शनिबार, अशोज १५, २०७९

प्रांगारिक कृषि खेती गर्ने हो भने कुरा होइन काम गरौं

पछिल्लो समयमा नेपालका प्रांगारिक खेतीको निकै नै चर्चा र बहश हुन थालेको छ । प्रांगारिक खेतीको जति चर्चा र बहश गर्ने गरिन्छ त्यत्ति नै वहश र चर्चा प्रांगारिक खेती गर्नका लागि आवश्यक पर्ने बस्तुहरुको पनि गर्नु पर्दछ कि भन्ने हो । तर त्यसो गरेको पाइँदैन । यद्यपी प्रांगारिक कृषि खेतीको बहश भईरहँदा त्यसका लागि अति नै महत्वपूर्ण मानिएको माटो, प्रांगारिक मल र कम्पोष्ट मलको विषयमा पनि चर्चा गर्नु पनै ठान्दै यो अंकमा हामीले किसानहरुले यति प्रांगारिक खेती गर्ने हो भने प्रागारिक मल र कम्पोष्टको विषयमा पनि जान्नु पर्ने ठानी यसको विषयमा चर्चा गर्न खोजका छौं ।
माटोः
बोट विरुवाहरुको जरा माटोभित्र फैलिएको हुन्छ । जराहरुले माटोलाई समात्ने हुँदा बोटविरुवा जमीनमाथि अडिन सक्छ । जराद्वारा माटोभित्रबाट बोटविरुवाले आफ्नो खाने कुरा प्राप्त गर्दछ । माटोभित्र भएको पानीमा (चिस्यान)विभिन्न खनिज तत्वहरु घुलनशील अवस्थामा रहन्छन ्। घुलनशील अवस्थामा रहेका खनिज तत्वहरु बोटाको जराले शोषण गरेर लिन्छ । त्यसकारण माटोको रासायनिक तथा भौतिक बनौट महत्वपूर्ण रहन्छ । माटो विभिन्न किसिमका हुन्छन् । जस्तै ः–
१.बलौटे माटो ः
बालुवाको मात्रा बढी भएको माटोलाई बलौटे माटो भन्दछन् । धेरैजसो तरकारीबालीहरुको लागि यो माटो राम्रो हुँदैन । यसको खास कारण के हो भने बलौटे माटोले पानी अड्याइराख्न सक्दैन र धेरै पटक सिंचाई गरिरहनु पर्छ । यस्तो माटोमा पानी पठाउँदा साथ पानी बगेर जमीनको तल्लो भागमा जान्छ । जस्ले गर्दा खनिज तत्वहरु पनि बगाएर लैजाने हुँदा हामीले दिएको मल बोट विरुवाले पाउँदैन र नोक्सान हुन्छ ।
२.बलौटे दुमट माटोः
यस्तो माटोमा बालुवाको मात्रा प्रशस्त हुने भएतापनि यसमा सिल्ट र मसिनो माटोको भाग मिसिएको हुन्छ । यसो भएका खाद्य तत्वहरु पनि विरुवालाई सजिलैसित उपलब्ध हुन सक्छ । धेरैजसो जरे तरकारीबालीहरु मुला, गाजर, सलगम, प्याज आदिको लागि यस्ता माटो असल हुन्छ । यस्तो माटोमा गोडमेल गर्न र झारपात हटाउन पनि सजिलो हुन्छ ।
३.दुमट माटोः
यस्तो माटोमा बालुवा, सिल्ट र मसिनो माटो मिसिएको हुन्छ । यसले धेरै समयसम्म पानी अड्याइराख्न सक्छ र प्रायः सबै किसिमका खाद्य तत्वहरु विरुवाले यसबाट पाउँछन् । धेरै जसो तरकारी खेतीको लागि दुमट माटो उपयुक्त हुन्छ ।
४.चिम्ट्याइलो माटो ः
