बिहिबार, चैत्र १५, २०८०

विद्यार्थीहरु कृषि पढ्दै, व्यवसाय गर्दै

काठमाडौँ । तुलसीपुर– १२ स्थित मेट्रो कलेजका विद्यार्थीहरु पढ्दै, सिक्दै व्यवसाय गर्दै आएका छन् । कृषि र वन विज्ञानका विद्यार्थीहरु सिजनअनुसार व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । “हामी किताबी ज्ञानमा मात्रै नभएर व्यवहारिक शिक्षामा पनि जोड दिने गरेका छौँ”, कृषि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सन्दीप मल्लले भने, “त्यसैले हामीले विगतदेखि नै पढाइसँगसँगै व्यावसायिक रुपमा विभिन्न खेतीमा पनि जोडिने गरेका छौँ ।” कृषि विषय बढी प्रयोगात्मक जोडिने भन्दै यसलाई ध्यानमा राखेर अध्ययनलाई अघि बढाएको उनको भनाइ छ ।

पढ्ने मात्रै नभएर पढ्ने–कमाउने गर्दा आफूहरुलाई झनै सहज हुन थालेको विद्यार्थी प्रतीक्षा डाँगीले बताए । “पढाइ पनि हुने, ज्ञान पनि आर्जन हुने र कमाई पनि हुने भएपछि हामी खुसी छौँ”, उनले भने । सैद्धान्तिक मात्रै नभएर व्यावहारिक शिक्षा नै अहिलेको अपरिहार्यता भएको भन्दै त्यसै अनुरुप शिक्षण गराउने गरेको कृषि विषयका शिक्षक घनश्यम केसीले बताए । उनका अनुसार आफूहरुले बाटो देखाउने र विद्यार्थीहरुलाई त्यही आधारमा व्यावसायिक खेती गर्ने गरेका छन् ।

यसअघि टमाटर खेती गरेको विद्यार्थीहरुले अहिले व्यावसायिक रुपमा पुष्प खेती सुरु गरेका छन् । कलेजको करिब तीन कट्ठा जग्गामा गौरव ५ सय ५५ जातको सयपत्री खेती गरिएको छ । समय सान्दर्भिक पनि भएको र व्यावसायिक रुपमा पनि आम्दानी गर्न सकिने भएपछि अहिले सयपत्री खेती गरेको उनले बताए । “हामीले विद्यार्थीहरुलाई शिक्षण गर्ने क्रममा सहज र आवश्यकता सयपत्री खेती देख्यौँ”, उनले भने, “त्यसैलाई आधार बनाएर हामीले अहिले सयपत्री खेती गरेका हौँ ।” सयपत्रीसँगै केही मखमली फूलहरु पनि रोपिएका छन् । सयपत्रीलाई बजारीकरण पनि विद्यार्थीहरुले नै गर्नेछन् । फूल मात्रै बेच्ने वा माला बनाएर बेच्ने भन्ने कुरा ग्रहाकको मागअनुसार हुने समेत उनले बताए । अहिले २ हजार बिरुवा लगाइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त कलेजमा अहिले विभिन्न पाँच कार्यक्रम सञ्चालित छन् । कलेज प्रमुख वसन्त आचार्यका अनुसार डिप्लोमा तहको मेकानिकल इञ्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, फरेष्ट्री र प्लान्ट साइन्सको पढाइ भइरहेको छ । त्यस्तै प्री डिपेमामा आइटी विषय पढाइ रहेको उनले बताए । अहिले जिल्ला बाहिरबाट पनि विद्यार्थी आउने गरेका छन् ।

हरेक ३ वर्षमा १ लाख ५० हजार शुल्क रहे पनि तुलसीपुरभन्दा बाहिरका लागि १ लाख २५ हजार लिने गरिएको छ । त्यस्तै तुलसीपुर भित्रका लागि १ लाख, उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट एसइई गरेका छात्रालाई निःशुल्कसमेत पढाउने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: आइतवार, साउन २२, २०७९