शुक्रबार, चैत्र १६, २०८०

झापामा आलु खेतीको क्षेत्रफल बढ्यो

काठमाडौँ । झापामा यसवर्ष आलु खेतीको क्षेत्रफल बढेको छ । गत वर्षको तुलनामा यसवर्ष आलु खेतीको क्षेत्रफल २ सय ५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । गतवर्ष जिल्लामा १५ हजार ७ सय ८० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यसवर्ष १५ हजार ९ सय ८५ हेक्टरमा सो खेती गरिएको छ ।

गतवर्ष २ लाख ५७ हजार २ सय २४ टन आलु उत्पादन भएको थियो । जिल्लामा कार्डिनल, जनकदेव, कुफ्रीलगायत जातका आलुखेती बढी हुने गरेको उनको भनाइ छ । क्षेत्रफलसँगै यसवर्ष आलु उत्पादन बढ्ने प्रारम्भिक अनुमान छ । जिल्लाका स्थानीय तहले आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलु खेती विस्तार हुँदै गएको हो ।

जिल्लाको बुद्धशान्ति , कमल , गौरीगञ्ज गाउँपालिका सहित अर्जुनधारा र बिर्तामोड नगरपालिकालगायतका पालिकाले आलु खेतीका लागि प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेका छन् । बिर्तामोडले विगत तीन वर्षयता आलु खेतीलाई प्रवद्र्धन गर्दै आएको छ । किसानलाई आलुको बीउ, आवश्यक औषधि, परामर्श प्रदान गरिँदै आएको बिर्तामोड नगरपालिकाका कृषि शाखाका प्रमुख राजेन्द्र कडरियाले बताए ।

नगरपालिका र किसानको आधा–आधा लागत सहभागितामा यसवर्ष ३८ टन आलुको बीउ वितरण गरिएको प्रमुख कडरियाले जानकारी दिए । प्रतिकठ्ठा ३० केजीका दरले ३३ वटा समूहलाई आलुको बीउ वितरण गरिएको उनले बताए ।

बिर्तामोड–६, ७, ८, ९, १० र २ नम्बर वडाका किसानलाई आलुको बीउसँगै दुई पटक रोप्ने बेलामा र उम्रिसकेपछि आवश्यक औषधिसमेत प्रदान गरिएको छ । किसानलाई लालगुलाब, कार्डिनल र एमएस जातका आलुको बीउ वितरण गरिएको छ । आलु खेती प्रवद्र्धन गरिएको पहिलो वर्ष प्रतिकठ्ठा १३–१४ मन, दोस्रो वर्ष ८–९ आलु उत्पादन नभएको थियो । यसवर्ष मौसम राम्रो हुनुका साथै रोगकीरा नदेखिएकाले १०–१२ मन प्रतिकठ्ठा आलु उत्पादन हुने आंकलन गरिएको कृषि शाखा प्रमुख कडरियाले बताए ।

जिल्लामा आलु प्रबद्र्धन कार्यक्रम सञ्चालन भइरहे पनि आलु आयात बढेको छ । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको हालसम्म एक करोड ३४ लाख ५५ हजार ४ सय ५५ केजी आलु आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना प्रविधि शाखाका कर्मचारी अरुण शाहले जानकारी दिनुभयो । काँकरभिट्टा नाकाबाट गतवर्ष एक करोड २१ लाख ६४ हजार २२ केजी आलु आयात भएको थियो । गत वर्षको तुलनामा १२ लाख ९१ हजार ४ सय ३३ केजी आलु बढी आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बिहिबार, माघ ५, २०७९