आइतवार, जेष्ठ ८, २०७९

औद्योगिक बालीका रुपमा रुपान्तरण हुँदै मकै खेती

काठमाडौं, फागुन । एक्काइसौं शताव्दीको मध्यतिर नै औद्योगीकरणको मुख्य नेतृत्व गर्ने वालीको रुपमा मकै नै पहिलो वाली हुनेमा संसारभरका वैज्ञानिकहरु एकमत भएका छन, र यसलाइ भविष्यको राजा वाली भनि पहिचान गरिएको छ।संसारभर मकैको क्षेत्रफल तथा उत्पादकत्व वढ्दो क्रममा रहेको छ।

मकैले खाद्यान्न वालीको रुपमा मात्र नभएर नगदे वाली तथा औद्योगिक वालीको रुपमा समेत आफ्नो पहिचान बनाइसकेको हुनाले विभिन्न देशहरुमा कृषि औधोगिकरणको लागि मुख्य इन्जीनको रुपमा मकैको विकास गर्नुपर्दछ भनेर मकै सम्वन्धिका विषेश नितिहरु निर्माण भइरहेका छन। दशवर्ष अघि दानाको लागि सतप्रतिशत मकै आयात गर्ने श्रीलंकाले हालै आंफुलाइ आत्मनिर्भर भएको घोषणा गरी निर्यात समेत शुरुगरेको छ।यसैगरी भारतले सन २०२२ सम्ममा मकैको हालको उत्पादनलाइ दुइगुनाले वृद्धि गरि मकैमा आधारित औद्योगिकरणलाइ तिव्रता दिन पुरै मुल्य श्रींखलालाइ सम्वोधन गर्ने गरि आक्रामक कार्यक्रमहरु ल्याइसकेको छ।

मकैलाइ मुख्यवालीको रुपमा खेती गरि उत्पादन वढाउन सकेमा यसकै आधारमा विभिन्न उद्योगधन्दाहरु खोलि उत्पादन क्षेत्रहरुलाइ स्वचालीत आर्थिक इकार्इको रुपमा विकास गर्न सकिने परिकल्पना गरि नेपाल सरकारले पनि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत विभिन्न जिल्लाहरुमा मकै जोन कार्यक्रमहरु लागु गरेको छ।

हाल नेपालमा वार्षिक १२ अर्व रुपैंया वरावरको १० लाख टन अप्रशोधित मकै आयात हुने गरेको छ।कुखुराको दानामा मात्र ५५ देखि ६५ प्रतिशत मकै नै रहनुपर्दछ।नेपालमा सन्चालित रहेका ठूला ठूला दाना उद्योगहरु मकैजन्य कच्चा पदार्थको स्थानिय आपुर्तिको अभावले विदेशी मकैमा भर पर्नु परिरहेको छ।कुखुराजन्य व्यवसायसंग सम्वन्धित रहने अप्रशोधित मकैको माग नेपालमा वार्षिक ११ प्रतिशतले वढीरहेको छ।

अनि नेपालमा कुखुरापालन व्यवसाय वार्षिक ९ प्रतिशतका दरले वृद्धि भइरहेको छ, र यो व्यवसाय आगामी दशक भित्रै ३ गुणाले वढ्ने प्रक्षेपण भएको छ।तर, नेपालमा परम्परा देखि मकै खेती गर्दै आइरहेको क्षेत्र भने हालैका वर्षहरुमा वार्षिक १२ प्रतिशतका दरले घटिरहेको छ। वैदेशीक रोजगारी तथा परंपरागत कृषि प्रणालिका कारण मकै उत्पादन हुने क्षेत्र घटिरहेको भएता पनि यान्त्रिकरणका साथ चक्लावन्दीमा मकै खेती गर्न चाहने किसानहरुलाइ अनुदान सहयोग गर्नका लागि मुलुकै भरिका मकै जोनहरुले मकै मैत्री कार्यक्रमहरुलाइ प्रार्थमिकतामा राख्दै आएका छन।हामी संग अत्यन्तै उर्वर जमिन छ, र हामिसंग एकदमै राम्रा कम्पोजिट जातहरु पनि छन् ।

