शुक्रबार, बैशाख ७, २०८१

पहाडी जिल्लामा किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ

काठमाडौँ । गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन भएको छ । पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ ।

कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३०% सुन्तला अझै बोटमै रहेको बताए । गत वर्षको तुलनामा १०% ले उत्पादन बढ्दा यो वर्ष ५५ हजार ९ सय ३५ मेट्रिक टन सुन्तला फलेको हो । अघिल्लो वर्ष ५० हजार ८ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

सुन्तला खेती हुने प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार १ सय ८० र सबैभन्दा कम लमजुङमा ७ सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको निर्देशनालयले जनाएको छ । देशमै सबैभन्दा धेरै सुन्तला खेती हुने स्याङ्जाले बर्सेनि उत्पादनको ठूलो हिस्सा ओगट्छ ।

तनहुँमा १२ हजार ५ सय ४०, कास्कीमा ८ हजार ३ सय ७१, गोरखामा ६ हजार १ सय ४६, पर्वतमा ४ हजार ४ सय, बागलुङमा ४ हजार १५, म्याग्दीमा तीन हजार छ सय ९३ र नवलपुरमा आठ सय ७५ टन सुन्तला उत्पादन भएको छ । मुस्ताङ र मनाङमा भने सुन्तला खेती हुँदैन । किसानले पाउने प्रतिकिलो रु ५० औसत मूल्यका आधारमा यो वर्ष गण्डकी प्रदेशमा २ अर्ब ७९ करोड, ६७ लाख, ५० हजार बराबरको सुन्तला उत्पादन भएको निर्देशनालय प्रमुख रेग्मीले बताए । सुरुसुरुमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ राम्रो पाउने गरेका छन् ।

“बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै हुँदैन, व्यापारीले किलोलाई सय, डेढसयसम्ममा बेच्छन्, हामीले त सुन्तला फलाउने किसानले कति कमाए भनेर हेर्नुपर्छ”, प्रमुख रेग्मीले भने, “जिल्लाहरुले पठाएको प्रतिवेदन र आँकडा विश्लेषण गर्दा गण्डकीमा वार्षिक करिब तीन अर्ब बराबरको सुन्तला उत्पादन हुने गरेको छ ।”

नयाँ बोटले फल दिन थाल्नु, उत्पादन क्षेत्र विस्तार, बगैँचाको सही व्यवस्थापन जस्ता कारणले सुन्तला उत्पादनमा वृद्धि हुने गरेको छ । निर्देशनालयका कृषि अधिकृत दीपा तिमिल्सिनाले मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा गरी कूल ८ हजार ३ सय ४२ हेक्टरमा सुन्तला खेती भइरहेको जानकारी दिए । जुन अघिल्लो वर्षको तुलनामा तीन सय ९७ हेक्टरले बढी हो । गत वर्षसम्म जम्मा ७ हजार ९ सय ४५ हेक्टरमा सुन्तला खेती हुँदै आएको थियो । सुन्तला खेतीले धेरै ठाउँ ओगटे पनि उत्पादन क्षेत्र भने कम छ । यो वर्ष ५ हजार ४ सय ५७ हेक्टरमा फैलिएका सुन्तलाका बोटले फल दिएका हुन् ।

सुन्तलाको उत्पादन बढ्दै जाँदा किसानलाई भने बजारको चिन्ता हुने गरेको निर्देशनालयका प्रमुख रेग्मीले बताए । “उपभोगको अवस्था उस्तै हुने तर उत्पादन बढ्दै जाने हो भने किसानलाई सुन्तला कहाँ लगेर बेच्ने भन्ने पिरलो थपिन्छ”, उनले भने, “यहाँ सुन्तलामा आधारित उद्योग पनि छैनन् ।” उनका अनुसार रोगकिराको प्रकोप, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभाव आदि सुन्तला खेतीमा देखिने गरेका चुनौती हुन् । बोट सुकेर मर्ने रोग, औँसे किरा लगायतले पनि सुन्तला खेतीमा क्षति पु¥याउँदै आएको छ ।

“सुन्तला खेती प्रवद्र्धनमा किसानलाई सरकारले पनि अनुदान, सीप र प्रविधि दिएर सघाइरहेको छ”, प्रमुख रेग्मीले भने, “बगैँचाको रेखदेख, व्यवस्थापनमा किसान नै बढी चनाखो हुनुपर्छ, अनुदान पाए गर्ने नत्र वास्ता नगर्ने प्रवृत्ति पनि कतिपय किसानमा छ, त्यो गलत हो ।” सुन्तला खेती विस्तार र व्यवसायीकरणका लागि सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् ।

बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर बनाइएको सुन्तला ‘जोन’ इकाइ कार्यालयका कृषि अधिकृत विक्रम बस्यालले कार्यक्रम सुरु हुँदा ५ सय हेक्टर क्षेत्रफल रहेकामा अहिले क्षेत्र विस्तार भएर १ हजार पुगेको बताए । बिगतका बर्षमा भन्दा यसपालि सुन्तला उत्पादन बढेको किसानहरुले बताएका छन् । “कतिपयले अझै टिपिसकेको छैन”, उनले भने, “बोटबाट टिपेर बेचिसकेपछि उत्पादनको अन्तिम आँकडा निकाल्छौँ ।”

‘सुन्तला जोन’मा बढी सुन्तला उत्पादन हुने बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायतका गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम लागू भइरहेको छ । सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको हो ।

स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारीलगायत गाउँ सुन्तला खेतीका लागि बढी चिनिन्छन् । तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको शहीद लखन गाउँपालिकामा पनि सुन्तला खेती बढी हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका सहरी क्षेत्रमा बढी खपत हुन्छ । व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पु¥याउँछन् ।

निर्देशनालयका अनुसार स्याङ्जामा २ हजार ६७, तनहुँमा १ हजार ७ सय १२, गोरखामा एक हजार ८२, कास्कीमा ८ सय ९४, पर्वतमा ८ सय ७२, म्याग्दीमा ७ सय ८०, बागलुङमा ६ सय २२, लमजुङमा १ सय ७२ र नवलपुरमा १ सय ४२ हेक्टरमा सुन्तला खेती छ । सुन्तलाको क्षेत्र विस्तार बर्सेनि भइरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९