शुक्रबार, बैशाख ७, २०८१

दाइँ लगाउने प्रचलन लोपोन्मुख अवस्थामा

काठमाडौँ । म्याग्दीका ग्रामीण क्षेत्रमा परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ ।

कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्नेक्रम बढेपछि परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने चलन लोप हुने अवस्थामा पुगेको हो । पछिल्लो १० वर्षयता धान स्याहार्न हाते ट्र्याक्टर, ट्र्याक्टर र थे्रेसरको प्रयोग बढेको छ ।

अहिले दाइँ लगाउने प्रचलन हराउँदै गएको बेनी नगरपालिका–२ का बेदप्रसाद उपाध्यायले बताए । “दश वर्षअघिसम्म गोरुको सहायताले दाइँ लगाउने चलन थियो उपाध्यायले भने, “पराल र धान स्याहार्न मान्छे हुन्थे, अहिले धान झार्न र पराल माड्न थ्रेसरको प्रयोग बढेको छ ।” पराल माड्न .(मेह) मियो बनाउने र त्यसैमा ८, १० वटा गोरु घुमाउने चलन थियो ।

पहिले धान पाक्नासाथ धान काटेर मुठा बनाई झाँट्ने, गोरु धपाउँदै, पराल माड्दै, परालको भारी बनाउन मान्छेको भीड हुन्थ्यो । अहिले मानिसले गोरुसमेत पाल्न छाडेकाले दाइँ हाल्ने परम्परामा कमी आएको किसानको भनाइ छ । पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको मालिका–३ बेलीका किसान कृष्ण विकले बताए । केही वर्षअघिसम्म मान्छे र पशुको सहायताले हुने कृषि काम गरिन्थ्यो अहिले कृषि यन्त्रको प्रयोग बढेको छ”, उनले भने ।

जिल्लाको ज्यामरुककोट, रत्नेचौर, अर्मन, पुलाचौरलगायतका ठाउँका किसानले ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्दै आएको कृषि ज्ञानकेन्द्र म्याग्दीले जानकारी दिएको छ । श्रम, पैसा र समयको बचत हुने भएका किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्दै आएका छन्, कृषि यन्त्रमा स्थानीय, प्रदेश र सङ्घीय सरकारलेसमेत अनुदान दिँदै आएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

प्रकाशित मिति: बिहिबार, कार्तिक १७, २०७९