पाखो र सिंचाई नहुने ठाउँमा यिनै कम्पोजिट जातको मकै उत्पादन गरेमा पनि लाभदायक हुन सक्दछ।त्यस्ता क्षेत्रहरुमा वाक्सी कर्न, पपकर्न र स्विटकर्नहरुलाइ पनि प्रवर्धन गर्न सकिन्छ।नेपालमा दक्षिण अमेरिकी देशहरुवाट उल्लेख्य परिमाणमा मुरली मकै आयात हुने गरेको छ।त्यसैगरी भारत, थाइल्याण्ड लगायतका देशहरुवाट आयात गरिएका स्विटकर्न हरुले वजार भरिने गरेको पाइएको छ।यस्ता मकैहरु नेपालमा उत्पादन हुने गरेका छैनन।

हाम्रा किसानहरुले हाम्रै तराइका सिंचीत खेतहरुमा हाइव्रीड जातहरुबाट प्रति हेक्टर ८ देखि १० मेट्रिक टन सम्म मकै उत्पादन गर्न सकेका उदाहरणहरु पनि हामिसंग छन। हाम्रा पहाडका वेंसी र नदी किनारहरुमा तराई र भित्रि मधेशका उत्पादनशिल इलाकाहरु संग तुलना योग्य रहेका अत्यन्तै मलिला र फराकिला फांट हरु पनि छन। त्यस्ता क्षेत्रहरुले सडक, विजुली लगायतका आधारभुत पुर्वाधारहरुको सुविधा सहित अत्यन्तै ठूलो सम्भावनाका साथ आधुनिकीकरणको लागि पर्खिरहेको छन।

ति क्षेत्रहरुमा हाइव्रीड जातको मकै क्रमिक रुपले लोकप्रिय बन्दै गएकाले त्यस्ता ठांउहरुमा हाईब्रिड मकैलाइ नै व्यवसायीकरण तर्फ लैजान सकिन्छ। जैविक रुपले धेरै टाढाको नाता पर्ने आमाबुवाको सेंचनबाट जन्मेको तुलनात्मक रुपले ठूलो, बालीयो र स्वास्थ्य सन्तान नै हाइव्रीड मकै हो।हाइव्रीड जातहरु उपयुक्त वातावरणमा धेरै उत्पादन दिन सक्ने क्षमता भएका, बालीयो र एकनासको हुने हुंदा बाली कटानी गर्न तथा थन्काउन सजिलो हुने, जैविक तथा वातावरणीय प्रतिकुलतासंग सजिलै लड्न सक्ने, रोग तथा कीरा प्रतिरोधात्मक शक्ति तुलनात्मक रुपमा वढी नै भएका हुने गर्दछन।

हाइब्रिडको विकासबिना मकैको उत्पादन र उत्पादकत्व वृद्धि गराउन अलि कठिन हुने गर्दछ। नेपालमा बर्षेनि करोडौं रुपैंया बराबरको बिदेशी हाइब्रिड मकैका जातहरु आयात गरिन्छ र उक्त जातहरुमा प्रत्येक बर्ष कृषकहरुले विभिन्न किसिमका समस्याहरु बेहोर्नुपर्दा दोहोरो आर्थिक भार पर्ने गरेको छ।हाल नेपालमै पनि मकैका केहि हाइब्रिड जातहरु विकास गरिसकिएको छ। नेपालमा विकास भइसकेका हाइब्रिड जातहरुको निजि तथा सरकारी साझेदारीमा बीउ उत्पादन गरि किसानहरु माझ पुर्याउन सकेमा नेपाललाइ सजिलै हाइब्रिड मकैको बीउमा आत्मनिर्भर बनाऊन सकिन्छ।

यसका लागि निजि क्षेत्रले हाइव्रीड बीउ उत्पादनमा अगाडी बढ्नुपर्ने देखिन्छ र त्यसको लागि हामिसंग प्राविधिक जनशक्ति पनि पुग्दो संख्यामा रहेको छ।सरकारले पनि वीउ उत्पादक किसानहरुलाइ विशेष सहुलियत तथा नगद प्रोत्साहन अनुदानका कार्यक्रमहरु लागु गर्नु पर्दछ। हामि नेपालमै अनुसन्धान गरेर उन्मोचन गरिएका हाइव्रीड वीउमा आत्मनिर्भर हुनु पर्दछ र आत्मनिर्भर हुन सकिन्छ। हाइव्रीड लगायत कम्पोजीट मकैको वीउ उत्पादनको निमित्त विशिष्टिकृत भौगोलिक क्षेत्रको आवश्यकता पर्ने हुन्छ।

