बुधबार, बैशाख १२, २०८१

राहत पाउँदा कैलालीका किसान खुसी

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–८ का किसान मनिराम चौधरी राहत पाउँदा खुसी भएका छन् । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेर पीडित भएका भित्र्याउन लागिएको धानबालीमा गएको असोज–कात्तिक महिनामा परेको वर्षाले भिजेर क्षति व्यहेरेका उनले ढिलै भए पनि सरकारबाट ३ हजार ६ सय राहत रकम पाउँदा राहतको अनुभव भएको बताए ।

चौधरीले भन्नु, ‘‘राहत पाउन धेरै समय पर्खिनु परेपनि अहिले पाउँदा खुसी छु ।’’अर्का किसान सुविराम चौधरीले राहत रकम पाउन पीडित किसानको बैंकमा खाता हुनुपर्ने प्रावधान बनाइएकाले खाता नभएकै कारण कतिपयलाई राहत पाउन ढिलाइ भइरहेको बताए ।

‘‘वडा कार्यालयबाट राहत रकम पाउँदा अहिले धेरै किसान खुसी छन्’’उनले भने, ‘‘आफ्नो गाउँमा धानबालीको क्षति व्यहोरेका कतिपय किसानले रु छ हजारसम्म राहत पाएका छन् ।’’जिल्लाको दक्षिणपूर्वी जानकी गाउँपालिकाका लेखापाल जनकराज जोशीले गाउँपालिकामा रु २५ लाखभन्दा बढी रकम राहतबापत् वितरण भइसकेको बताएका छन् ।

उक्त पालिकामा पीडितलाई राहत वितरण गर्न १ करोड ८ लाख रकम निकासा भएको जनाइएको छ । निकासा भएको रकममध्ये रु ८४ लाख वितरण गर्न बाँकी छ । ‘‘आसार ११÷१२ गतेतिर राहत रकमको चेक गाउँपालिकामा उपलब्ध गराइएको थियो,’’उनले भने, ‘‘पीडितलाई राहत वितरण गर्न बैंकिङ प्रक्रिया पूरा गर्दा गर्दै समय लागेका कारण समयमै सबै रकम वितरण हुन सकेन ।’’

उक्त गाउँपालिकामा झण्डै ४ हजार किसान बालीमा क्षति पुगेर पीडित भएका र उनीहरुलाई झण्डै रु १७ करोड राहत वितरण गरिसकिएको छ । निकासा भएको मध्ये ५ करोड खर्च हुन नसकेको जानकारी छ । राहत वितरणका लागि तोकिएको मापदण्ड पूरा गर्न लागेको प्रक्रियाका कारण सबै रकम खर्च हुन नसकेको हो ।

 

जिल्ला प्रशासन कार्यालयका लेखापाल यदु पौडेलले राहत थोरै भएको भन्दै कतिपय पीडित किसानले राहत लिन त्यति चासो नदेखाएकाले पनि निकासा भएको सबै रकम वितरण हुननसकेको बताए । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार एक कठ्ठादेखि दश कठ्ठासम्म जग्गाको बालीमा क्षति व्यहोरेका साना किसानलाई प्रतिकठ्ठा रु ३ सय २५ का दरले राहत रकम उपलब्ध गराइएको छ । यस्तै दश कठ्ठादेखि साठी कठ्ठा ९तीन बिघा० सम्म जग्गामा क्षति व्यहोरेका मझौला किसानलाई प्रति कठ्ठा रु १ सय २५ र ३ बिघा भन्दामाथि जग्गा भएका पीडित ठूला किसानलाई प्रति कठ्ठा रु ७५ का दरले राहत रकम वितरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले पीडित किसानलाई समितिको निर्णय र तोकिएको मापदण्डअनुसार राहत रकम उपलब्ध गराइएको बताएका छन् । बालीमा पुगेको क्षतिको राहत बढीमा रु ५५ हजार सम्ममात्र वितरण गर्न पाइने मापदण्ड सरकारले बनाएको छ ।

पीडितको तथ्याङ्क सङ्कलन, अध्ययन छानबिन र तोकिएको मापदण्डअनुसारको प्रक्रिया पूरा गर्न समय लाग्नाका साथै अन्य कारणले राहत रकम वितरणमा केही ढिलाइ भएको छ । कैलाली जिल्लामा मात्रै ८३ हजार ३ सय ५९ किसानको ४८ हजार १ सय २४ हेक्टर जग्गामा रहेको धान बालीमा क्षति पुगेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९