मङ्लबार, बैशाख ४, २०८१

बागलुङमा धान मासेर सुन्तला र कागती खेती

काठमाडौँ । बागलुङ नगरपालिका–८ सिगानाको पाल्तेखेतमा अहिले हरियाली देख्न सकिन्छ । सिगानाका निर्वतमान वडाध्यक्ष तथा पूर्वभारतीय सेना ४६ वर्षीय राजन जिसीले धान फल्ने खेतमा व्यावसायिक सुन्तला र कागती खेती सुरु गरेको चार वर्ष भएको छ । अहिले उनको सुन्तला बगानमा १ सय ३८ सुन्तलाका बोटमा फल लाग्न सुरु भएको छ । भने ५२ वटा कागतीका बोट हुर्किरहेका छन् ।

राम्रो धान फल्ने खेतमा धमाधम सुन्तला खेती विरुवा लगाउदा धेरैले खेतीयोग्य जमिन मासेर रूख उमारेको भन्ने गरेका थिए । तर, व्यावसायिकरुपमा धान खेतीभन्दा धेरै गुणा बढी आम्दानी सुन्तला खेतीले दिने भएपछि जिसीले धान मासेर सुन्तला र कागती खेती गरेको हो । यस संगै उनले परीक्षणका लागि एक रोपनी जग्गामा बहुगुणी फलफूल किबी पनि रोपेका छन् । १६ वर्ष भारतीय सेनामा सेवा गरेर अवकाश पछि गाउँमै उद्यम गर्ने सोचका साथ कृषिसँगै उद्योग सञ्चालनमा ल्याएका छन् । जिसी २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको कार्यकालमा सिगानामा सुन्तला खेतीको विस्तार भएको थियो ।

सुन्तला जोन कार्यक्रममा समेटिएको सिगानामा वार्षिक २ करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले बताए । आगामी पाँच वर्षभित्र सिगानाले सुन्तला बिक्रीबापत वार्षिक ५ करोड भित्र्याउने लक्ष्यका साथ कृषि ज्ञान केन्द्र, बागलुङ नगरपालिका र सुन्तला जोनमार्फत अनुदानमा सुन्तलाका बिरुवा रोपण कार्य भइरहेको सिगानाका सुन्तला किसानहरुले बताएका छन् । सिगानामा सुन्तला भण्डारण गरी चैत वैशाखमा बिक्री गरेर दोब्बर आम्दानी लिन सक्ने गरी २० टन क्षमताको विद्युतीय शीत भण्डार गृहसमेत तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ  ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १५, २०७९