हामिसंग वरिपरि जंगलले घेरिएका प्रसस्तै संख्याका खेतवारीहरु छन। त्यसरी जंगलले घेरिएका क्षेत्रहरु नेपाली हाइव्रीड तथा कम्पोजीट वीउ उत्पादनका लागि उच्च सम्भावना युक्त जमिनहरु हुन।

भौगोलीक पृथकताकताको मापदण्ड पुरा गर्ने बीउ उत्पादनको लागि उपयुक्त रहेका सवै क्षेत्रहरुमा सिंचाइको सुविधा चाहिं पुगिसकेको छैन। अघिल्लो वर्ष समयमा नै पानी पर्न सकेन। कतिपय मुल वीउहरु उम्रीए, अनी कति त वारीमै हराए। वल्ल वल्ल उम्रीएको मकैलाइ सिजनै भरिको लामो खडेरीले खाइदियो। अघिल्लो वर्ष मकै वीउ उत्पादन हुने सम्भावना भएका देशैभरीका असिंचित क्षेत्रहरुले दुर्भाग्यपूर्ण खडेरीको महामारी भोग्नु पर्यो। फलस्वरुप आज देशैभरी मकैको वीउको हांहाकार भएको छ। पानीको श्रोत नजिक नभएका पहाडका असिंचित टुप्पाहरुमा मकैको बीउ फलाउने काम चुनौतीपूर्ण छ।

मकैको बीउ उत्पादन गर्न सकिने भौगोलीक सम्भावना भएका त्यस्ता क्षेत्रहरुमा सिंचाइ सुविधा पुर्याउन सवै तहका सरकारहरु लाग्नुपर्ने देखिन्छ। यदि गुणस्तरिय बिउ उत्पादन गर्न सकिने असिम सम्भावना वोकेका पहाडी भुभागहरुमा सिंचाइको सुविधा पुर्याउन नसक्ने हो भने खडेरी परेको अर्को वर्ष किसानहरुले सधैं संधै अहिलेकै नियती भोग्नुपर्ने हुन्छ।

साना सिंचाइ कार्यक्रम जस्तो दुइ तिन लाख रुपैंया मात्र लगानि गर्न सकिने योजनाहरुले पहाडका टुप्पाहरुमा पानी उकाल्न सकिंदैन। सिंचाइको लागि ५० प्रतिशत अनुदान दिने सरकारी निति दुर्भाग्यपूर्ण छ।सिंचाइ व्यवस्थापनको लागि कानुन वमोजिम नै ८५ प्रतिशत अनुदान दिइनु पर्दछ। ठूला ठूला लिफ्टिंगका योजनाहरु तयार गरेर र तिनै तहका सरोकारवाला निकायहरुले मकै वीउ उत्पादन हुन सक्ने क्षेत्रहरुमा सिंचाइ पुर्याउन सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने आजको आवश्यकता भएको छ।
सन २०५० सम्ममा यो संसारैभरीको औद्योगिकरणको नेतृत्व गर्ने प्रक्षेपण गरिएको मकै जस्तो अद्भुत वालीले समेत समग्र कृषि विकासको आधुनिक चरणमा आइपुग्दा पनि खडेरीको दुर्नियती भोग्नुपरेको कुरा सार्वजनिक भइरहंदा सरकारी प्राविधिकहरु, योजनाकारहरु तथा निति निर्माताहरुले लज्जित भएको महशुस हुने दिनको अन्त हुनुपर्दछ।

संघियताको महाकम्पले थला परेका किसानको घाउमा मलहम लगाउनको लागि प्रदेशका कृषि निकायहरुले चाहिं बीउ उत्पादनमा लगानि गरेको देखिएको छैन। बीउ उत्पादक किसानहरुलाइ उन्नत वीउ फलाए वापत आकर्षक प्रोत्साहन दिने विशेष कार्यक्रमहरु हरेक कृषि ज्ञान केन्द्रहरु मार्फत सञ्चालन गरिनु आवश्यक छ। हिन्दी र चाइनीज अक्षरमा लेवलींग गरेका वीउहरुलाइ सडकभरी सस्तो मोलमा विक्री गरिएको जो देखिंदै आइएको छ, त्यो पनि नेपाली बीउलाइ प्रतिस्पर्धि वन्न नदिने अर्को व्यापारिक षड्यन्त्र हो, त्यस तर्फ पनि सोच्नु पर्दछ।यस सन्दर्भमा हाम्रा सिमा नाकामा कार्यरत रहेका क्वारेन्टाइन निकायहरुको क्षमतालाइ उल्लेख्य रुपमा वृद्धि गरिनु पर्दछ।

