बिहिबार, बैशाख १३, २०८१

किवी खेतीमा कृषकको मोह बढ्दै

काठमाडौँ । गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै गएको छ । सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् ।

विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरु यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन् । भार्षेका कृषकहरुले आफ्नो बारीमा उत्पादन गरेको किवी बिक्री वार्षिक ४० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।

जिल्लामा सबैभन्दा बढी किवी खेती गर्ने पालिकामा सत्यवती गाउँपालिका रहेको छ । सत्यवतीको भार्षेमा हाल २२ हेक्टर क्षेत्रफलमा किवीको व्यावसायिक उत्पादन गरिँदै आएको छ । २२ हेक्टर क्षेत्रफलमा गरिएको किवी उत्पादनबाट यो वर्ष त्यहाँका कृषकहरुले ३८ टन किवी उत्पादन गरेका छन् । भार्षेमा उत्पादित किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म पुग्ने गर्दछ ।

बजारमा उपलब्ध किवीको तुलनामा यहाँ उत्पादित किवीको औसत मूल्य २ सय रुपैँया रहेको छ । यहाँका कृषकको मुख्य आम्दानी यतिबेला किवी बनेको छ । यो फलमा धेरै पौष्टिक तत्व भएको कारण सबै उमेर समूहका व्यक्तिहरुका लागि उपयुक्त मानिन्छ । किवी खेतीका लागि कृषि ज्ञान केन्द्र गुल्मीले पोल, बिरुवा र सिँचाइमा सहयोग पु¥याउँदै आएको छ । व्यावसायिक किवीको उत्पादनमा युवाहरुको चासो बढेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । कृषकहरुलाई किवी खेती गर्न प्रोत्साहित गर्नका लागि ज्ञान केन्द्रले किवीको पकेट क्षेत्र निर्धारण गरी आगामी पोल निर्माणमा थप अनुदान उपलब्ध गराउने उनले जानकारी दिए ।

सत्यवती गाउँपालिकाले पनि भार्षेलाई किवीको पकेट क्षेत्र घोषणा गरेको छ । किवी खेतीको व्यावसायिक उत्पादनका लागि कृषकहरुलाई पालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइ लगायतका क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टीकाराम सापकोटाले बताउनुभयो । भार्षेका शिवलाल थापाले व्यावसायिक रुपमा किवी खेती गर्दै आएको छ । उनले किवी बिक्री गरेर वार्षिक तीन लाखभन्दा बढी आम्दानी गरेको बताए । अन्य खेतीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ । सिजनमा भार्षेका बारीहरु किवीले ढपक्कै ढाकिएका हुन्छन् । किवी बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गर्दछ । यसले एउटै बोटबाट ६० देखि एक सय किलोसम्म फल दिने गरेको स्थानीय नवीन छन्तेलले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९