यस्तो माटोमा बालुवाको अनुपात थोरै र सिल्टको अनुपात धेरै हुन्छ । यस्तो माटो सुख्खा अवस्थामा धेरै कडा र ठूलोठूलो डल्ला पर्ने, चीरा पर्ने र भिजेको अवस्थामा धेरै चिप्लो र टाँसिने हुन्छ । यस्तो माटोले पानी धेरै समयसम्म अड्याइराख्न सक्छ ।
प्रांगारिक मल ः
बोटविरुवाका हाँगापात, झारहरु तथा पशुको मलमुत्रबाट तयारी गरिएको मललाई प्रांगारिक मल भनिन्छ । यस मलका श्रोतहरु निम्नअनुसार छन् ः
१.गोबर मल ः
गाईवस्तुको गोबर, पात पतिङ्गर, घाँस र झारपात मिसाई कुहाएर बनाइएको मललाई गोबर मल अथवा गोठेमल भन्दछन् । गोबर मललाई राम्ररी कुहाएर खेतबारीमा हाल्नाले जग्गाको उर्वराशक्ति कायम रहन्छ र तरकारीको उब्जनी बढ्छ । गोबर मल राम्ररी नकुहाएर काँचो प्रयोग गरेमा कीराको प्रकोप बढ्ने भएकोले गोबर मललाई राम्ररी कुहाएर प्रयोग गर्नुपर्छ । जमिन तयारी भन्दा धेरै दिन अगाडिनै खेतबारीमा छरेर अथवा थुप्रो पारेर राख्नाले यसमा भएको खाद्य तत्व नष्ट भएर जाने हुँदा राम्ररी कुहेको गोबर मल खाल्डोबाट झिक्नेबित्तिकै खेतवारीमा प्रयोग गर्नुपर्छ । यस बाहेक कुखुराको सुली, घोडाको लिदी, बंगुर तथा भेंडा बाख्राको मल आदि पनि प्रांगारिक मलको रुपमा प्रयोग गरिन्छ ।
२.कम्पोष्ट मल ः
झारपात, पतिङ्गर, घाँस आदिलाई मात्र कुहाएर बनाएको मललाई कम्पोष्ट मल भन्दछन् । यो एक उच्च श्रेणीको प्रांगारिक मल हो ।
प्रांगारिक पदार्थका श्रोतहरु ः
(क) रुखबाट झरेका पातपतिङ्गरहरु
(ख) तरकारीबाली अथवा अरु बाली गोडेर निकालेका झारपात
(ग) हरियो अथवा सुकेको घाँसपात
(घ) तरकारी केलाएर फालिने बोक्रा तथा पात
(ङ) भटमास, केराउ, बोडी, सिमी आदिको झ्याङ्ग
(च) अन्य जैविक पदार्थहरु
कम्पोष्ट मल दुई तरिकाबाट बनाउन सकिन्छ ः
१. खाल्डोमा पातपतिङ्गर आदि भरेर कुहाएर बनाउने तरिका
२. खाल्डोमा नभरी थुप्रो बनाएर पातपतिङ्गगर आदि कुहाएर बनाउने तरिका
(१) खाल्डोमा कम्पोष्ट मल बनाउने तरिका ः
खेतबारीको नजिक, अलिकति उठेको, पानी नजम्ने ठाउँमा खाल्डो खन्नुपर्छ । खाल्डो साधारणतया ३ मिटर लामो, १.५ मिटर चौडा र १ मिटर गहिरो भएमा राम्रो मानिन्छ ।
खाल्डोमा कुहाउने वस्तुहरु तह–तह मिलाएर राख्नुपर्छ । तह धेरै बाक्लो हुनुहुँदैन । खाल्डोको आधा भाग मात्र कुहाउने वस्तुले भर्नुपर्छ । यसो गर्नाले पटक पटक पल्टाउन सजिलो पर्छ । कुहाउन राखिएका वस्तुहरु छिटो सडाउनको लागि चिस्यानको मात्रा हुन जरुरी छ । यसमा हावाको संचार हुनुपर्छ । हरेक तहमा एक–दुई बाल्टिन पानी छर्किनाले चिस्यान पुग्छ । कुहाउने वस्तुहरु कुहुन शुरु गरेपछि तापक्रम ६०–९० डि.से. पुग्दछ । यस तापक्रममा धेरैजसो रोगका कीटाणुहरु समेत नष्ट हुन्छन् ।
