शुक्रबार, चैत्र १६, २०८०

आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि गोरु पाल्न छाडे

काठमाडौँ । मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसकेका छन् । केही वर्षअघि उनको गोठमा एक हल गोरु बाँधिएको हुन्थ्यो । उनको बाउबाजेले गोरुबाट नै खेतीपाती गर्दै आउएका थिए । तर उनका गाईवस्तु बाँध्ने भकारोमा अहिले गोरु देखिँदैनन् । उनले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि गोरु पाल्न छाड्नेका हुन् । उनीसँग जोत्नका लागि मिनीटिलर (हाते ट्र्याक्टर) छ । त्यस्तै गहुँ, धान केलाउन थ्रेसरको प्रयोग गरिरहेका छन् ।

जिल्ला कृषि विकास कार्यालयले कृषि औजार किन्न किसानलाई अनुदान दिने गरेको छ । कार्यालयका अनुसार जिल्लामा ३० प्रतिशत किसानले आधुनिक कृषि औजार प्रयोग गर्ने गरेका छन् । मिनीटिलर, थ्रेसर, च्यापकटर, सोलारड्रायर, हातेपङ्खाजस्ता औजार प्रयोग हुने गरेको छ ।

जिल्लाको सबै क्षेत्रमा आधुनिक कृषि औजारको प्रयोग हुने गरेको कार्यालय प्रमुख मीनबहादुर केसीले जानकारी दिए । सङ्घीय , प्रदेश , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक पालिका एक उत्पादनलगायत कार्यक्रमले कृषकलाई ती सामग्री वितरण गर्ने गरेको उनले बताए । कृषकलाई ५० प्रतिशत अनुदानमा औजार वितरण भइरहेको उनको भनाइ छ ।

आधुनिक कृषि औजारमार्फत काम गर्दा सहज हुने भएपछि किसानको आकर्षण बढेको किसानको भनाइ छ । एक हल गोरुले एक दिनमा जोत्ने बारी हाते टेलरले दुई घण्टामा सकाउने किसान बलबहादुर केसीले बताए ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १५, २०७९