बिहिबार, चैत्र १५, २०८०

रासायनिक मलको अभावले धानमा गभारोको प्रकोप

काठमाडौँ । म्याग्दीमा धान बालीमा गभारो रोगको प्रकोप देखिएको छ । धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । रासायनिक मलको अभाव भएपछि बिना मल नै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभा हाल्न नपाउँदै गभारो लाग्न थालेपछि उत्पादन घट्ने चिन्ताले पिरोलिएका हुन् ।

रघुगङ्गा, मङ्गला, मालिका र बेनी नगरपालिकाका लेकाली क्षेत्रमा लगाएको बर्खे धान बालीमा गभारो देखिन थालेको छ । रघुगङ्गा गाउँपालिकाका किसानले लगाएको धान बालीमा गभारोको प्रकोप देखिन थालेको गाउँपालिकाले जानकारी दिइएको छ ।

सिँचाइ पर्याप्त हुने ठाउँमा कम र सुक्खा स्थानमा गभारोको प्रकोप बढी रहेको गाउँपालिका कृषि शाखाको भनाइ छ । रोपाइँ गर्ने समयमा पानी नपरेपछि मुस्किलले धान रोपाइँ भएका ठाउँमा गभारोको प्रकोप देखिएको कृषि प्राविधिक सविना पौडेलले जानकारी दिए ।

पश्चिमी म्याग्दीको मङ्गला गाउँपालिकामा पनि गभारोले सखाप पार्न थालेपछि स्थानीय धानको बिरुवा नै उखेलेर गाउँपालिकामा ल्याएर फालिदिएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । बानियाँका अनुसार मङ्गलाको सिमलचौर, रणवाङ, बाबियाचौर, छिस्वाङ, सेराफाँट, पोकलगायत धान धेरै उत्पादन फाँटमा गभारोले धानबाली सखाप पारेको छ । गाँउपालिकाका जनप्रतिनिधि र कृषि प्राविधिकले स्थलगत अनुगमन गरी विषादी वितरण गरिएको र गभारो नियन्त्रणका लागि स्थानीय कृषकलाई आवश्यक जानकारी दिइएको बानियाँले बताए ।

प्रकाशित मिति: बिहिबार, साउन २६, २०७९