शनिबार, कार्तिक ६, २०७८

सवै किसानको पछि लाग्न पनि सकिँदैन : अच्चुतप्रसाद ढकाल, विषादी रजिष्ट्रार

Achut prasad dhakal (1)अहिले खाद्य बालीका बिषादी प्रयोगको अवस्था कस्तो छ ?
नेपालको सन्दर्भमा खाद्य बालीहरुका बिषादीको प्रयोग त्यत्ति भयाबह रुपमा भएको छैन । जापान, दक्षिण कोरिया लगायतका देशहरुमा प्रतिबर्ष प्रतिहेक्टर १२ देखि १६ किलो बिषादी प्रयोग भएको पाईन्छ । हामीले १ सय ४२ ग्राम प्रति बर्ष प्रति हेक्टर भनिरहेका पनि छौं । बाली बिशेषमा गरेर केही बढी भने देखिन्छ तर बिषादी प्रयोग गरिसकेपछि कति बेर फर्कनु पर्दछ भनेर हामीले किसानहरुलाई सिकाउन सकेका छैनौं । अहिले बजारमा ल्याएका तरकारी बालीहरु विषादी प्रयोग भएको केही समयभित्रै ल्याइने र त्यसले असर गर्ने चर्चा पनि चलिरहेको छ । त्यसमा किसानहरुको मात्र दोष पनि होइन । किसानलाई सुसूचित गराउन सकिएको छैन ।
किसानहरुले बिषादी प्रयोग नगरी पनि नहुने गरेर पनि बेफाइदा छ के गर्ने त किसानहरुले ?
त्यसका लागि नेपाल सरकारले नै कडा खालका विषादीहरुका पञ्जिकरण खारेज गर्ने अवधारणा ल्याएको छ । उदाहरणका लागि रातो लेवल लगाएका विषादीहरु विस्तारै न्यूनिकरण गर्दै जाने, त्यसका लागि जैविक बानस्पतिक विषादीलाई अगाडि बढाउने हिसावले हामी अगाडि आएका छौं । पछिल्लो समयसम्मको तथ्याङ्क हेर्ने हो भने ३२ वटा जैविक तथा प्राङ्गारि बिषादीहरु पञ्जिकरण भईसकेका छन् । त्यसले विस्तारलै गति लिदै छ भने हामीले १५ वटा रसायनिक विषादीहरु प्रतिवन्ध गरिसकेका पनि छौं ।
त्यसो भए ३२ वटा जैविक तथा वानस्पतिक विषादी विक्री वितरण शुरु भईसकेको छ होइन ?
हो जति पनि व्यवसायीहरुले पञ्जिकरण गरिसक्नु भएको छ उहाँहरुले ती बानस्पति बिषादी विक्री शुरु गरिसक्नु भएको छ । किसानहरुले खोजेको बेलामा ती बिषादी पाउन सक्नु हुनेछ । तर के भने यथेष्ट मात्रामा सवै रोक किराको बिषादी भने आईनसकेको अवस्था छ । नेपालमा नै जैविक तथा बानस्पतिक बिषादी बनाउने कारखानाहरु धेरै नभएका कारण पनि केही समस्या त छ नै तर पनि नेपालमा पनि सरकारले अनुदान दिने नीति ल्याईने तयारी गरिरहेको छ । त्यो नीतिले के भनिरहेको छ भने गाउँसम्म किसानको पहुँच पुग्ने गरी कृषकसमूहसम्म नै अनुदानको व्यवस्था दिन सक्ने कुरा पनि उल्लेख गरिएको छ ।
कतिपय खाद्यबालीहरु जैविक भन्ने तर रसायनिक मल एवं बिषादीहरु प्रयोग हुने गरेको पाइएको छ भनिन्छ नि ?
