आइतवार, जेष्ठ १५, २०७९

कुखुरा फार्ममा बर्डफ्लु आतंक : मासु खादा सजगता अपनाउँ

इ.स. १९९७ मा हङकङमा फेला परेको बर्डफ्लु अहिलेसम्म आईपुग्दा अर्थात इ.स. २०१९ मा बाईस वर्ष पुगेको छ । प्रत्येक वर्ष यस्को संक्रमण नियन्त्रण गर्न गाहो हुदैं गईरहेको स्थिती छ । हालसम्म विश्वका ६० मुलुकमा फैलिएको यस रोगका कारण ३७७ जना मानिसको ज्यान गईसकेको छ । वाईस वर्षको करीव १० करोड संक्रमित वा शंकास्पद कुखुरा नष्ट गरिएको अनुमान छ ।
यो रोगको संक्रमण इन्फलुन्जा भाइरस ए प्रजातीका कारण हुन्छ । जुन प्रायः चरा प्रजातीलाई संक्रमण गराउँछ र द्रुत गतिमा प्रसारण हुन्छ । मानिसमा अति घातक एच ५, एन १ का संक्रमण हङकङमा १९९७ मा अभिलेख गरीयो । युरोप, अफ्रिका र उत्तरी अमेरिकामा यो रोग देखिनुभन्दा पहिला इ.स. २००३ मा एशिया क्षेत्रमा कुखुरा व्यवसाय धरायशायी हुने गरी फैलिएको जुन अवस्था थियो आजसम्म पनि यथावत छ ।
यस रोगको कारण नराम्रो शीत प्रभावित क्षेत्र भनेको अर्वौको लगानी रहेको कुखुरा उत्पादन व्यवसाय श्रृङखला रहेको छ । यस रोगका कारण विश्वव्यापी आर्थिक क्षतिहालसम्म खर्वौ डलर भएको आर्थिक विज्ञको अनुमान छ । यस रोगका कारण कुखुरा व्यवसाय श्रृंखलाले वेहोर्न परेको चुनौती भनेको उपभोत्तामा कुखुरा जन्य काँचो मासु फुल तथा तयारी परिकार प्रति उत्पन्न हुने त्रास प्रमुख मानिन्छ । इ.स. २००६ मा यो रोग फैलिदाँ उपभोत्तामा गरिएका सर्वेक्षण अध्ययनमा करीब ४० प्रतिशतले यस्तो वेला कुखुराको मासु खाईयो भने बर्डफ्लुबाट संक्रमित हुने अभिमत जाहेर गरेको अभिलेख भेटिन्छ ।
त्यस वेला फ्रान्समा कुखुराजन्य उत्पादनको विक्रीमा ३० प्रतिशत कमी आएको देखिन्छ । अझ रोमानियामा यस रोगको संक्रमण भेटिदा सन् २००६ मा कुखुराजन्य उत्पादनको विक्री ८० प्रतिशतले घटेको देखिन्छ । त्यस्तै इटालीमा पानी हांसमा यो रोग देखिँदा ७० प्रतिशतले घट्न पुगेको अभिलेख भेटिन्छ । इ.स २००७ को शुरुको ताका यो रोग देखिँदा इन्डोनेशियामा कुखुरा तथा कुखुरा जन्य उत्पादनको मुल्य ५० प्रतिशतले घट्न पुगेको तथ्य भेटिन्छ । त्यसै गरी हाल उपत्यकामा देखा परेको यस रोगका कारण बजारमा कुखुरा तथा कुखुरा जन्य उत्पादनको कारोबार ५–१० प्रतिशत मात्र हुने गरेको छ, भने कुखुराको मात्र मासु तथा फुलको कारोवार गर्ने करीव ६० प्रतिशत व्यवसायी अहिले आफ्नो कारोवार बन्द गर्ने गरी फुर्सदिला भएका छन् । केही समय अघि भक्तपुर लगायतका क्षेत्रमा देखिएको बर्डफ्लुका कारण कुखुरा व्यवसायीको करीव ५ अर्व लगानी डुवेको थियो । भने करीव ५ हजारले आफ्नो रोजगारी गुमाउनु पर्ने स्थिती थियो ।
