शनिबार, बैशाख ८, २०८१

प्रविधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले किसानमा खुसी

काठमाडौँ । पोखरा महानगरपालिका–२१ फेदीपाटन डाँडाखर्कका कृषक प्रकाश पौडेल यतिखेर निकै खुसी छन् । घर वरपर लटरम्म पहेंलपुर सुन्तलाले ढाकिएको दृश्यले उत्साहित उनी विगतमा मुस्किलले २० मुरी धान फल्ने क्षेत्रमा उत्पादित सुन्तला बेचेरै यस वर्ष ११ लाख रुपैयाँ आम्दानी गर्दा दङ्ग परेका छन् ।

“भिरालो पाखोमा धेरै दुःख गर्दा वर्षमा जेनतेन २० मुरी धान फल्थ्यो”, उनले भने, “त्यही ठाउँमा ६ सय बिरुवा सुन्तला लगाएकामा अहिले करिब ३ सय ५० बोटमा फल्दा पनि रु ११ लाख आम्दानी भएको छ ।” गत वर्ष उजले सात लाख रुपैयाँ आम्दानी गरेका थिए । लगाइएका सबै बिरुवामा सुन्तला फल्दा हालकोभन्दा दोब्बर बढी आम्दानी हुने उनले विश्वास व्यक्त गरे । फल साना लाउने र उत्पादन कम दिने पुराना बोट हटाएर नयाँ बिरुवा रोप्ने गरेको उनको भनाइ छ ।

पोखरा महानगरपालिकाले पाँच वर्षदेखि सञ्चालन गरेको ‘मेयर प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रम’ आफूहरुका लागि वरदान सावित भएको उनले बताए । झण्डै ४५ वर्षअघि २०३४ सालमा बुबाले सुरु गरेको व्यावसायिक सुन्तला खेतीबाट राम्रो आम्दानी भए पनि प्रत्येक वर्ष बोट मर्दै गएपछि चिन्तित बनेका पौडेलले भने “बढ्दो रोगको कारण नष्ट भइसकेको सुन्तलाका बोट प्रविधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले बचाउनुका साथै उत्पादनमा समेत वृद्धि हुँदै गएको छ ।”

गत वर्ष सुन्तला बिक्री गरेर दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्नुभएका स्थानीय अर्का कृषक नारायण पौडेल यस वर्ष तीन लाख ५० हजार रुपैयाँ आम्दानी भएकामा खुसी व्यक्त गरे।

किसानलाई प्रोत्साहन गर्दै सुन्तला क्षेत्रको विस्तार गर्ने लक्ष्यका साथ पाँच वर्षदेखि सञ्चालित अभियानअन्तर्गत हालसम्म पाँच सय कृषकलाई ६५ लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ । यस आर्थिक वर्षका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

मलखाद प्रयोग गरेका पाँच वर्षमाथिका बिरुवाको प्रतिबिरुवा रु ३०, बोडो पेस्टलगायतका बिरुवाको रु ३०, बोडो मिक्स्चर स्प्रे गरेका बिरुवालाई रु २० र छापो प्रयोग गरेका बिरुवालाई रु २० का दरले प्रोत्साहनस्वरुप अनुदान प्रदान गर्दै आएको बताउँदै उहाँले घोषित पकेट क्षेत्रका दुई सय चारभन्दा बढी बगैँचाका २० हजार बिरुवाले उत्पादन दिएको बताए ।

प्रत्येक वर्ष सुन्तला खेतीमा रोगको प्रकोपसहित जङ्गली जनावरबाट पनि यहाँका किसानलाई ठूलै क्षति हुने गरेको छ । जङ्गली जनावरको आगमनका लागि विशेष ध्यान दिइएका कारण विगतको तुलनामा यसवर्ष वन्यजन्तुले धेरै क्षति गर्न पाएन । साथै, महानगरले सञ्चालन गरेको बगैँचा व्यवस्थापन कार्यक्रममार्फत कृषकहरुमा जनचेतना अभिवृद्धि हुँदा उत्पादनमा वृद्धि भएपछि यहाँका कृषकमा सुन्तला खेतीप्रति आकर्षण बढेको छ ।

महानगरले सञ्चालन गरेको यस कार्यक्रमको पकेट क्षेत्रमा भने कृषकहरुले सुन्तला विक्रीबाट मनग्गे आम्दानी गर्न थालेका छन् । पोखरा बजारसहित हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सकिने प्रचुर पर्यटकीय सम्भावना रहेको यस क्षेत्रमा बिहानको झुल्के घाम पर्ने पारिलो पाखोमा फलेका सुन्तलाका दाना ठूलो र खाँदा स्वादिलो भएको कारण यहाँको सुन्तलाको बजार मूल्य राम्रो रहेको पोखरा महानगरपालिका–२१ का अध्यक्ष दिपक सुवेदीले बताए ।

उनका अनुसार उत्पादिन सुन्ताला बिक्रीबाट कृषकले लगभग रु १० करोड वडामा भित्र्याएका छन् । सम्भाव्यता अध्ययनका आधारमा अन्य स्थानमा पनि सुन्तला खेती विस्तार गर्नका लागि कृषकलाई आवश्यक सहयोग गर्ने तयारी भइरहेको छ । यस क्षेत्रमा उत्पादित सुन्तला पोखरालगायत मुख्य सहर काठमाडौँ, भरतपुर, विराटनगरसम्म पु¥याउने गरेको ठेकेदार बताउँछन् ।

महानगरपालिका कृषि महाशाखाले सञ्चालन गरेको कार्यक्रम लागू भएका क्षेत्रमा उत्पादित सुन्तलाको हालै प्रदर्शनी आयोजना गरिएको थियो । सुन्तला खेतीतर्पm कृषकलाई थप आकर्षण गर्ने लक्ष्यका साथ पोखराको बिरौटामा यही पुसको ११ देखि १४ गतेसम्म सञ्चालन भएको प्रदर्शनीमा तीन लाख मूल्यबराबरको सुन्तला बिक्री भएको महानगरले जनाएको छ ।

 

प्रकाशित मिति: आइतवार, पुस २४, २०७९