शुक्रबार, चैत्र १६, २०८०

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा राजीनामा दिने कर्मचारीको लर्को

काठमाडौं । सरकार कृषि उत्पादन बृद्धि गरी मुुलुकलाई आत्मनिर्भर बनाउने अभियानको फोस्रो नारा प्रचार प्रसार गरिरहेको छ । अघिल्लो केपी ओली नेतृत्वको सरकारका पालामा कृषिलाई आत्मनिर्भर बनाउने भन्दै विभिन्न खाले योजनाहरु सार्वजनिक नै भए । अझ ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नै ल्याए पनि ।

वास्तव मै मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि स्वदेशी लगानीमा शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सफल भएर आयातमा रोक लगाईनु पर्दथ्यो । तर अवौं रुपैयाँ सकिँदा पनि आत्मनिर्भरताको कुनै संकेत नै देखिएको छैन । बरु क्रमश ः परनिर्भरताको अंक बढ्दो देखिन्छ ।

त्यसको प्रमुख कारण सत्तामा बस्ने वा सरकारमा बस्नेहरुको कृषि क्षेत्रलाई प्राथमिकतामा राखे जस्तो देखिनु मात्र हो । कृषि प्रधान देश मानिएको नेपालको कृषि क्षेत्र धराशायी बनाउने काम सरकारमा बस्नहरुले नै गरेका छन् भन्ने कुराको पुष्टि गर्न धेरै उदाहरणहरु दिईरहनु पर्दैन पनि ।
त्यसको ज्वलन्त उदाहरण त पछिल्लो समय लोकसेवा आयोगको परिक्षा पास गरेर सरकारी जागिर खाएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत प्राविधिक कर्मचारीको राजीनामा लहर नै हो । कृषि क्षेत्रको विकास र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने अभिभारा वोकेर जागिर खाएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव तहका कर्मचारी यतिखेर राजीना दिएर स्वीकृतिको पखाईमा देखिएका छन् ।

कृषि अध्ययन गरेर मुलुकका लागि केही गर्न खोज्ने प्राविधिक कृषिका युवा कर्मचारी जागिरबाट नै राजीनामा दिएर पलायन हुन खोजिरहेका देखिन्छन् । अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माको टेवलमा करीव दुई दर्जन उपसचिव (प्राविधिक) कर्मचारीका राजीनामा अड्किएर बसेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरु किन राजीनामा दिएर बस्न थाले भन्ने कुरा अनुसन्धानको विषय बन्न सक्ला । तर, सरकारले कृषिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएकै कारण र प्रशासनिक संयन्त्रबाट हुने प्रताडनाले पनि यस्तो राजीनामाहरु आउन थालेको संकेत मिलेको छ ।

विशेषत ः कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जागिर गरिरहेको प्राविधिक कर्मचारीलाई मन्त्रालयले सकारात्मक रुपमा लैजाने भन्दा पनि जागिरेमात्र बनाउने गरेकाले पनि प्राविधिक कर्मचारी श्रोत साधनको अभावले आफ्नो व्यक्तित्व विकास समेत अवरोध आउने भएपछि राजीनामा दिन वाध्य भएको पनि कसैले गुनासे सुनिन्छ ।

अर्को पछिल्लो समय नेपालमा कृषि क्षेत्रबाट न त मुलुकको विकास हुने नत स्वयं कर्मचारीको नै क्षमता विकास हुने देखिएपछि कृषि तर्फका कर्मचारी त्यसमा पनि उपसचिवहरु बढी राजीनामा दिनेहरुमा पर्दछन् । यसले नेपालको कृषि क्षेत्र पक्कै पनि सहीमार्गमा हिडिरहेको छैन भन्ने कुराको पुष्टि गरेको छ ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९