटा मानका बीचमा पर्छ भने दुबैको बीचको मान लिनुपर्छ जस्तै २ र ३ को बीचमा पर्छ भने २.५ मान लिने ।सामान्यतया औसत मान ३ भन्दा कम भएमा युरिया टप ड्रेस गर्नु पर्ने देखिन्छ र सोहि अनुसारको सिफारिस मात्रामा मलखाद प्रयोग गर्नुपर्दछ । उदारहरणको लागि धान रोपेको २१ दिन पछि १० दिनको फरकमा बाला लाग्ने अवस्थासम्म नाप लिने र मल आवश्यक भएको देखिएमा ३० के.जी. नाइट्रोजन प्रति हेक्टरका दरले छर्नुपर्दछ l कतिपय अवस्थामा बालीको जात अनुसार समेत सिफारिस गरिएको भएपनि नेपालमा यसबारे पर्याप्त अनुसन्धान भएको पाइंदैन ।

एल.सि.सि. किन प्रयोग गर्ने ?

  • न्यून लागतमा सजिलो र छिटोछरितो प्रयोग गर्न सकिने किसानमैत्री प्रविधि
  • विरुवा नाइट्रोजनको लागि भोकाएको वा अघाएको पत्ता लगाउने सजिलो प्रविधि जसका कारण मलको जथाभावी प्रयोग नियन्त्रण हुने
  • आवश्यक समयमा विरुवाको वास्तविक माग अनुसार मलको प्रयोग गर्न सकिने
  • हरित गृह ग्याँस उत्सर्जनमा कमी ल्याउने जलवायुमैत्री प्रविधि
  • रोगकिरामा समेत कमि आउने

तसर्थ नेपालमा युरिया मलको समुचित प्रयोगको लागि लिफ कलर चार्ट एक सजिलो किसानमैत्री प्रविधि रहेकोले यसको उपलब्धता र प्रयोगमा विस्तार आवश्यक छ l युरिया मात्र होइन नाइट्रोजनका अनेक प्राङ्गारिक/जैविक र रासायनिक मलको उचित व्यवस्थापनको लागि लिफ कलर चार्ट अति उपयोगी छ l कुनै पनि माटो र त्यसमा लगाईएको विरुवा नाइट्रोजनको लागि भोको छ या अघाएको छ त्यो पत्ता लगाई समयमै आवश्यक विरुवाको खानाको जोहो गर्न र उत्पादन वृद्धि गर्न लिफ कलर चार्टको आवश्यकता महत्त्वपूर्ण छ l (लेखिका कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनमा माटो विज्ञानमा स्नातकोत्तर अध्ययनरत छिन् ।)

प्रकाशित मिति: शुक्रबार, बैशाख २६, २०७७