मङ्लबार, बैशाख ४, २०८१

बागमती प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । लगातार परेको वर्षाका कारण बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत धान रोपाइँ सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेर्टौडाले जानकारी गराएको छ ।

भौगौलिक विकटता र सिँचाइको अभाव रहेको बागमती प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भरमा खेती गर्नु परेकाले धान खेतीमा समस्या रहेको बताइएको छ । साथै मलको पनि समस्या रहेकाले किसान समस्यामा रहेको गुनासो पाइएको छ ।

बागमती प्रदेशको १३ जिल्लामा कूल १ लाख २० हजार ५ सय ६९ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । तर अहिलेसम्म बागमती प्रदेशमा करिब एक लाख छ हजार हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको सो कार्यालयबाट बुझिएको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार मकवानपुर जिल्लामा ११ हजार हेक्टर जमिनमध्ये ८ हजार ९०० हेक्टर जमिनमा, चितवन जिल्लामा धानखेती हुने २२ हजार ९ सय ७७ हेक्टर जमिनमध्ये २० हजार ७ सय हेक्टर जमिनमा धानखेती, नुवाकोटमा १४ हजार २ सय ८३ हेक्टर जमिनमध्ये १२ हजार २ सय हेक्टर जमिनमा धान रोपाइँ कार्य सकिएको बताइएको छ ।

काभे्रपलाञ्चोकमा नौ हजार हेक्टर जमिनमध्ये ८ हजार ३ सय हेक्टरमा, सिन्धुपाल्चोकमा ८ हजार ५ सय खेती जमिनमध्ये आठ हजार २ सय हेक्टरमा, रामेछापमा ८ हजार ८ सय ९३ हेक्टर जमिनमध्ये पाँच हजार तीन सय हेक्टर जमिनमा, दोलखामा २ हजार ९ सय २८ हेक्टर जमिनमध्ये दुई हजार चार सय ५० हेक्टर जमिनमा, सिन्धुलीमा १५ हजार चार सय २३ हेक्टर जमिनमध्ये १३ हजार चार सय १८ हेक्टर जमिनमा तथा धादिङमा ११ हजार एक सय ५९ हेक्टर जमिनमध्ये नौ हजार पाँच सय हेक्टर जमिनमा धान रोपाइँ सकिएको सो कार्यालयले जानकारी दिइएको छ ।

ललितपुरको चार हजार एक सय ७५ हेक्टर, भक्तपुरको तीन हजार नौ सय २५ हेक्टर तथा काठमाडौँको ५ हजार ९ सय २५ हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको कार्यालयकाबाट जानकारी दिइएको छ । उक्त तीन जिल्लामा शतप्रतिशत रोपाइँ भइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९