बिहिबार, बैशाख ६, २०८१

भोजपुरका किसान भेडापालनमा आकर्षित

काठमाडौँ । भोजपुरका किसानको व्यावसायिक भेडापालनमा आकर्षण बढेको छ । भेडापालनबाट राम्रो आम्दानी हुने भएकाले किसानहरु आकर्षित बनेका हुन् । प्रशस्त चरण क्षेत्र भएको कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवालगायत क्षेत्रलाई भेडापालनको लागि उपयुक्त स्थान मानिन्छ ।

भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिन गरेका छन् । त्यस्तै उनीहरुले ऊनबाट बन्ने राडी, लुकुनीलगायत पनि बिक्री गर्दै आएका छन् ।

सयसम्म भेडा भएमा वार्षिक रु चार लाखसम्म आम्दानी हुने १२ वर्षदेखि भेडापालन गर्दै आउनुभएका टेम्केमैयुङ गाउँपालिका–२ बोबोकका कृषक गोविन्द कठेतले जानकारी दिए । यहाँ एक जना कृषकसँग एक सउ ५० वटासम्म भेडा रहेको उनले जानकारी दिए । धेरै भेडा हुनेले वर्षमा रु ८ देखि ९ लाखसम्म आम्दानी लिने उनको भनाइ छ ।

कृषक कठेतले भने, “दुःख धेरै छ तर भेडा राम्ररी फस्टाए भने आम्दानी पनि राम्रो छ । एक सय ५० देखि दुई सयसम्म भेडा भएमा वर्षमा आठदेखि ९ लाखसम्म आम्दानी लिन सकिन्छ ।” पछिल्लो समय युवापुस्तासमेत भेडापालनमा आकर्षित भएको उनको भनाइ छ । विदेश गएर आएकाले पनि व्यावसायिक रुपमा भेडापालन गरिरहेको कृषक कठेतले जानकारी दिए । “युवा पुस्तामा भेडापालन प्रतिआकर्षण छ”, उनले भने, “गाउँका कतिपय युवा विदेशमा कमाइ गर्न नसकेर आएर भेडापालन गरेर राम्रो आम्दानी लिँदै आएका छन् ।”

मैयुङ क्षेत्रमा २८ बढी कृषकले व्यावसायिक रुपमा भेडापालन गरिरहेको किसान कठेतको भनाइ छ । करिब नौ जना खोटाङका र अन्य भोजपुर जिल्लाका रहेको उनले जानकारी दिए । भेडापालन व्यवसायमा दुःख तथा समस्या भने धेरै रहेको उनले बताए । भेडापालनको मुख्य समस्या चरण क्षेत्र अभाव रहेको उनको भनाइ छ । त्यस्तै बाघ, भालु तथा कुकुरले पनि भेडा मारीदिने समस्या छ । भेडामा देखिने धक्ने, छेर्ने, ढाडिने, माटो खानेलगायतका रोगले धेरै दुःख दिँदै आएको छ ।

“भेडापालनमा धेरै समस्या छ । पहिलो समस्या चरण क्षेत्रको हो । सामुदायिक वनले महँगो शुल्क लिन्छन्”, उनले भने, “एउटा वन क्षेत्रमा चराएबापत एक भेडीगोठको रु एक हजारदेखि रु पाँच हजारसम्म तिनुपर्छ । त्यस्तै विभिन्न समयमा देखिने रोग तथा वन्यजन्तुको आक्रमण पनि धेरै क्षति पुग्ने गरेको छ ।”

भेडालाई तातो मौसमको बर्सात समयमा माथिल्लो भेग र चिसो मौसमअर्थात् हिउँद समयमा तल्लो भेगमा झार्ने चलन छ । तल्लो भेगमा झारेपछि हावापानीका कारण भेडा बिरामी हुने, मर्ने समस्या रहेको भेडापालक कृषक भक्तकुमार राईले जानकारी दिए । धेरै दुःखको काम भएकाले यस्तो पेसामा लाग्ने कृषकलाई राज्यले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने राईको भनाइ छ ।

गोठवाला कृषकको हकअधिकार तथा आवश्यक सहयोग जुटाउनको लागि समितिसमेत गठन गरिएको छ । यो समितिले गोठलावा कृषकको समस्याको विषयमा ध्यानाकर्षण गराउन विभिन्न खाले गतिविधि गरिरहेको खर्क गोठ संरक्षण समितिका अध्यक्ष पावीहाङ राईले जानकारी दिए ।

समितिले गोठवालाको समग्र पक्षमा काम गरिरहेको भए पनि चौरीपालक, भेडापालक, भैँसीपालनलगायत अन्य समिति पनि गठन गरेर किसानका समस्याको बारेमा आवाज उठाइरहेको अध्यक्ष राईले जानकारी दिए । “हामी यो पेसालाई कसरी जीवन्त राखेर भावी पुस्तासम्म पु¥याउन सकिन्छ भन्ने लक्ष्यले एकताबद्ध भएका छौँ”, उनले भने, “गोठ सुधारका लागि काम गरिरहेका छौँ । यहाँको भेडापालन र चौरीपालन कृषकलाई लक्षित गरेर प्रदेश सरकारबाट आएको करिब रु १७ लाख गोठ सुधारको काम गरेका छौँ ।”

समितिको पहलमा प्रदेश सरकारबाट नियमित पाँचवर्षे गोठ सुधारको कार्यक्रम परेको भए पनि पहिलो वर्ष कोरोना कारण त्यो कार्यक्रम सञ्चालनमा समस्या भएको उनले जानकारी दिए । यसको कारण पहिलो वर्षको बजेट फिर्ता गएको उनको भनाइ छ ।

उत्पादनको बजारमा धेरै माग रहेको किसानको भनाइ छ । औषधिको रुपमा प्रयोग हुने तथा खानमा स्वादिष्ट हुने भएकाले भेडाको घ्यूको माग धेरै रहेको कृषक कठेतले बताए । भेडाको घ्यूलाई डढेको घाउ खतलाई हटाउनका लागि राम्रो मानिने उनको भनाइ छ । भेडाको घ्यू प्रतिकिलो रु चार हजारदेखि पाँच हजारसम्ममा बिक्री हुने बताइएको छ । त्यस्तै ऊनप्रति केजी रु सात सय र मासु प्रतिधार्नी एक हजार पाँच सयदेखि दुई हजारसम्म पर्ने उनले बताए ।

उनले भन्नुभयो, “खास गरेर भेडाको घ्यूको माग धेरै छ । मागअनुसारको घ्यू पु¥याउन समस्या छ । भेडाको घ्यू औषधि पनि हुन्छ । यसलाई खास गरेर डढेको घ्यूको खाका हटाउन प्रयोगमा आउछ । धैरै पौष्टिक हुने भएकाले अन्य विभिन्न रोगको लागि उपयोगी मानिन्छ । भेडाको बल्याक्ख्रा (बोका) को पनि माग धेरै छ । यसको मासुलाई निकै स्वादिष्ट मानिन्छ ।” यहाँ उत्पादित घ्यू, राडी, लुकुनीलगायत बस्तु स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौँलगायत ठाउँमा जाने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९