शुक्रबार, बैशाख ७, २०८१

खाद्य व्यवस्था व्यापार कम्पनीले बाँकेका किसानको धान खरिद गर्न सुरु

नेपालगञ्ज । बाँकेका आठ स्थानीय तहमा उत्पादन भएको धान खरिद सुरु भएको छ । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी गाउँपालिकाका १० किसानलाई धान बेच्ने कुपन दिएको छ ।

“पहिले जस्तो भीडभाडको अवस्था हुँदैन त्यसैले किसानलाई सहज बनाउन दिन तोकेर काम गरेका छौँ”, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले भन्नुभयो ।

उहाँले २५ हजार क्विन्टल धान खरिद हुने जानकारी दिँदै स्थानीय तहबाट वास्तविक किसान पहिचान हुनेगरी धान खरिद सुरु भएको उल्लेख गर्नुभयो । खरिद गरिने धानमध्ये २० हजार छरुवा मध्यम र पाँच हजार मध्यम चामल हुने बताइएको छ ।

“पहिले टाठाबाठा भएका किसानले मात्रै कुपन पाउने र उनीहरुले मात्रै धान बेच्ने हुन्थ्यो तर अहिले वास्तविक किसानको पहिचानका आधारमा धान खरिद गरेका छौँ”, लामिछानेले भन्नुभयो । गत आर्थिक वर्षमा अधिक वर्षाका कारण लक्ष्य पूरा हुन नसकेको तर यस वर्ष धानको उत्पादन राम्रो भएका कारण लक्ष्य हासिल हुने लामिछानेले बताउनुभयो ।

किसानले धान बेच्नका लागि स्थानीय सरकारको सिफारिस पत्र अनिवार्य गरिएको र यसले किसानलाई थप उत्तरदायी र जिम्मेवार बनाउने उहाँको भनाइ छ । किसानको धान एक जनाले ३० क्विन्टलसम्म बेच्न पाउने प्रावधान रहेको छ ।

धान बेच्न आउनुएकी जानकी गाउँपालिकाका किसान रुपबहादुर कार्कीले जतिबेला किसानलाई बीउ र मलखाद आवश्यक पर्छ त्योबेला धान खरिद गर्दा किसानले राहत पाउने उल्लेख गर्दै समयमा नै किसानको धान खरिद गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले आफूले डेढ बिघा खेतको मध्यम मोटा र मसिनो धान बेच्न ल्याएको जानकारी दिँदै बिचौलियाका कारण किसान मर्कामा परेको बताउनुभयो । “जसले मल र बीउ खरिद गर्न बाध्य भए उनीहरुले न्यून मूल्यमा सुरुमा नै धान बेचे”, किसान कार्कीले भन्नुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका वरिष्ठ गुण नियन्त्रक सहायक रोशन श्रेष्ठले गुणस्तर मापदण्डलाई ध्यान दिएर किसानको धान खरिद हुने जानकारी दिँदै उपकरणबाट परीक्षण गरेर धान भिजेको पत्ता लाग्ने बताउनुभयो ।

उहाँले गुणस्तरीय धानको मात्रै खरिद हुने जानकारी दिँदै धानलाई सफा गरेर बेच्न ल्याउन किसानलाई आग्रह गर्नुभयो । सरकारले यस वर्ष मोटा धानको समर्थन प्रतिक्विन्टल मूल्य रु दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ तोकेको छ । तर केही किसानले बाध्य भएर सस्तोमा धान बेचेका छन् ।

खाद्य व्यवस्था कार्यालयले खरिद नगर्दा बजारमा व्यापारीलाई बाध्य भएर प्रतिक्विन्टल रु दुई हजार चार सय चारमा बिक्री गरेका थिए । धानखेती भएका क्षेत्रलाई आधार मान्दा यस वर्ष बाँकेमा एक लाख ४९ हजार एक सय दुई मेट्रिकटन धान उत्पादन भएको बताइएको छ । धान खरिद तीन महिनासम्म हुनेछ । कृषि साप्ताहिक /रासस

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९