बिहिबार, बैशाख १३, २०८१

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

काठमाडौँ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाए । उनले चिराइतोबाट मनग्य आम्दानी पनि लिए । तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसकेका छन् ।

राईले ७ वर्षअघि एकै याममा ७५ मन(४) केजीको एक मन सम्म चिराइतो उत्पादन गथ्ये । राईले गरेको चिराइतो खेतीबाट प्रभावित भएर सोही गाउँका दावा शेर्पाले पनि अरु खेती गर्न छोडेर चिराइतो खेती गर्न थाले । जङ्गलमा मात्र पाइने घर आगनमै शेर्पाले चिराइतोको बेर्ना उमार्न थाले। बारीका कान्ला र डिलहरु कहिँकतै ठाउँ खाली नराखी चिराइतो बेर्ना लगाए । शेर्पाले पनि चिराइतोबाट राम्रो आम्दानी लिएको थियो ।

जङ्गलमा मात्र पाइने चिराइतो व्यावसायिक रुपमै हुन थाले पछि मुख्य आम्दानीको स्रोत बन्न पुग्यो । त्यस समयमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पनि आर्थिक तथा प्रविधिक सहयोग गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक चितेन चेम्जोङले बताए।

जीविकोपार्जन गर्न तथा समुदायमा आम्दानीको स्रोत बढाउन परिषद्ले सहयोग गरेको चम्जोङको भनाइ रहेको छ । तर अहिले भने याम्फुदीनमा चिराइतो खेती गर्ने किसान भेट्न मुस्किल छ । विस्तारै चिराइतोको बजार मूल्य खस्कदै गएसँगै चिराइतो खेती गर्न छोडेर अन्य वैकल्पिक व्यवसाय गर्न थाल्नु भएको सिरिजङ्गा गाउँपालिका–७ सूर्यमान राईले बताए ।

राईले भने,“विगतका वर्षमा २२ मनसम्म चिराइतो जम्मा गरियो तर अहिले भने खेती गर्न छाडियो ।” फक्ताङलुङ गाउँपालिका–६ का राजकुमार राईले बजार मूल्य खस्कदै गएसँगै चिराइतो खेती गर्न छोडेर अलैँची खेती गर्न थालेका छन् । सिदिङवा गाउँपालिका–७ सुरुम्खिमका कृष्णकुमार तामाङले चार वर्षअघि चिराइतो बेच्न सकेकन् । पहिले प्रतिमन रु ३५ हजारमा बिक्री गरेको चिराइतो कोरोना महामारीका कारण नाका बन्द हुनु र भाउसमेत आठदेखि १० हजार रुपैयाँमा झरेपछि बिक्री गर्न नसकेको तामाङ बताउछन् । उनले करिब ५० रोपनीमा चिराइतो खेती गरेको थियो ।

व्यवसायी सविन बानियाँका अनुसार अहिले प्रतिमन चिराइतो झापामा रु २५ हजारदेखि ३० हजारमा कारोबार भइरहेको छ । यो गत वर्षको भन्दा करिब तीन गुणाले बढी हो । ‘‘केही वर्षअघि ३२ हजार प्रतिमन पनि तिब्बत् लगेर बेच्यौँ, त्यसपछि लगातार घटेको चिराइतोको मूल्य अहिले फेरि सुधार भएको छ,’’ व्यवसायी बानियाँले भन्नुभयो “चीन तर्फको नाका बन्द भए पनि भारततर्फ कारोबार भइरहेको छ ।” अलैँची उत्पादन नहुने क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत नै चिराइतो हो ।

अन्तर्राष्ट्रियस्तरका ठूला व्यापारीले चिराइतोको मूल्य निर्धारण गर्छन्, किसानले पाउने भनेको थोरै मात्र हो । सस्तोमा खरिद गरेर भण्डारण गर्ने र अनि भाउ बढाउँछन्, फेरि किसानबाट खरिद गर्ने बेलामा भाउ घटाउने गरेको बानियाँ बताउछन् । राज्यले नै यसलाई प्रशोधन गरेर बजारीकरणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा विगतका तुलनामा चिराइतो उत्पादन कमी हुँदै गएको परिषद्का कार्यालयका कार्यालय सचिव मनकुमार लिम्बूले बताए । पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो धेरैजसो भारततर्फ निकासी भइरहेको छ ।

चार वर्षअघिसम्म जिल्लाको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बततर्फ पनि निकासी हुने गरेको थियो तर कोभिड–१९ का कारण चार वर्षदेखि टिपताला नाका बन्द हुँदा त्यसतर्फ चिराइतोलगायत सामानको निकासी पनि ठप्प बनेको छ । बिक्रीका लागि ओलाङ्चुङगोलासम्म पु¥याएका चिराइतो व्यापारीले फर्काएको फक्ताङलुङ गाउँपालिक–७ का वडाध्यक्ष छेतेन बालुङले बताए ।

 

नेपालमा कूल उत्पादनको ९०% चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८०% भारतमा मात्र निर्यात हुने बताइएको छ । बाँकी २०% चीन, स्वीडेन, हल्याण्ड, मलेशिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्वजरल्याण्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ ।

यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ । परम्परागत चिकित्सा पद्दति जस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधिको रुपमा चिराइतोको प्रयोग हुने गर्दछ । मुख्यगरी यसको प्रयोग बलवद्र्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ । तिब्बती चिकित्सा पद्दतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ । रासस

प्रकाशित मिति: सोमवार, पुस २५, २०७९