बिहिबार, फाल्गुन १७, २०८०

गलामा माला लगाएका मकरबहादुर,स्थानीय सरकारले ५० हजार रूपैयाँसहित सम्मान

पाँचथर । फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो।

गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमा व्यस्त थिए। भान्सामा चिया र नास्ता पाक्दै थियो। सबैलाई चिया(नास्ता गरेर मात्रै जान आग्रह गर्दै थिए मकरबहादुर।

मकरबहादुरले यसपालि १६८ मुरी धान उब्जाएका थिए। सोही कारण त्यस दिन उनलाई स्थानीय सरकारले ५० हजार रूपैयाँसहित सम्मान गरेको थियो।

सम्मान कार्यक्रममा उपस्थित सबैले ५६ वर्षीय मकरबहादुर र उनकी ६० वर्षीय श्रीमती टीकामायाको मेहनतको प्रशंसा गरिररहेका थिए।

फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ३० हजार र सय मुरीभन्दा बढी धान फलाउने किसानलाई ५० हजार रूपैयाँ पुरस्का दिने घोषणा गरेको थियो।

सोही घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुग्नुभएको पुगेका थिए। उनले एक सय मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा जानकारी गराए। त्यसपछि नै उनको घरमा उनले उत्पादन गरेको धान हेर्न र भर्न जनप्रतिनिधि र कर्मचारी मकरबहादुरको खलामा पुगेका थिए।

धान भर्दा मकरबहादुरले भनेबमोजिम १६८ मुरी पुगेपछि जनप्रतिनिधिले खुशी हुँदै उनको प्रशंसा गरे। मकरबहादुरले आफूले त्यति धान फलाउन गरेको मेहनतको फेहरिस्त सुनाउँदै गए।

उनको दम्पतीले यसपालि फाल्गुनन्द–७ को सिस्ने, काब्रेती, घरमुनी, करमबोटे र खोल्साइले गरी पाँचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए।

उक्त बीउबाट फलेकोमध्ये ३० मुरी धान उहाँले यसअघि नै बिक्री गरिसकेको बताउनुभयो। त्यसैले उनले फलाएको धान एक सय ६८ मुरी मात्र गणना भयो। गत मङ्सिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको आफूले थाहा पाएको मकरबहादुरले बताए।

फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ।

त्यतिका धान मकरबहादुरले आफ्नै खेतमा फलाएका भने होइनन्। आफ्नै दुई रोपनी र अन्य खेत अधियाँमा लिएर धान खेती गरेका हुन्।

फाल्गुनन्दका इन्द्रनारायण आङदेम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा आफैंले खेती लगाउने गरेको मकरबहादुरले बताए।

‘वडाध्यक्षले खबर गरेपछि गत मङ्सिर १३ गते गाउँपालिकामा गएर एक सय ८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ,’ मकरबहादुरले भने।

विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उनको भनाइ छ।

‘विसं २०५६ मा म सगोलको परिवारबाट छुट्टिँदा निकै दुःख पाएँ, दुई पाथी धान लुकाएँ। त्यतिबेला मेरो पाँचजनाको परिवार थियो,’ उनले भने, ‘मेरो नाममा दुई रोपनी जग्गा छ। यसको उब्जनीले नपुगेपछि पाँचजनाको जग्गामा खेती गर्दै आएका छौँ। ३० मुरीभन्दा कम धान फल्ने कुनै खेत छैन।’

मकरबहादुरले ती खेत बन्धकी, कुत र अधियाँमा लिएका हुन्। उनले मकैका लागि पाखो बारी अधियाँमा लिएका छन्।

किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले धानका खलाखलामै कर्मचारीलाई बोलाएका थिए। तर सबै धान भेला पारेर जोख्न मन लागेपछि घर छेउको खेतको खलामा सबै धान जम्मा गरे।

‘धान जम्मा गर्न सात हजार खर्च भयो। धान झारे पनि पराल दाइँ गर्न भ्याएकै छैन्,’ उनले भने।

बम्जन दम्पतीका तीन छोरा झापाको दमकमा बसोबास गर्छन् भने तीन छोरी विवाह गरेर गइसकेका छन्। तर धान फलाउन बम्जन दम्पतीले छरछिमेकीको साथ पाइरहेका छन्।

‘दुःख नभई सुख हुँदैन रहेछ। साथीभाइले मैले भनेको टार्दैनन्, नाइँ भन्दैनन्,’ मकरबहादुरले भने।

विसं २०६० देखि धान खेती गरेको उनले बताए। उनका अनुसार पाखा खेतमा पानीको समस्या भए पनि निबु खोलाको बेँसीमा समस्या छैन।

गाउँपालिकाले रु ५० हजार पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने मकरबहादुरको योजना छ।

‘गाउँपालिकाले दिएको रकमले एउटा माउ भैँसी किन्ने योजना छ,’ उनले भने। बम्जन दम्पतीले लामो समयदेखि बर्षेनि एक सय मुरीभन्दा बढी धान फलाउँदै आएको स्थानीयवासीले बताए। रासस/ कृषि सा.

प्रकाशित मिति: आइतवार, पुस ८, २०८०