मकै अत्यधिक उत्पादनशील क्षमता भएको बाली हो। धान वा गहुं संग तुलना गर्दा मकैको कम्तीमा पनि ३ गुणाले वढी वायोमास उत्पादन हुन सक्दछ, र मकैको कुनैपनि भाग खेर जांदैन। मकै प्रशोधन गर्न पनि सजिलो वाली हो, र यो उत्पादनको लागि अन्य भन्दा कम खर्च लाग्ने बाली हो।त्यसकारण कम्तिमा पनि एक सिजनको लागि सम्पुर्ण तराइ क्षेत्रलाइ मकै नै मकैले ढाकिने गरि सरकारले तराइका सवै जोनहरुमा मकै मैत्री विशेष कार्यक्रमहरु अनिवार्य रुपले लागु गर्ने हो भने मात्र पनि अप्रशोधित मकैको आयातलाइ घटाइ कुखुरा व्यवसायलाइ आत्मनिर्भरता तर्फ डोर्याउन सकिन्छ।पहाडी क्षेत्रहरुमा पनि क्रान्तिकारी गह्रा सुधार मार्फत वृहत चक्लावन्दीमा यान्त्रीकरणका साथ मकैको आधुनिक खेती गर्न सकिन्छ र सक्नुपर्दछ। त्यसो गरिएमा मात्र पशुपालन लगायत अन्य उद्योगहरुले पनि प्रगति तर्फ चलायमान गति प्राप्त गर्दछन।

साधारणतया, मकै मौसमी र बेमौसमी दुबै समयमा उत्पादन गर्न सक्न्छि साथै यस्को माग दुबै मौसममा बढ़ी नै भएको पाइएको छ। बेमौसमी उत्पादन गर्दा अरु तरकारी बालीलाई जस्तो धेरै हेरचाह पनि यसलाइ आवश्यक पर्दैन । अरु बालीको तुलनामा मकैको उम्रने क्षमता बढी हुन्छ, जसको कारण बीउको नोक्सान हुने सम्भाबना पनि कम हुन्छ। मकैलाई अन्यबाली जस्तो विशिष्टिकृत भन्डारणको आबस्यकता पर्दैन, बजार सम्म पुर्याउनको लागि पनि सजिलो हुन्छ ।मकै तरकारी बाली जस्तो छोटो समयमानै बिग्रीइहाल्दैन।मकै छोटो समय अबधिमा उत्पादन हुने हुंदा, एकै बर्षमा एकै जमिनमा अरु बालीहरुलगाउन सकिन्छ।जसले गर्दा प्रति एकाइ जमिन को उत्पादकत्व तुलनात्मक रुपमा वढी हुन्छ।
आधुनिकीकरणको प्रविधि प्रयोग गरि लाईनमा मकै रोप्ने बिधि उपयोग गरेको अबस्थामा मकै संगै अन्य बालीहरु जस्तै बोडी, मास, भटमास, सिमि जस्ता कोसेबाली तथा काउली, बन्दा, टमाटर जस्ता तरकारी बाली लगाइ दोहोरो आम्दानि लिन सकिन्छ।हरियो मकै विक्री नभएमा मकैलाई पुर्ण सुकेको अबस्थामा भांच्न सकिन्छ जसकारण मकै कुहिने सम्भाबना रहंदैन।

