बुधबार, बैशाख १२, २०८१

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

इलाम । इलाम रोङ–६ का दावा स्याङ्बोले एक सय पचास घारमा मौरी पाल्नुभएको छ । विसं २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएका यनले सेरेना जातका मौरी पालेका हुन् ।

पाँचवटा छुट्टाछट्टै स्थानमा करिब ४० वटाका दरले घार व्यवस्थापन गरिएको उनले बताए । उनले भने, “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन ।” उत्पादनको पाँच प्रतिशत मात्र घारका लागि खर्च गर्न सकियो भने मौरी फस्टाउने उनको भनाइ छ । एउटा घारमा सातामा एक पटक अनिवार्य पुग्नैपर्ने उनले बताए ।

उनले वार्षिक दुई सयदेखि दुई सय पचास किलोसम्म मह उत्पादन गर्दै आएका छन् । घरबाट नै प्रतिकिलो १ हजार ५ सयका दरले मह बिक्री हुँदै आएको छ । मह मात्रै होइन, घारका ‘फ्रेम’ पनि रु एक हजारका दरले बिक्री गर्छन् । एक घारका लागि चार वटा फ्रेम चाहिन्छ ।

स्याङ्बाले जस्तै रोङ– ३ का प्रेमबहादुर राईले पनि ३० वटा आधुनिक घारमा मौरीपालन गरेका छन् । उनले वार्षिक करिब एक सय किलो मह उत्पादन गर्दै आएका छन् । रोङ गाउँपालिकाका धेरै स्थानमा मह उत्पादन हुन्छ । अधिकांश स्थानीय व्यावसायिक महबाटै आत्मनिर्भर बनेका छन् । गाउँपालिकाले मह उत्पादनमा सहयोग गर्न थालेपछि स्थानीयले मह उत्पादनलाई नै प्राथमिकता दिएका हुन् । ग्रन्द्रुक ब्राण्डिङमा सफल भएको इलामको रोङ गाउँपालिका पुन : महमा समेत एक कदम अघि बढेको हो । पछिल्लो समय ‘रोङ मह’ सधैँ र सबै ठाउँमा किन्न पाइँदैन भन्ने नारा सहित सो गाउँपालिका अघि बढेको छ ।

गाउँपालिकाले मौरीपालनलाई गाउँपालिकाको पहिचानका रुपमा स्थापित गर्न यो कार्यक्रम नै अगाडि बढाएको अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए । उनका अनुसार मौरीपालन व्यवसायमा गाउँपालिकाले पहिला पनि लगानी गरेको र अब पनि प्राथमिकतामा यस व्यवसायलाई अघि बढाइने छ । केही वर्षअघि पनि गाउँपालिकाले सुरुमा मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि रु ११ लाख छुट्याएको थियो । अर्को वर्ष २० लाख बजेट छुट्याएर काम अगाडि बढाएको थियो । सो समय किसानलाई आधुनिक मौरीपालनको सीप सिकाउनेदेखि अनुदानमा घार वितरण गर्ने कार्यक्रम तय गरिएको थियो ।

चालु आर्थिक वर्षमा मौरीपालन र व्यावसायिकताका लागि गाउँपालिकाले रु ५० लाख रकम विनियोजन गरेको गाउँपालिकाका पशु शाखा प्रमुख तीर्थराज देवकोटाले जानकारी दिए । मौरीपालन व्यवसायलाई रोङको पहिचान बनाउन गाउँपालिकाले थप लगानी गरेर मह उत्पादनमा जोड दिइने गरिको कार्यक्रम अगाडि बढाइएको उनको भनाइ छ । गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरी पालनको विकासमा लागेको छ । मौरीले वातावरण जोगाउनका लागि राम्रो भूमिका निर्वाह गर्ने भएकाले पनि मौरी जोगाउनुपर्ने बताइएको छ । साथै मौरी रहेमा मह समेत उत्पादन गर्ने र किसानको जीविकोपार्जनमा सहयोग पु¥याउने छ ।

परागशेचनले ताकारीबाली फल्नसमेत मद्दत गर्ने भएकाले पनि मौरी जोगाउन लगानी गरेको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाइ छ । मौरीले विषादी सेवन गर्ने भएकाले विभिन्न रोगबाट मानिसलाई बचाउने गरेको विज्ञहरुको भनाइ छ । गाउँपलिकाले किटेनीबाट नजिकै पर्ने हडियामा डेढ रोपनी जग्गामा मौरी विकास केन्द्र स्थापना गरेर काम अगाडि बढाएको छ । केन्द्रमा हाल ३२ घार मौरी छन् ।

गाउँपालिकाले सो क्षेत्र मौरीमा राम्रो सम्भावना देखेर मौरीका लागि छुट्टै शाखा र स्रोतसमेत छुट्याइएको छ । साथै स्रोत व्यक्ति नै राखेर काम अगाडि बढाइएको छ । मौरी विज्ञका रुपमा रहेका सोही गाउँपलिकाका कुमार तामाङ गाउँपालिकाको मौरी स्रोत व्यक्तिका रुपमा राखेर सो कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकामा मौरीको लागि मौरी विकास शाखा छ ।

तामाङले मौरीपालनका लागि उचित क्षेत्रको छनोट, किसानको छनोट, तालिम सञ्चालन, तथा अनुदानमा घार वितरण गर्न सिफारिस गर्ने लगायतका कार्य गर्नुपर्दछ । साथै मौरीको उपचार गर्नेसम्मको जिम्मेवारी उनले पाएका छन् । गाउँपालिकाले मौरी विकास केन्द्रबाट मह तथा मौरीका घार तथा मौरीसमेत बिक्री वितरण गर्ने र आम्दानीको स्रोत बढाउने रहेको छ । रासस

प्रकाशित मिति: बिहिबार, जेष्ठ ४, २०८०