शुक्रबार, चैत्र १६, २०८०

बागलुङमा फल्यो तीन करोडको सुन्तला

काठमाडौँ । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै ३ करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ ।

सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५% सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट साढे २ करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् ।

आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान अनन्तबहादुर खड्काले यो वर्ष ५ लाखमा आफ्नो सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए । उनले यस वर्ष सुन्तलाको उत्पादन बढे पनि मूल्य भने घट्न थालेको गुनासो गरेका ।

“सिगानामा म जस्तै झण्डै ६० भन्दा बढी किसान रहेको अनुमान छ, तथ्याङ्क सङ्कलनमा अझै कमजोर छौँ, स्थानीय वडा कार्यालयलाई यसको कुनै जानकारी छैन, कुनै किसानले न्यूनतम २५ हजारदेखि अधिकतम रु पाँच लाखसम्म सुन्तलाको व्यापार गर्र्दछन्”, किसान खड्काले भने, “यस वर्ष सुन्तलाको दाना निकै राम्रो छ तर धेरै स्थानमा उत्पादन बढेपछि सुन्तला व्यापारीले कम मूल्यमा सुन्तला खरिद गरेको पाइयो, हाम्रो अनुमानमा सिगानामा यस वर्ष ३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।” उनका अनुसार पोखराका व्यापारीले यहाँ किसानका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन् । बगैँचा विस्तार र मलजल राम्रो गरेपछि यस वर्ष किसानले सुन्तला बिक्रीबाट राम्रो आम्दानी गरेका हुन् ।

गत वर्ष यहाँका किसानले सुन्तला बिक्रीबाटै २ करोड ५० लाख भित्र्याएको वडा कार्यालयको तथ्याङ्क छ । यस वर्ष पनि सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गर्न थालिएको जानकारी गराउँदै वडाध्यक्ष राजु कार्कीले सुन्तला बिक्रीकै चरणमा रहेकाले तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको बताए । उनले बिक्री लक्ष्यअनुसार रु तीन करोडको सुन्तला उत्पादन भएको बताए ।

नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक रु ५० लाखका दरले सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिएका छन् । सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइरहेको छन् भने १० हजारभन्दा बढी बोट उत्पादनको तयारीमा छन् । यहाँका किसान सुन्तलाका बिरुवामा समेत आत्मनिर्भर भइसकेका र आधा दर्जनभन्दा बढी सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना भइसकेको किसानले बताए ।

प्रकाशित मिति: आइतवार, पुस १७, २०७९