कतिपय कुरा हामीले पनि सुन्ने गरेका छौं । बजारमा विक्री गर्न ल्याईएका खाद्यबालीमा कुन बिषादी प्रयोग गरेको छ भन्नेकुरा जाँच गर्ने मेसिन अहिलेसम्म छैन । जहिले पनि प्राङ्गारिक कृषि भनेको विश्वासको आधारमा हुने हो । तर जैविक विषादी प्रयोग गर्न चाहन्छु भन्ने किसानहरुका लागि धेरै नै सहयोग भने छ । तालिम प्रदान गर्ने, सीप प्रदान गर्ने काम भने गरिरहेको छ । रसायनिक बिषादी नेपालमा बन्दैन करोडौं रुपैयाँ बिषादीका लागि बाहिरिएको छ । त्यसका लागि पनि सरकारले आप्mनै देशमा जैविक वानस्पतिक बिषादी बनाउने कामका लागि त प्रोत्साहन गरिरहेको छ । जसले माटोको मात्र होइन पशु स्वास्थ्य मानव स्वास्थ्यमा समेत असर पु¥याउँदैन । वातावरणलाई पनि असर नगर्ने भएकाले प्राङ्गारिक कृषिका लागि जैविक तथा बानस्पति बिषादी उत्पादन बढाउनका लागि सहयोग गर्नु पर्दछ ।
विश्वास कै आधारमा प्राङ्गारिक कृषि हो भन्ने बुझ्नु प¥यो त्यसो भए ?
हो किसानले मैले रसायनिक बिषादी प्रयोग गरेको छैन भन्ने विश्वास कै आधार नै महत्वपूर्ण हो  । प्राङ्गारिक कृषिमा त न रसायनिक मल प्रयोग गर्न पाईयो न  बिषादी नै । अहिलेसम्मलाई हेर्ने हो भने जति पनि किसानहरुले प्राङ्गारिक कृषि गर्नु भएको छ उहाहरुले त्यसो गर्नु हुन्न भन्ने लाग्छ । रसायनिक बिषादी प्रयोग ग¥यो कि गरेर भनेर सवै किसानको पछि लाग्न पनि सकिँदैन । रसायनिक बिषादी प्रयोग भए नभएको अवशेष विश्लेषण गर्न सकिन्छ तर त्यो समय बढी लाग्ने हुन्छ । त्यसका लागि पनि विश्वासको आधारमा हो भन्न सकिन्छ ।
नेपाल सरकारले प्रतिवन्ध लगाएका बिषादी पनि विक्री वितरण हुने गरेको सुनिन्छ नि ?
ती कुराहरु हामी कहाँ नआएका होइनन आएका छन् । ती कुराको अनुगमन जिल्ला कृषि विकास कार्यालय, क्षेत्रिय कृषि विकास कार्यालय, बिषादी पञ्जिकरण शाखा सवैले नै गरिरहेका हुन्छन् । हामीले अनुगमन गर्दा सूचिकृत नभएका र प्रतिवन्धित औषधि भेटिएका छैनन् । भेटिएको अवस्थामा ती औषधी वा बिषादी तुरुन्तै जफत गर्ने र जहाँबाट ल्याईएको हो त्यही फिर्ता गर्ने गरेका छौं ।
प्रतिवन्धित बिषादी बेच्नेलाई के कार्वाही गर्नु हुन्छ त ?
ऐनद्धारा प्रदत्त अधिकारले के भन्छ भने तत्काल बिषादी जफत गर्न सकिने छ । त्यसलाई जरीवानाको पनि व्यवस्था गरेको छ । मुद्दा हाल्ने व्यवस्था गरिएको छ । त्यसले गर्दा ऐनलाई आधार मानेर कानूनी कार्वाही गर्न सकिन्छ । तर पनि अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने जफत गर्ने काम धेरै गरिएको छ । केही समय अगाडि मात्र काभ्रेमा खाद्यान्न र बिषादी एकै ठाउँमा विक्री गर्न राखिएको देखियो र तुरुन्तै जफत गरियो । तर कार्वाही भएको लगत भने छैन ।
सरकारले पनि जैविक तथा बानस्पतिक बिषादीमा जोड दिईनै रहेका छ किसानहरु कत्तिको आकर्षित भएका छन् त ?
