शुक्रबार, चैत्र १६, २०८०

आलुखेती गर्ने किसानलाई तालिम

ठमाडौँ । रुकुमपूर्वमा व्यावसायिकरूपमा आलुखेती गरिरहेका किसान तालिम पाएपछि औधी खुसी भएका छन् । यस जिल्लामा मकै र गहुँपछिको प्रमुख बालीका रूपमा रहेको आलुखेती रहेको छ । यसलाई थप प्रवद्र्धन एवं व्यवस्थित गर्नका लागि किसानलाई तालिम प्रदान गरिएको हो ।

अहिलेसम्म परम्परागतरूपमा हुँदै आएको आलुखेतीलाई आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै बजार व्यवस्थापनसम्मको कुरालाई तालिममा किसानलाई सिकाइएको जनाइएको छ । तालिम प्राप्त गरेपछि आफूलाई निकै खुसी लागेको किसान राजकुमार सुनारले बताउनुभयो ।

“पुथा उत्तरगङ्गाको ६ नं वडा मयाङमा मैले आफैँ धेरै मात्रामा आलु उत्पादन गर्दै आएको छु र अन्य त्यहाँका थुपै्र किसानले आलु उत्पादन गर्नुहुन्छ”, पुथा उत्तरगङ्गा गाउँकार्यपालिका सदस्यसमेत रहनुभएका उहाँले भन्नुभयो, “हामीले पुरानै तरिकाबाट खेतीपाती गर्दै आएका थियौँ । यसले गर्दा समयको खर्च, जति उत्पादन हुनुपर्ने हो त्यति उत्पादन नहुनु, बीउ छनोट, मल, रोग कीराको व्यवस्थापनमा निकै समस्या हुँदै आएको थियो ।” आलुखेती प्रविधिसम्बन्धीको तालिम प्राप्त गरेपछि अहिले आफूलाई जग्गा छनोटदेखि लिएर हावापानीअनुसारको बीउ छनोट, खाने आलु र बीउ आलुको भण्डारण र बजारीकरणसम्मको योजना बनाउने कुरा थाहा भएको उहाँको भनाइ छ ।

यस्तै पुथा उत्तरगङ्गाकै अर्का किसान देविका सुनारले पनि आलुखेती प्रविधि तथा ‘चिप्स’ उत्पादनसम्बन्धीको तालिम लिनुभयो । तालिमपछि बिनाज्ञान र सीपको खेतीले राम्रो प्रतिफल नदिनेरहेछ भन्ने कुरा बुझेको बताउनुभयो । अब भने तालिममा सहभागी भएर आलुखेतीका बारेमा प्रष्ट भएको र सोहीअनुरुप आलुखेतीलाई बढवा दिने उहाँले उल्लेख गर्नुभयो । यस्तै तालिममा सहभागी रुकुमपूर्वको तीनवटै गाउँपालिकाका किसानले आफूहरूको मुख्य बालीका रूपमा रहेको आलुखेतीलाई आगामी दिनमा व्यवस्थितरूपमा अगाडि बढाउने र त्यसैबाट आर्थिक समृद्धिको बाटो खोज्ने बताएका छन् ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुमपूर्वले जिल्लाका तीनवटै गाउँपालिकामा व्यावसायिक आलुखेती गरिरहेका किसान र बर्खे आलु पकेट कार्यक्रमका लागि छनोट भएका किसानका लागि रुकुमकोटमा तीनदिने तालिमको आयोजना गरेको थियो । यही माघको १४ गतेबाट सुरु भएको तालिम १६ गतेसम्म चलेको थियो । तालिममा तीनवटै पालिकाका २८ किसानको सहभागिता रहेको तालिमका संयोजक एवं एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले बताउनुभयो । तालिमको सहजीकरण आलु बालीविज्ञ श्यामप्रसाद ढकालले गर्नुभएको थियो ।

तालिमको सोमबार एक औपचारिक कार्यक्रमसाथ समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले परम्परागतरूपमा आलुखेती गर्दै आएका किसानलाई यान्त्रिकीकरण र आधुनिक खेतीतर्फ उन्मुख गर्न सहयोग पुग्ने बताउनुभएको छ । तालिममा सिकेको सीपलाई भरपूररूपमा प्रयोग गरी आलुखेतीलाई व्यवस्थित गर्न र यसबाट आर्थिक अवस्था सवल बनाउनतर्फ जोड दिन किसानलाई उहाँले आग्रह गर्नुभएको छ । साथै आलुको बजारीकरण गर्न समन्वय प्रमुखको हैसियतले तीनवटै पालिकासँग समन्वय र सहकार्य गरेर योजना निर्माणमा सहजीकरण गर्ने प्रतिबद्धता प्रमुख श्रेष्ठले जनाउनुभएको छ ।

प्रशस्त मात्रामा रुकुमपूर्वमा आलु उत्पादन हुने गरे पनि आलु लगाउने बेलामा यस जिल्लामा बीउ अभाव हुने गर्छ । यो समस्या अन्त्यका लागि पनि कार्यालयले आलु बीउ उत्पादनलाई पनि जोड दिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो । यस्तै आलुको चिप्स उत्पादनका लागि पनि उपयुक्त आलुखेतीको परीक्षण गरिने भएको छ । बर्खे आलु पकेट कार्यक्रमका लागि छनोट भएका किसानलाई चिप्स बनाउन उपयुक्त हुने बीउ लगाउन लगाएर परीक्षण गरिने र परीक्षण सफल भएमा उत्पादनलाई बढवा दिइने उहाँको भनाइ छ । रासस

प्रकाशित मिति: मङ्लबार, माघ १७, २०७९