शुक्रबार, बैशाख ७, २०८१

विभिन्न जिल्लामा मल पठाउन थालियो

काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको ५ हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो ।

दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल ५ हजार मेट्रिक टन १ लाख बोरा रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिइएका छन् ।

“बाँकी रासायनिक मल भित्रिने क्रम जारी छ”, उनले भने । उक्त नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा ल्याइँदै छ । कार्यालयले मधेस प्रदेशसहित काठमाडौँ, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहुँ, पर्वत, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ । विभिन्न जिल्लामा रहेको कृषि सामग्री कम्पनीको कार्यालयमार्फत किसानलाई मल विवरण गरिने छ ।

रासायनिक मल वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह ड्राइपोर्ट नाका हुँदै नेपाल ल्याइएको हो । सरकारले ग्लोबल बोलपत्रमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले पाएको थियो । ओमानबाट नेपालका लागि आयात गरिएको मल पानीजहाजमा सामुद्रिक मार्ग हुँदै भारतको कोलकाता बन्दरगाह हुँदै त्यहाँबाट रेलमा वीरगञ्ज ढुवानी हँुदै आएको छ ।

ओमानबाट अहिले खरिद गरी आयात भइरहेको ३० हजार मेट्रिक टन युरियामध्ये मधेस प्रदेशमा ८ हजार ५ सय मेट्रिक टन वितरण गरिने छ । पर्साका लागि भने ८ सय ५० मेट्रिक टन १७ हजार बोरा र बाराका लागि एक हजार मेट्रिक टन २० हजार बोरा युरिया वितरण गरिने छ । सबै मल आएपछि मधेस प्रदेशका लागि ३२ दशमलव ०२ प्रतिशत अर्थात् ०६४५ दशमलव चार मेट्रिक टन प्राप्त गर्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख चन्द्र चौलागाँइले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, साउन २६, २०७९