अन्तरवालीको रुपमा मकै संग वेसार तथा अदुवा लगाइ प्रति एकाइ जमिनको उत्पादकत्व वढाउन सकिन्छ।त्यसैगरी हरेक वर्षको दिपावलीलाइ लक्षित गरि घुसुवा वालीको रुपमा सयपत्री, गोदावरी तथा मखमली फूलको उत्पादन गर्ने हो भने राम्रो मुल्यका साथ सहजै वजार प्राप्त भइ थप आम्दानी आउन सक्दछ।त्यसैगरि मकैको खेत वरिपरी डेस्मोडीयम र नेपियर जस्ता घांसहरुलाइ रिपेलेन्ट तथा ट्र्याप क्रप को रुपमा लगाइ कीराको आक्रमण वाट जोगाउंदै पशुपालनलार्इ थप वढावा दिन सकिन्छ।

हरियो मकै भांचिसकेपछि दश देखि पन्ध्र टन प्रतिहेक्टरको दरले प्राप्त हुने हरियो ढोड जनावरको आहाराको लागि प्रयोग गर्न व्यवसायीक रुपमा कम्प्रेस्ड साइलेज तथा पेलेट दानाको उत्पादन गर्ने उद्योग खोल्न सकिन्छ। मकैको ढोडमा प्रसस्त मात्रामा प्रोटीन, फाईबर तथा स्टार्च हरु पाइन्छ, जुन पशुपालन व्यवसायको लागि आहाराको सस्तो श्रोत वन्न सक्दछ।

ग्रामीण युवाहरू नेपालको कृषि उत्पादनमा सक्रिय रूपमा संलग्न हुन खोजेता पनि सामाजिक र आर्थिक अवस्थाले गर्दा उनीहरू वैदेशिक रोजगारीमा जान वाध्य भएको अनुभव गर्दछन। युवा भनेको ऊर्जावान, सृजनात्मक, नवीन, उत्पादक र प्रतिबद्ध श्रमशक्ति हो जसले कृषिमा अपेक्षित विकासको अनुवाद गर्न सक्दछ। तसर्थ, दिगो कृषि र ग्रामीण विकासका लागि सक्रिय सहभागीको रूपमा ठूलो संख्यामा युवाहरूको परिचालन गर्नका लागि आधुनिक मकै खेती र यसमा आधारीत उद्योगधन्दाहरु सन्चालन गरिनु एक भरपर्दो आधार वन्न सक्दछ।मकैलाइ विकासको इन्जिनको रुपमा ग्रहण गरेमा मात्रै पशुपालन लगायत अन्य कृषिजन्य व्यवसायले गति प्राप्त गर्न सक्दछन।

अर्थपूर्ण विकास हासिल गर्ने हो भने, युवा स्रोतको प्रभावकारिता र कृषि जानकारीको उपलब्धता को आवृत्ति नै सर्वोपरि महत्त्वपूर्ण हुन्छ।युवा रोजगारीलाइ लक्षित गर्दै अन्य पहाडी मुलुकहरुको जस्तै हाम्रो पहाडका खेतीयोग्य जमिनहरुलाइ पनि चक्लावन्दी खेतीको लागि यान्त्रीकरणमैत्री हुने गरी गह्रा सुधार गराउंदै व्यवसायीक मकै खेतीको आधुनिककरण गर्न सकिएमा तराइ तथा पहाडी इलाकाका निर्धारित जोन क्षेत्रहरुको आर्थिक वृद्धि गर्नका निमित्त मकै एक अद्भुत बाली ठहरिन सक्दछ।

हाम्रो पहाडका खेतवारीका कान्लाहरु घुमेका छन्, बांगा टींगा छन् र कतिपय अवस्थामा यन्त्र उपकरणहरु सन्चालन गर्नका लागि अत्यन्तै सांघुरा छन। त्यस्ता खेतवारीहरुलाइ यन्त्र मैत्री वनाउनको लागि बांगा टींगा कान्लाहरुलार्इ सिधा सिधा पार्नु पर्दछ। त्यसको लागि चक्लावन्दीमा खेती गर्न तयार भएका जग्गाधनीहरु आपसमा मिलेर आफ्नो खेतवारीको जम्मा क्षेत्रफलमा तलमाथी नहुने गरि प्राविधिकको सहयोगमा हिसाव गरेर कान्लाहरुलार्इ सिधा सिधा पार्न सकिन्छ। त्यसैगरि होचा होचा कान्लाहरु छन् भने २र३ वटा गह्राहरुलाइ मिलार्इ एउटै वनाउन सकिन्छ। तर त्यसो गर्दा कुनैपनि गह्राको सतहको माटोलार्इ पुरिन दिनुहुंदैन।

