शुक्रबार, चैत्र १६, २०८०

नाम मात्रैको ‘क्वारेन्टाइन’ चेकपोस्ट

काठमाडौं, फागुन। नेपाल–भारत सीमा झुलाघाटमा प्लान्ट क्वारेन्टाइन उप चेकपोस्ट कामविहीन भएको छ । कृषिजन्य वस्तुको आयात निर्यात न्यून हुँदा काम नभएको हो ।

उक्त नाकामा आयात र निर्यात हुने कृषि तथा जडीबुटीजन्य वस्तुको गुणस्तर चेकजाँच quarentineर दस्तुर संकलन हुनुपर्नेमा सधैं सुनसान हुन्छ ।  कार्यालयका कृषि प्राविधिक सहायक कृष्णप्रसाद चौधरीका अनुसार कृषिजन्य वस्तु आयात निर्यात थोरै मात्रामा हुन्छ । सीमा पारिको झुलाघाट बजारबाट दाल, मैदा, पीठो, आलु, काउली र टमाटरलगायतका खाद्यान्न तथा तरकारी आयात हुन्छन् । दैनिक उपभोगका लागि मात्रै आउने भएकाले सबैबाट क्यारेन्टाइन चेकजाँच र दस्तुर संकलन गर्ने अवस्था नभएको कार्यालय प्रमुख चौधरीले बताए । व्यापारीले १/२ बोरा तरकारी, दाल र मैदालगायतका वस्तु ल्याउँदा दस्तुर असुल्न नसकिएको उनले सुनाए ।

कार्यालयमा ४ दरबन्दी रहेकामा उनी र कार्यालय सहयोगी मात्रै छन् । दशकदेखि दुई जनाले कार्यालय कुर्दै आएको उनले बताए । ‘आयात घरायसी उपभोग्य सामग्रीको बढी हुन्छ, निर्यात शून्य छ, काम नभए पनि रित्तो कार्यालय कुर्दै आएका छौं,’ उनले भने । गुणस्तर परीक्षणका लागि प्रयोगशाला भए पनि प्रयोगविहीन छ । मेसिन प्रयोगमै आउन सकेको छैन । निकासी र आयात दस्तुर संकलन निकै न्यून छ । ‘१० वर्षयता वार्षिक १० हजार बढी राजस्व उठेको छैन,’ उनले भने । दैनिक लाखौंको कृषिजन्य वस्तु आयात हुँदै आए पनि सीमापारिका व्यापारीको मिलेमतोमा आयात गर्दा क्वारन्टाइन जाँच र दस्तुर संकलन नहुने गरेको स्थानीयको आरोप छ । घरायसी उपभोगका वस्तु भन्दै थोरै मात्र ल्याउँदा दस्तुर संकलन र चेकजाँच गर्ने अवस्था नभएको चौधरीले बताए । १/२ ब्यापारीले मात्रै सातामा २/४ बोरा तरकारी, दाल र मैदा आयात गर्दा दस्तुर कम भएको उनको दाबी छ । -खगेन्द्र अवस्थी, कान्तिपुरबाट

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ३, २०७३