आज आम उपभोक्तामा एउटा ठुलो संत्रास सिर्जना भएको स्थिति छ । के एच ५ एन १ को संक्रमणले कुखुरामा लाग्ने बर्डफ्लुका कारण खाद्य, स्वास्थ्य सुरक्षा जोखिममा पर्न सक्छ । एशिया, युरोप, अफ्रिकामा निरन्तर रुपमा कुखुरामा महामारीका रुपमा आजसम्म देखिरहदा र प्रत्येक संक्रमण हुंदाका समय फरक स्रोत फेला पर्दा जनसमुदाय जोखिममा पर्ने त्रास वढेर गएको देखिन्छ । आज सम्मको तथ्यहरु विश्लेषण गर्दा जति मानिस यस रोगबाट संक्रमित भए ती कि त संक्रमित कुखुरा वा संक्रमित मरेका कुखुराहरुसंग लसपस भएका बढि देखिन्छन । यस बाहेक यस प्रजातीको भाइरसबाट प्रदुषित कुखुराजन्य उत्पादनसंगको लसपसले जनसमुदायमा यस रोगको प्रसारण हुने हंदा जनस्वास्थ्यकर्मीहरुको ठुलो चिन्ता छ ।
विकशित देशहरुमा प्राय ः जसो मासु पसल वा सुपरमार्केटमा कि त फ्रिजमा संचय गरिएको वा डिप फ्रिजमा अति हिमकृत गरिएको किनेर खाने चलन छ । अर्कोति एशियाली मुलुकमा मासु प्रयोजनका लागि पशुपंक्षि जिउँदो बजारबाट खरीद गरी आफ्नो घर आंगन बाटो चौबाटो अझ कुखुरा त भान्सामा नै वध गर्ने प्रचलन छ । जस्ले गर्दा एशियाली जनसमुदाय जनस्वास्थ्यमा गंभीर असर पार्ने रोग वोकेका पशुपंक्षीहरुसंग लसपस हुने जोखिम बढि रहन्छ ।
अव्यवस्थित शहरीकरणका कारण घनावस्ती बाटो चौबाटोमा रोगका विषाणु जीवाणु सार्दै जान मद्दत पु¥याउछन पनि । यसरी खुला अनि ताजा मासु बजारलाई जनसमुदायमा एच ५ एन १ संक्रमणको मुख्य श्रोत मानिएको छ । अहिल मकवानपुर, कास्की र काठमाडौंमा देखा परेको वर्डफ्लुका कारण कुखुराको मासु तथा फुल खान हुन्छ वा हुँदैन भन्नेमा उपभोक्तामा द्धिविधा र त्रास व्यापक रुपमा पाइन्छ ।
एच ५ एन १ भाइरस तातो वातावरण प्रति वढि संवेदनशिल मानिन्छ । त्यसकारण यदि कुखुराको मासुको सबै भाग तथा भित्री भागसम्म ७० डिग्री सेन्टीग्रेड तापक्रम पुग्ने गरी पकाएमा त्यस्तो मासु जनस्वास्थ्यका लागि सुरक्षित मानिन्छ । तर उपभोक्ताले काँचो कुखुराको मासु नपकाइकन खाने गरिने सलाद, हरियो तरकारीसंग लसपस भइ प्रदुषित हुने प्रति सजग हुन जरुरी छ । कुखुराको काँचो वा अति हिमकृत मासु कांट छांट गर्ने वा पकाउन तयार गर्ने मानिसले भने खाली नाङगो हात खुल्ला नाक मुख गरी यस्ता मासु चलाउन हुँदैन कम्तीमा पनि हातमा पंजा मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुन्छ । यस वाहेक मासु काँट छाँट गरी सके पछि हात राम्रोसँग साबुन पानीले सफा गर्ने मासु तयार गर्दा प्रयोग गरिएका भाँडा कुँडा, औजार, अचानो लाई राम्रोसँग सफा गरी निर्मलीकरण तथा निसंक्रमण गर्नु पनि यस रोगको संक्रमणबाट वच्ने उत्तम उपाय हो । सकभर भान्सामा कुखुरा वा अन्य जनावरको मासु काँट छाँट धोइ पखाली गर्ने तथा पकाउने भाडाँ कँुडा औजार अचानोहरु अन्य खाले तरकारी जन्य सामाग्री तयार गर्न प्रयोग नगर्नु नै वेश । डा. केदार कार्की

प्रकाशित मिति: सोमवार, चैत्र ४, २०७५