सतहको माटोलाइ कृषियोग्य वनाउनको लागि वर्षौं वर्ष लागेको हुन्छ। त्यसैले मलिलो माटोलाइ खेर जान नदिनको लागि सतह देखि २० सेमि सम्मको गहिराइको माटोलाइ गह्रा सुधार गर्नुभन्दा अगाडी नै झिकेर अलग गर्न सकिन्छ। आगामी सयौं वर्ष सम्म पनि खेतीपाती नै गरिनुपर्ने भएकोले गह्रा सुधार गर्दा पहिरो नजाने गरि सकेसम्म कान्लाहरुलाइ वलियो हुने तरिकाले ढुंगै ढुंगाको स्थाइ संरचनाले तयार गर्नुपर्ने हुन्छ। अन्यथा झारा टार्ने प्रकृतिको काम गरियो भने सुधारको नाममा पहिरोको विनासले झनै ठूलो समस्या निम्तिने सम्भावना रहन्छ। यस अनुसार गह्रा सुधार गर्ने हो भने जग्गाको स्वामित्व अनुसार दामासाहिले हिसाव गरेर लगानी तथा प्रतिफलको वांडफांड गर्न सकिन्छ र त्यो केवल प्राविधिक विषय मात्र वन्दछ।

अहिले मकै लगाउने सिजन शुरु भएको छ। त्यसकारण आधुनिकीकरणको विषयलाइ सजिलो गरि वुझ्नको लागि मकैको उदाहरणलाइ नै लिऔं। ७५ सेमी चौडा हारहरुमा हरेक २५ सेन्टीमिटरमको फरकले यदि मकैको विउलाइ सिड ड्रील मेसिन द्वारा माटोमा खसाल्ने हो भने प्रति रोपनी ३३०० वटा वोटहरु लगाउन सकिन्छ। यसरी लाइनमा मेसीन द्वारा वीउ छरिएको छ भने मकै वोटको गोडाइलार्इ पनि मेसिन वाटै गर्न सकिन्छ। अहिले मकै गोड्ने मेसिनहरु पनि वजारमा सजिलै पाइन थालेका छन। यदि उम्रिए मध्येका ७५ प्रतिशत वोटमा मात्रै पनि प्रति वोट दुइ घोगा मकै फल्छ भनि मान्ने हो भने प्रति रोपनी ५८०० घोगा मकै फल्ने कुरा यकिन गरि, मकै छरेकै दिन घरमा बसिबसि हिसाव निकालेर व्यापारी संग संपर्क गर्न सकिन्छ। त्यसैगरी हरेक वोटको आवश्यकता अनुसारको खाद्यतत्व, सिंचाइ जस्ता उत्पादन सामाग्रीको समेत खेर नजाने गरि हिसाव गरेरै व्यवस्थापन गर्न सकिन्छ। तर यो सवै गर्नको लागि हाम्रा खेतवारीहरु यन्त्रमैत्री हुनुपर्दछ।

हामिले आज परंपरागत खेतवारीहरुमा यान्त्रीकरण सहितको आधुनिक प्रविधि पुर्याउने जो लक्ष लिएका छौं त्यो गलत छ। त्यसलाइ सफल पार्नको लागि सवैभन्दा पहिले हाम्रा खेतवारीहरुलाइ आधुनिकिकरण मैत्री हुनेगरि तयार गर्नै पर्ने हुन्छ। खेतवारीवाट हलो र गोरुलाइ विस्थापित गर्नको लागि हाते ट्रथाक्टर र पावर टिलरहरु प्रयोग गरिनु पर्दछ भनेर नै हामिले खेतीमा यान्त्रीकरणको अवधारणा ल्याएका हौं। तर आज हामि देशैभरीका पहाडी क्षेत्रमा जहां जहां जान्छौं त्यहांका किसानहरुले यस्ता मेसीनहरु तल्लो कान्ला वाट उपल्लो गह्रामा उकाल्नको लागि जन्मै देखिको वल लगाएर श्रम गरिरहेको देख्ने गरेका छौं। परंपरागत हलोको लागि तयार गरिएका गह्राहरुमा जोत्नको लागि हाम्रा किसानहरुले ले कांधमै आधुनिक ट्याक्टर वोकेर हिंडेको देख्दा जो कोहिको पनि मन कुंडिन्छ।