खाल्डोको आधा बाँकी राखेको भागमा खाल्डो भरेको एक महिनापछि पल्टाउनुपर्छ । दोश्रो पल्टाइ पहिलो पल्टाइको एक महिना र तेश्रो पल्टाइ अथवा अन्तिम पल्टाई दोश्रो पल्टाईको एक–डेढ महिनापछि गर्नुपर्छ । पल्टाउँदा माथिल्लो तहको वस्तु तल र तलको माथि पर्ने गरी पल्टाउनुपर्छ । पल्टाउँदा हरेक तहमा पानी, कम्प्लेक्साल र माटो मिसाउन बिर्सनु हुँदैन । धेरैजसो तेश्रो पल्टाइको एक महिनापछि कम्पोष्ट तयार हुन्छ । कम्पोष्ट तयार भएपछि सम्पूर्ण वस्तुहरु सड्छन् र मल हातमा लिई मिच्दा धूलो पर्छ ।
यसरी गरिएको मलमा विरुवालाई चाहिँने सबै तत्वहरु पाइन्छन् र यस्ते कम्पोष्ट मल बोटविरुवालाई उत्तम हुन्छ ।
(२) खाल्डो नखनी थुप्रो बनाएर कम्पोष्ट मल बनाउने तरिका ः
धेरै उच्च पहाडी क्षेत्रमा कम्पोष्ट मल खाल्डो नखनी थुप्रोमा वस्तु कुहाएर बनाउन सकिन्छ । यस्तो तरिकामा जैविक पदार्थहरु स–साना टुक्रा तह पारी राखिन्छन् । कम्पोष्ट बनाइएका वस्तुहरु जमीनमा ३० से.मी.को बनाएपछि पानीले राम्ररी भिजाउनुपर्छ । त्यसपछि अलिकति युरिया मिलाई गोबर पातलो सतह हुने गरी छोपी दिनुपर्छ । यदि रासायनिक मल प्राप्त नभएमा गोबरसित अलिकति माटो र खरानी मिसाएर कुहाउने वस्तुलाई छोप्न सकिन्छ । यस्तै किसिमले वस्तुहरु राख्दै १ देखि १.५ मिटर अग्लो बनाउनुपर्छ । थुप्रोको माथिल्लो भाग माटोले राम्ररी छोप्नुपर्छ , यसरी छोप्नुको अर्थ थुप्रोबाट खाद्य तत्व उडेर जान नदिनु हो । प्रत्येक एक महिनापछि माथिको वस्तु तल र तलको वस्तु माथि पर्ने गरी माथिकै विधिले पल्टाई छोप्नुपर्छ । ३।४ महिनामा कम्पोष्ट तयार हुन्छ । राम्ररी कुहेको कम्पोष्टको रङ्ग कालो हुन्छ र मल के बाट बनाएको हो भन्ने थाहा हुँदैन ।
कम्पोष्ट मलका फाइदाहरु ः
१. यसले माटोको गुण सुधार्दछ । कडा माटोमा यसको प्रयोगबाट माटो खुकुलो हुन्छ र बलौटे माटोमा कम्पोष्ट प्रयोग गर्नाले उचित मात्रामा कडा मलिलो बनाइदिन्छ । माटोमा रहेका, लाभदायक सूक्ष्म जीवाणुहरुको लागि अनुकूल वातावरण श्रृजना हुन्छ ।
२. माटोको उर्वराशक्ति सन्तुलित रहने हुँदा बालीको उब्जाउ घट्ने डर हुँदैन ।
३. राम्ररी तयार गरिएको कम्पोष्ट मलबाट विरुवालाई रासायनिक मलबाट पाउन गाह्रो पर्ने सूक्ष्म तत्वहरु फलाम, तामा, आइरन आदि प्राप्त हुन्छ ।
४. यसको प्रभाव धेरै वर्षसम्म माटोमा रहिरहन्छ ।
५. कम्पोष्ट मल बनाउनले सड्ने बस्तुको सदुपयोग भइ सर–सफाई हुन्छ ।
६. माटोको पानी ग्रहण गर्न सक्ने शक्ति बढाउँछ ।

प्रकाशित मिति: शनिबार, चैत्र २३, २०७५