बुधबार, जेष्ठ ११, २०७९

बाख्रापालनबाट मासिक डेढ लाख कमाइ

नुवाकोट, वैशाख । रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । मैलुङमा खेतीका लागि उर्वर भूमि नहुँदा आर्थिक अवस्था कमजोर भएका ५६ वर्षीय तामाङले २० वर्षअघि एउटा बाख्राबाट बाख्रापालन शुरु गरेका हुन् । अहिले उनको खोरमा ७० भन्दा बढी बाख्रा छन् । दुई दशकको अवधिमा उहाँले २०० भन्दा बढी बाख्रा बिक्री गरिसकेका छन् ।

“आम्दानी राम्रै भएको छ, घर चलाउन अरु केही गर्नु परेको छैन,” तामाङले भने, “लगानी पनि धेरै गर्नु परेको छैन, चरनको भरमा चलिरहेको छ ।”

स्थानीय रैथाने जातको बाख्राबाट एकवर्षमा २० भन्दा बढी खसीबोका बेच्ने गरेको उनी बताउछन्। “एउटै खसीबोकाको रु आठ हजारदेखि रु १५ हजारसम्म लिएको छु,” उनले भने, “बाख्राकै आम्दानीबाट बचतसमेत गरेको छु ।”

मुख्य पेशा बाख्रापालन बनाएका तामाङले सामाजिक संस्था तथा सरकारीस्तरबाट केही सहयोग नपाएको गुनासो गरेका छन् । चरनको भरमा हुर्केका र औषधिसमेत नखुवाई पालिएका भएर उनले पालन गरेका खसीबोका खरिद गर्न ग्राहक घरसम्म नै पुग्ने गरेको उनी बताउछन्।

 

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५