शनिबार, बैशाख ८, २०८१

किसानले ६५ लिटर मूल्य पाउँदा उपभोक्ता १ सय २० तिर्न वाध्य

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको करीव दुई साता वित्न लागेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरुले उत्पादन गरेको दूधको लागत मूल्य नपाएको भन्दै आन्दोलनमा उत्रिएपछि दूधको मूल्य बढाउने सहमति समेत भएको थियो ।

सोही सहमति अनुसार मन्त्रालयले सरोकारवाला निकाय पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, राष्ट्रिय दुग्ध उत्पादक सहकारी तथा विभिन्न किसानसँग सम्वन्धित संगठनहरु समेत पटक पटक भएको छलफल पश्चात दूधको मूल्य बृद्धिका लागि मन्त्रीपरिषद्मा पेश गरेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिफारिस गरेकै आधारमा दूधको मुल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने सरकारले निर्णय समेत गरेको छ । सरकारले गरेको निर्णय अनुसार किसानहरुले उत्पादन गरेको दूधको मूल्य विक्री गर्दा ६५.५ रुपैयँया पाउने भएका छन् ।

तर किसानहरुले जुन मात्रामा सरकारले बढाएको मूल्य प्राप्त गरेको छन् । त्यसको दोव्वर मूल्य भने उपभोक्ताहरुले तिर्नु परिरहेको छ । दूध उत्पादन गर्ने किसानहरु भन्दा किसानहरुबाट दूध संकलन गरी उपभोक्तालाई विक्री गर्ने व्यापारीहरुले त्यसको फाइदा लुटिरहेको देखिन्छ ।
काठमाडौं उपत्यका भित्रको कुरा गर्ने हो भने पनि अहिले उपभोक्ताहरुले दूधको मूल्य प्रतिलिटर १ सय २० तिर्न वाध्य भएका छन् ।

खुल्ला डेरी व्यवसायीहरुले त अझ त्यसलाई बढाएर १ सय ३० सम्म पनि लिने गरिएको पाईएको छ । गाईबस्तुको पालेर कष्ट गर्ने किसानहरुले लागत मूल्य समेत नपाउने तर, दूध व्यापारीहरुले भने किसानहरुले पाउने भन्दा दोव्वर मूल्यमा उपभोक्ताहरुलाई दूध विक्री गरिरहँदा पनि सरकारी निकाय बेखवर जस्तै देखिन्छ ।

सरकारले दूध उत्पादन गर्ने किसानहरुलाई जुन मात्रामा मूल्य बृद्धि गरेको छ, सोही मात्रामा उपभोक्ताहरुलाई मूल्य बृद्धि गर्नु पर्ने थियो । तर त्यसो हुन सकिरहेको छैन । दूधको मूल्य बृद्धि हुनु भन्दा अगाडिसम्म उपत्यकामा प्रति लिटर १ सय रुपैयाँमा विक्री भईरहेको मूल्य सरकाले ९ रुपैयाा किसानहरुलाई बढाउँदा उपभोक्तालाई भने व्यापारीहरुले २० रुपैयाँ मूल्य बृद्धि गरेका छन् ।उपभोक्ताहरु यसरी ठगिँदा पनि उपभोक्तावादी संघसंगठनहरु भने मौन देखिन्छन् ।

किसानहरुले दूध उत्पादन गर्दा पर्ने लागत मूल्यका आधारमा किसानहरुलाई मर्का नपर्ने गरी र लागत मूल्य भन्दा केही फाइदा हुने किसिमले मूल्य बृद्धि गर्न सरकारलाई मन्त्रालयले सिफारिस गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ताले प्रकाश सञ्जेलले जानकारी दिए ।
सञ्जेलले भने, ‘हामीले किसानहरुले पाउनु पर्ने मूल्य बृद्धि गर्न सरकारलाई सिफारिस गर्ने हो उपभोक्ताहरुको खरिद मूल्य तोक्ने कार्य मन्त्रालयको अधिकार क्षेत्रमा पर्दैन । ’ अहिले किसानलाई ९ रुपैयाँ दूधको मूल्य बृद्धि हुँदा व्यापारीले २० रुपैयाँ भन्दा बढी रकम उपभोक्ताहरुबाट असुल्ने कार्य गरिरहँदा पनि सम्वन्धित निकाय मौन देखिन्छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र २, २०७९