परंपरालाइ चिर्न र आधुनिकीकरणको फूल फूलाउनको लागि किसानले यसरी कांधमा ट्याक्टर वोकेर हिड्ने दिनको अन्त गरिनु पर्दछ। हाम्रा नितिहरुले यो विषयलाइ सम्वोधन गर्न सकेका छैनन। यन्त्र मैत्री हुनेगरी गह्रा सुधार नगरेसम्म आधुनिकीकरणको सपना देख्न सकिंदैन। परंपरागत वारीमा नयां प्रविधिको ट्याक्टरले जोत्नुपर्दा हाम्रा किसानहरुलाइ झन धेरै सास्ती भइरहेको कुरा हामिले महशुस गर्नै पर्दछ। हाम्रा किसानहरुले गह्रा सुधार गर्नुपर्ने विषयलाइ महशुस गरिसकेका छन। यदि सरकारले क्रान्तिकारी गह्रा सुधार गर्ने यस्तो कार्यक्रमलाइ किसान माझ लिएर जाने हो भने यस कार्यक्रमले उच्च सफलता प्राप्त गर्न सक्ने देखिन्छ। आधुनिकीकरणको जग वसाउनको लागि कृषि विकास मन्त्रालयले यदि कुनै नयां भिजन ल्याउन चाहन्छ र सांच्चिकै यो देशको मुहार फेर्न चाहन्छ भने पहिलो प्रार्थमिकतामा राखी यहि क्रान्तिकारी गह्रा सुधारको कार्यक्रम वनाएर लागु गर्नु पर्दछ।

चक्लावन्दीमा खेती गराउनको लागी सरकारले हाम्रा फराकीला खेतवारीहरुलाइ आयातकार हुनेगरी प्लटींग गराउन किसानलाइ उत्साहित हुने गरि अनुदान दिइने कुरा आगामी वर्षको वजेट वाटै घोषणा गर्नु पर्दछ। क्रान्तिकारी गह्रा सुधार गरिएको जमिनलाइ अन्य प्रयोजनमा आउन नदिने प्रतिवद्दता लिएर निश्चित मापदण्ड वनाइ, कान्लाहरु सिधा सिधा गर्न लाग्ने मुल्यको कम्तिमा पनि ७५ प्रतिशत अनुदान सहित यो कार्यक्रमलाइ लागु गराउने तर्फ सम्पूर्ण कृषि संयन्त्रहरुको ध्यान जानु पर्दछ।यसरी गह्रा सुधार गर्दा पहिल्यै देखी सेट भइसकेको माटोलाइ सकेसम्म कम चलाउनु पर्दछ अन्यथा पहिरोको जोखिम अत्याधिक वढेर जान्छ। यान्त्रीकरण मैत्री हुने गरि हार हारमा खेती गर्न पहाडी फांटहरुका कान्लाहरूलाई सिधा सिधा गराउन खर्बौं लाग्छ। कृषिमा अवको पहिलो खर्च गर्ने ठांउ यहां हो।
यसरी यन्त्रिकरणमैत्री हुनेगरी सिचांइ सुविधा सहीतका फांटहरुमा मकै खेती गरिएमा यसैमा आधारीत रहि सयौं प्रकारका व्यवसायहरु संचालन गर्न सकिन्छ।मकैसंग प्रत्यक्ष जोडीएर आउने व्यवसायहरु मध्ये विउ उत्पादन तथा प्रशोधन व्यवसाय, दाना उद्योग, वेकरी व्यवसाय, विस्कुट उद्योग, हर्लिक्स उद्योग, डेक्स्ट्रोज उद्योग, ग्लुकोज उद्योग, मकैको तेलमिल, स्टार्चमिल, फ्रुक्टोज कर्न सिरप उद्योग, लिटो उद्योग, कर्नफ्लेक्स उद्योग, मेडीकल स्पीरीट उद्योग, सिल्क टी र वेवीकर्न उद्योग, आइसक्रीम उद्योग, मकैको परिकार सर्भ गर्ने क्याफेहरु, चिजवल्स तथा कर्नपफिंग, कर्नमार्ट, सेरेल्यक आदी प्रमुख व्यवसायहरु हुन सक्दछन।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २७, २०७६