हाम्रा किसानहरु पनि तुरुन्तै बिषादी हालेपछि तुरुन्तै किरा मरोस् भन्ने खोज्ने खालको धेरै नै छन् । जैविक तथा बानस्पतिक बिषादीको असर ढिलो हुन्छ तर दीर्धकालिन हुन्छ । जस्तै निमबाट उत्पादित बिषादीले धेरै नै काम गरिरहेको छ । यस्ता बिषादीमा धेरै नै गुणहरु छन् ती कुराहरु किसानहरुलाई बुझाउन सकिरहेका छैनौं । रसायनिक बिषादीले किरालाई मार्ला वा किराले पचाउला त्यो पनि हुन सक्छ ।  त्यसले वातावरणीय रुपमा कति असर पारिरहेको छ भन्ने कुरा पनि बुझाउनु आवश्यक छ । विस्तारै विस्तारै किसानहरुका लहर भने आएको छ । धेरै किसानहरु यसप्रति ईच्छुक भएका छन् । धेरै किसानहरु प्राङ्गारिक कृषिमा आईसक्नु भएको छ भने युवाहरु पनि यस तफै बढी आकर्षित भएको देख्न सकिन्छ । काठमाडौं भित्रै धेरै अर्गानिक कृषि गर्ने किसानहरु बढिरहनु भएको पाएका छौं । जिल्लाहरुमा पनि त्यस्तै आकर्षण बढिरहेको पाएको छु ।
अब यसका लागि के गर्ने त ?
किसानहरुलाई हामीले बिषादीको वैकल्पिक व्यवस्था गर्न सक्नु पर्दछ । यो बिषादीको सट्टा यो बिषादी राम्रा छ भन्न सक्नु पर्दछ । किसानलाई रसायनिक बिषादी प्रयोग नगरौं भन्ने जनचेतना जगाउनु अनिवार्य भईसकेको छ । यदि रसायनिक बिषादी गर्ने पर्ने अवस्थामा छ भने गर तर बिषादी प्रयोग भएपनि कुर्नु पर्ने समयलाई अनिवार्य पालना गर भन्ने हो । अर्को कुरा कति मात्रा बिषादी प्रयोग गर्ने हो त्यो सवै प्राविधिकहरुको सल्लाहमा कम वा बढी होइन ठिक मात्रामा प्रयोग गर्ने सिकाउने र त्यसबाट पर्ने दुरगामी असरका बारेमा बुझाउन सक्ने हो भने रसायनिक बिषादी न्यूनिकरण गर्दै गएर रोक्न सक्छौं भन्ने लाग्छ ।
रसायनिक बिषादी न्यूनिकरण गर्नका लागि कस्ता पहल गर्नु भएको छ त?
वास्तवमा भन्ने हो भने बिषादी पञ्किरण शाखाले हालसालै मात्र ३६ स्थानमा सचित्र होडिङ्गबोर्ड राखेका छौं । ती होडिङ्ग बोर्डहरुमा बिषादी प्रयोग गर्दा त्यसबाट पर्ने असरहरुको फोटो समेत राखेका छौं । स्थलगत रुपमा किसानहरुलाई सचेत गराउने, रेडियो टेलिभिजनका माध्यमबाट पनि हामीले बिषादी न्यूनिकरण गर्नका लागि पहल गरिरहेका छौं । अहिलेका अवस्थामा सवैको साथ र सहयोग पाउने हो भने यो अभियान सफल हुन्छ । यसका लागि चुनौति कहाँ छ । सवैभन्दा चुनौति भनेको यसलाई एकीकृत रुपमा कसरी लैजाने भन्ने हो र अर्को ऐन नियम, जनशक्तिको कुरा, तालिमका कुराहरुले पनि चुनौति हो । किसानहरुलाई बालीमा लागेको रोग अनुसार यो बिषादी प्रयोग गरमात्र भनेका छौं । तर बिषादी प्रयोग भएपनि कति दिन कुर्ने भन्ने कुरा सिकाइएको छैन । सवैभन्दा ठूलो चुनौति नै त्यही नै हो । यसका लागि सरकारको मात्र होइन सवै क्षेत्रबाट सहयोग हुनु पर्दछ । वर्तमान ऐन नियमलाई परिमार्जन गर्नु पर्ने देखिन्छ । ऐन नियम नरम भएका कारण पनि रसायनिक बिषादी न्यूनिकरण गर्न चुनौति देखिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७०