मङ्लबार, जेष्ठ १५, २०८१

बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी

गल्याङ । स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालेका छन् । सात वर्ष विदेश बसेर फर्किएका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका छन् ।

“विदेशमा नेपालीले कम्पनीमा जस्तोसुकै राम्रो काम गरे पनि पूरै कामदारले गाली खानुपरेको देख्दा अत्यन्त दुःख लाग्थ्यो, त्यो समय स्वदेश फर्केर केही गरौँ भन्ने हुन्थ्योे”, कृषक खनालले भने, “मैले होटलमा काम गर्थें, कोरोनाका कारण होटल बन्दभएपछि कम्पनीले घर पठाइदियो, मलाई पनि के खोज्छस् आँखो भनेजस्तै भयो ।”

उनले विदेशबाट फर्केपछि पाँच माउँबाट व्यावसायिक बाख्रापालन सुरु गरेको बताए । “यता बाख्रापालन व्यवसाय चलिरहेको थियो, कोराना कहरको अन्तिमतिर कम्पनीले बोलायो”, उनले थपे, “भौतिक सुविधा मात्र ठूलो कुरा होइन, परिवारसँग रमाएर व्यवसायमा गर्नु पनि जीवन सुन्दर पक्ष हो भन्ने लागेर विदेश नगएर आफ्नो पेसालाई निरन्तरता दिएँ ।”

उनले स्थानीय खरी जातका बाख्रा, जमुनापारी क्रस, बोयर क्रस र सानन् क्रस बाख्रा पाल्दै आएका छन् । फार्ममा अहिले साना ठूला करिब ७० वटा बाख्रा रहेका छन् । यहाँ उत्पादित बाख्रा स्थानीय बजारमा खपत हुँदै आएका छन् । कृषक खनालको व्यवसायबाट हाल १० जनाको परिवार पालिँदै आएको छ । “घरमा राजगारको गतिलो माध्यम छैन त्यसैले परिवारका सबै जना यही बाख्रापालन व्यवसायमा आश्रित हुनुपरेको छ”, उनले भने, “वार्षिकरुपमा रु तीन÷चार लाख आम्दानी हुन्छ यसैबाट परिवारको गर्जो टरेको छ ।”

उनले हालसम्म जिल्ला भेटिनरीबाट खोर सुधार कार्यक्रमअन्तर्गत १ लाख र वालिङ नगरपालिका र युएनडिपीको संयुक्त पहलमा कोभिड–१९ प्रतिकार्य परियोजनाअन्तर्गत रु ५० हजार अनुदान पाएका छन् । कृषक खनालसँग स्टिल फिडिङ र एक आधुनिक खोर छ । उनले सुपरनेपियर, जैयाँ घाँस, मेन्डुला, राई खनियो, कोइरालोलगायतका घाँस पनि लगाएका छन् ।

उनले व्यवसायबाट आफूलाई सन्तुष्टि मिले पनि पहुँचका आधारमा अनुदान वितरण हुँदा दुःख लाग्ने गरेको बताए । “बन्द कोठामा कागज मिलाएर अनुदान खाने प्रचलनलाई निरुत्साहित गर्नुपर्छ”, उनले भने, “अनुदान र सुलभ दरको कर्जा वितरण गर्दा किसानको फार्ममै पुगेर अवलोकन गर्नुपर्छ, वास्तविक किसान हो भने मात्र राज्यले दिएका सुविधा दिनुपर्छ ।” उनले पशुपन्छीको निःशुल्क बीमा हुनुपर्ने र किसानले दावी गरेको बीमा रकमसमेत सहज तरिकाले नपाउने गरेको दुखेसो पोखे ।

उनलाई ३० वर्षीया श्रीमती चुना, ३२ वर्षीय भाइ खिनप्रसाद, ७६ वर्षीया आमा धनकुमारीले व्यवसायमा सहयोग गर्दै आएका छन् । उनले घाँस, बीउबिजन, उपचार, हेरचाहलगायतका तालिमको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे । खनालले आफ्नो फार्मलाई अध्यन अवलोकनको थलो बनाउने उद्देश्यसहित काम अगाडि बढाएको दाबी गरे । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०